फ्रान्समा विद्यार्थी आन्दोलन देशव्यापी, २ लाख ६६ हजार सडकमा

Published on

काठमाडौँ – शिक्षा क्षेत्रमा बजेट वृद्धि, विद्यालयमा पर्याप्त स्रोतसाधन र कर्मचारी व्यवस्थालगायत माग राख्दै फ्रान्सका माध्यमिक तहका विद्यार्थीले थालेको आन्दोलन मंगलबार देशव्यापी बनेको छ। पेरिस क्षेत्रको एक उच्च माध्यमिक विद्यालयबाट सेप्टेम्बरको मध्यतिर सुरु भएको विद्यार्थी आन्दोलन दुई साताभन्दा बढी समयदेखि जारी छ। मंगलबारसम्म आइपुग्दा आन्दोलन देशका विभिन्न सहरमा फैलिएको अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ। फ्रान्सको गृह मन्त्रालयका अनुसार मंगलबार देशभर करिब २ लाख ६६ हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। राजधानी पेरिसमा मात्रै ५६ हजार सहभागी रहेको मन्त्रालयको तथ्यांक छ।

प्रदर्शन मुख्यतः शान्तिपूर्ण रहे पनि पेरिसको एक चोकमा प्रदर्शनको अन्त्यतिर केही प्रदर्शनकारी र दंगा नियन्त्रण प्रहरीबीच झडप भएको थियो। गृह मन्त्रालयका अनुसार प्रहरीले करिब ५०० जनालाई नियन्त्रणमा लिएको छ। आन्दोलन सुरु भएयता ६ हजार ५०० भन्दा बढीलाई पक्राउ गरिएको र पक्राउ पर्नेमा अधिकांश नाबालिग रहेको एपीले जनाएको छ।

प्रहरीले प्रदर्शन नियन्त्रणका क्रममा गरेको धरपकड, अश्रुग्यास तथा अन्य दंगा नियन्त्रणका साधनको प्रयोगप्रति विद्यार्थी, अभिभावक र शिक्षकहरूले असन्तुष्टि जनाएका छन्। प्रहरी कारबाहीका क्रममा गम्भीर चोटपटकका घटना पनि भएका छन्। सोमबार १५ वर्षीय एक किशोरले प्रहरीको स्टन ग्रिनेडसँग सम्बन्धित घटनामा हात गुमाएका थिए। गृह मन्त्री लोरेन नुनेजका अनुसार प्रदर्शनका क्रममा ७१५ प्रहरीसमेत घाइते भएका छन्।

विद्यार्थीहरूले विद्यालयमा पर्याप्त स्रोतसाधनको अभाव, कर्मचारीको कमी, अत्यधिक कार्यभार र जीर्ण भौतिक संरचनालाई मुख्य समस्याका रूपमा उठाएका छन्। कतिपय विद्यालयमा डेस्क र कुर्सीजस्ता आधारभूत सामग्रीसमेत पर्याप्त नभएको, गर्मीयाममा कक्षाकोठा अत्यधिक तात्ने र केही विद्यालयमा मुसाको समस्या रहेको उनीहरूको गुनासो छ। उच्च माध्यमिक तहका विद्यार्थीहरूले युरोपका अन्य देशको तुलनामा अनिवार्य कक्षामा लामो समय बिताउनुपर्ने विषय पनि उठाएका छन्।

कमजोर आर्थिक अवस्था भएका क्षेत्रका विद्यालयमा स्रोत र अवसरको असमानता रहेको भन्दै विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। मंगलबार पेरिसको २०औँ जिल्लास्थित हेलेन बुशे उच्च माध्यमिक विद्यालय पनि बन्द थियो। प्रदर्शनकारीहरूले विद्यालयको अगाडि फोहोरका डब्बा र साइकल तेर्स्याएर अस्थायी अवरोध बनाएका थिए।

