एनपीएलमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

Published on

काठमाडौं –नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो।

पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए। उनले ३६ बलमा अर्धशतक पूरा गरेका थिए। इशान पाण्डेले ३७ र ब्रान्डन म्याकमुलेनले २२ रनको योगदान दिए। पोखराका धनञ्जय लक्षण, मेहदी हसन र साकिब अल हसनले एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ रन बनाएको थियो। पोखराका अर्जुन घर्तीले २५ बलमा अविजित ४० रन बनाए। मेहदी हसनले ३२, कप्तान कुशल भुर्तेलले २१, साकिब अल हसनले १४ र धनञ्जय लक्षणले ११ रन जोडे।

सुदूरपश्चिमका अनिल खरेलले तीन ओभरमा तीन विकेट लिए। हेमन्त धामी, स्कट कुगेलेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए। यसअघि उद्घाटन खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो।

प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछन्। पहिलो खेलमा दिउँसो साढे १२ बजे जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज भिड्नेछन्। दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किङ्ग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

एनपीएलको तेस्रो संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्स गरी आठ टोली सहभागी छन्। प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

spot_img

ताजा समाचार

प्रधानन्यायाधीश र न्यायाधीशको नाम जोडिएका सन्देश सार्वजनिक भएपछि न्यायिक वृत्तमा तरंग

काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम जोडिएको सन्देश तथा न्यायाधीश हरि फुयाल र...

‘अर्नब’ चक्रवातको प्रभाव: देशभर वर्षा र हिमपात, सतर्क रहन आग्रह

काठमाडौँ – बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले देशका विभिन्न स्थानमा वर्षा र हिमपात...

सोमपालको विस्फोटक ब्याटिङमा कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं - कप्तान सोमपाल कामीको विस्फोटक अर्धशतकसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो...

कोप-३१ मा नेपालको मुख्य अडान: हिमाली जोखिम र जलवायु वित्त

काठमाडौं – नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिको ३१औँ सम्मेलन (कोप–३१) का लागि आफ्नो राष्ट्रिय...