खतरनाक बन्यो चक्रवात ‘अर्नब’, नेपालमा पनि उच्च सतर्कता

Published on

काठमाडौं – बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ शक्तिशाली बन्दै गएपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ। चक्रवातको अप्रत्यक्ष प्रभावका कारण बिहीबार रातिदेखि शनिबारसम्म देशका विभिन्न भागमा वर्षा, हिमपात, हावाहुरी र मेघगर्जनको सम्भावना रहेकाले सरकारले सम्बन्धित निकाय तथा सुरक्षा अंगलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै बिहीबारदेखि शनिबारसम्म उच्च सतर्कता अपनाउन भनिएको छ। विशेषगरी पहिलेदेखि नै जोखिम पहिचान भएका क्षेत्रहरूमा आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

भारतको मौसम विभागका अनुसार चक्रवात ‘अर्नब’ आन्ध्र प्रदेशको तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ। चक्रवातका कारण हावाको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटरसम्म पुग्न सक्ने र झोक्कासहित १४० किलोमिटरसम्म पुग्ने अनुमान गरिएको छ। यसको प्रत्यक्ष प्रभाव भारतका तटीय क्षेत्रमा पर्ने भए पनि चक्रवातसँग सम्बन्धित बादल र वायुमण्डलीय प्रणालीका कारण नेपालमा समेत मौसम प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ।

नेपालमा बिहीबारदेखि कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। शुक्रबार र शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत बढ्न सक्ने चेतावनी दिइएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले कात्तिक १२, १३ र १४ गते तीन दिन पदयात्रामा नजान आग्रह गरेको छ। यसअघि नै पदयात्रा तथा पर्वतारोहणमा गएकाहरूलाई मौसम प्रतिकूल रहने अवधिमा सुरक्षित स्थानमा बस्न र सम्बन्धित निकायको निर्देशन पालना गर्न भनिएको छ। प्रतिकूल मौसमले सडक तथा हवाई यातायात, पदमार्ग र दैनिक जनजीवनमा असर पार्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि आग्रह गरिएको छ।

भारतका आन्ध्र प्रदेशलगायत प्रभावित क्षेत्रमा समेत उच्च सतर्कता अपनाइएको छ। चक्रवातका कारण भारी वर्षा र तीव्र हावा चल्न सक्ने भन्दै रेल सेवा रद्द गरिएको छ भने केही हवाई उडान प्रभावित हुन सक्ने चेतावनी दिइएको छ। प्रभावित क्षेत्रमा विद्यालय बन्द गर्ने तथा जोखिममा रहेका नागरिकको सुरक्षाका लागि आवश्यक तयारी गरिएको जनाइएको छ।

विपद् प्राधिकरणले नदीकिनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा नबस्न, मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न र सम्बन्धित निकायका निर्देशन पालना गर्न आग्रह गरेको छ। मौसमसम्बन्धी जानकारीका लागि ११५५, राष्ट्रिय तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका लागि १२३४, नेपाल प्रहरीका लागि १००, सशस्त्र प्रहरी बलका लागि १११४ र पर्यटक प्रहरीका लागि ११४४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।

spot_img

ताजा समाचार

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, साँझ ५ बजे खेल सुरु हुने

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच...

निर्वाचनमा पराजित भएपछि फ्लाभियो बोल्सोनारो परिवारसहित अमेरिका भागे

काठमाडौं - ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजय व्यहोरेपछि सिनेटर फ्लाभियो बोल्सोनारो पत्नी र दुई छोरीसहित...

एनपीएलमा कर्णाली याक्सको पहिलो जित, जनकपुर १९ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विजयी सुरुआत गरेको...

एनपीएलमा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विजयी सुरुआत गरेको...