प्रदर्शनका कारण मंगलबार देशभर ८९१ विद्यालयमा कक्षा पूर्ण वा आंशिक रूपमा स्थगित गरिएको फ्रान्सको शिक्षा मन्त्रालयले जनाएको छ। विद्यार्थीका माग सम्बोधन नगरेको आरोप खेपिरहेको मन्त्रालयले उनीहरूलाई आफ्ना समस्या र आफूले चाहेका परिवर्तनबारे परिचय नखुलाई जानकारी दिन सक्ने अनलाइन पोर्टलसमेत सञ्चालनमा ल्याएको छ।

विद्यार्थी संगठन महासंघकी अध्यक्ष सुजेन नाइडामले माग सम्बोधन नभएसम्म प्रदर्शन जारी रहने बताएकी छन्। उनका अनुसार सरकारले तत्काल काम थाल्नुपर्ने र विद्यार्थीका मागलाई राजनीतिक प्राथमिकताको विषयका रूपमा लिनुपर्ने आवश्यकता छ।

विद्यार्थी आन्दोलनले राष्ट्रपति इमानुएल म्याक्रोंको शासनकालमा देखिएका विभिन्न आन्दोलनको शृंखलामा अर्को ठूलो चुनौती थपेको छ। फ्रान्समा इन्धनको मूल्य वृद्धि, सार्वजनिक खर्चमा कटौती, बढ्दो गरिबी र आर्थिक असमानतालगायत विषयमा पनि असन्तुष्टि रहँदै आएको छ।

यसैबीच, छिमेकी बेल्जियममा पनि विद्यार्थी प्रदर्शन भएका छन्। पूर्वी सहर लिजमा मंगलबार ३० जनाभन्दा बढी पक्राउ परेका र केही प्रहरी घाइते भएका छन्। ब्रसेल्ससहित अन्य सहरमा पनि साना प्रदर्शन भएका छन्।

उत्तरी सहर लिलमा प्रदर्शनमा सहभागी लेआ मोनिमार्टले विद्यार्थीका मागलाई गम्भीरतापूर्वक सुन्नुपर्ने बताइन्। विद्यार्थीलाई उनीहरूको उमेरका कारण समस्या बुझ्न नसक्ने ठान्न नहुने र उनीहरूको समर्थनमा वयस्कहरू पनि रहेको देखाउनु महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

गृह मन्त्री नुनेजले भने प्रहरीको प्रतिक्रिया अधिकांश अवस्थामा उचित रहेको दाबी गरेका छन्। केही प्रदर्शन दंगामा परिणत भएकाले प्रहरीले हस्तक्षेप गर्नुपरेको उनको भनाइ छ। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले विद्यार्थीका गुनासा सुनेर समाधान खोज्न सरकार र विद्यालय प्रशासनले पहल गर्नुपर्ने बताएका छन्।

संसद्मा मंगलबार बोल्दै लेकोर्नुले विद्यालयलाई लक्षित ‘अत्यधिक हिंसा’ अस्वीकार्य रहेको बताए। प्रहरी कारबाहीका क्रममा कुनै दुर्घटना भएको भए त्यसको छानबिन गरिने उनले बताएका छन्।

spot_img

ताजा समाचार

कांग्रेस महाधिवेशन: सभापतिमा तीनसहित विभिन्न पदमा उम्मेदवारी, प्रारम्भिक सूची सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न...

भारतमा निर्वाचन आयोगविरुद्ध विपक्षीको प्रदर्शन, एसआइआरलाई लिएर विवाद चर्कियो

काठमाडौँ - भारतमा निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई लिएर राजनीतिक विवाद...

अरविन्द कुमार चौधरीलाई ‘गाँधी पीस इन्टरनेसनल मोटिभेसनल अवार्ड २०२६’ प्रदान

काठमाडौँ । सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका अरविन्द कुमार चौधरी ‘गाँधी पीस इन्टरनेसनल मोटिभेसनल...

दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले असोज २३ गतेदेखि सार्वजनिक...