काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीपछि लेकमा रहेका पाँच जना गोठाला सम्पर्कविहीन भएका छन् भने ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणस्थलसमेत बगाएको छ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार आइतबार बिहान करिब ४ः२५ बजे चुम्चेतस्थित उग्युलुङ खोला र स्यार खोला क्षेत्रबाट आएको बाढी तथा पहिरोका कारण बूढीगण्डकी नदी केहीबेर थुनिएको थियो। नदीमा थुप्रिएको पानी एक्कासि खुलेपछि ठूलो बाढी आएको उनले बताए।
‘चुम्चेतको उग्युलुङ खोलाबाट आएको बाढीले बूढीगण्डकी केहीबेर थुनिएछ। बाढी फुट्दा धेरै क्षति भयो,’ अध्यक्ष लामाले भने, ‘लेकमा पाँच जना गोठाला सम्पर्कविहीन छन्। धेरै घर र हाइड्रो बगाएको छ।’
बाढीले चुमनुब्री गाउँपालिकाको सल्लेरी, घट्टेखोलालगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। त्यस्तै, तल्लो तटीय क्षेत्रका सल्लेरी, जगत र सिर्दिबासलगायतका बस्तीसमेत प्रभावित भएका छन्।
अध्यक्ष लामाका अनुसार बाढी आएको सूचना पाएपछि स्थानीय बासिन्दा भागेर सुरक्षित स्थानतर्फ लागेका थिए। समयमै सुरक्षित स्थानमा जान सकेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको उनले बताए। यद्यपि, बाढीमा परेर सम्पर्कविहीन भएका पाँच गोठालाको अवस्था भने अझै अज्ञात छ।
बाढीले साहस ऊर्जा लिमिटेडले निर्माण गरिरहेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणस्थलमा समेत ठूलो क्षति पुर्याएको छ। आयोजनाको निर्माण क्याम्पसहित अन्य संरचना बगाएको बताइएको छ।
आयोजना निर्माण गरिरहेको सोवित निर्माण सेवाका सञ्चालक सोवित श्रेष्ठका अनुसार आयोजनास्थलको निर्माण कार्य करिब ९६ प्रतिशत सम्पन्न भइसकेको थियो। यही असोज महिनाभित्र आयोजना हस्तान्तरण गर्ने तयारी भइरहेको अवस्थामा बाढीले निर्माणस्थलका संरचना बगाएको उनले बताए।
‘बूढीगण्डकी हाइड्रोको हाम्रो पूरै साइट बगाएको छ। कर्मचारीलाई बिहान ४ बजे नै माथितिर भाग्न लगाएका थियौँ, त्यसैले मानवीय क्षति भएन,’ श्रेष्ठले भने, ‘यही महिना हस्तान्तरण गर्ने तयारी थियो। बाढीले पूरै संरचना बगायो।’
बूढीगण्डकी नदीमा आएको बाढीले यसअघि आरुघाट गाउँपालिकास्थित सोती बजार र मान्बू जोड्ने पक्की पुलसमेत बगाएको थियो। चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न स्थानमा घर तथा झोलुङ्गे पुलमा समेत क्षति पुगेको विवरण सार्वजनिक भएको छ।
बाढी र पहिरोका कारण भएको भौतिक क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी छ। सम्पर्कविहीन पाँच गोठालाको खोजी तथा उनीहरूको अवस्थाबारे थप जानकारी प्राप्त हुन सकेको छैन।

