सोमपालको विस्फोटक ब्याटिङमा कर्णाली याक्सको रोमाञ्चक जित

Published on

काठमाडौं – कप्तान सोमपाल कामीको विस्फोटक अर्धशतकसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्समाथि रोमाञ्चक जित निकालेको छ । विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले अन्तिम ओभरको पाँचौँ बलमा सात विकेट गुमाएर पूरा गर्‍यो ।

कर्णालीको जितमा कप्तान सोमपालले अविजित ६२ रन बनाए । उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे । गुल्सन झा २१ बलमा २८ रन बनाएर अविजित रहे । यी दुईले सातौँ विकेटका लागि ६४ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए ।

अन्तिम ओभरमा कर्णालीलाई जितका लागि आठ रन आवश्यक थियो । पहिलो बलमा सोमपालले एक रन लिए भने गुल्सनले दोस्रो बलमा दुई र तेस्रो बलमा एक रन जोडे । चौथो र पाँचौँ बलमा दुई–दुई रन लिँदै सोमपालले टोलीलाई रोमाञ्चक जित दिलाए । चौथो बलमा गुल्सनको क्याच विराटनगरका लोकेश बमले छाडेका थिए ।

कर्णालीले सुरुवाती पाँच विकेट सस्तैमा गुमाएपछि दबाबमा परेको थियो । मार्क वाट एक, अक्बर अली एक र हुसेन तलत शून्य रनमा आउट भए । दीपक डुम्रेले २० तथा अरिफुल इस्लामले ३२ रन बनाए । त्यसपछि पवन सर्राफ र सोमपालले छैटौँ विकेटका लागि ६६ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काए । पवनले २८ बलमा ३६ रन बनाए ।

बलिङतर्फ विराटनगरका एन्जेलो म्याथ्युजले तीन विकेट लिए । चरिथ असलंका, प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेले एक–एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रन बनाएको थियो । विराटनगरका ओपनर लोकेश बमले सर्वाधिक ८७ रन बनाए । उनले ५२ बलमा तीन चौका र नौ छक्का प्रहार गरे । एनपीएलमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्ने अवसरबाट उनी १३ रनले चुके । १६औँ ओभरको पाँचौँ बलमा सोमपाल कामीले उनलाई आउट गरेका थिए ।

एन्जेलो म्याथ्युजले २२ बलमा ३१ रन बनाए । आन्द्रे रसेलले १५ बलमा २७ रन जोडे भने बसिर अहमदले १३ रन बनाए । ओपनर इम्रान शेख पाँच, चरिथ असलंका तीन र शेहान जयसूर्या ११ रनमा आउट भए । सुजन थपलिया अविजित रहे । बलिङमा कर्णालीका कप्तान सोमपालले चार ओभरमा ३३ रन खर्चेर सर्वाधिक चार विकेट लिए । उनले लोकेश बम, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकालाई आउट गरे । मार्क वाट र नन्दन यादवले एक-एक विकेट लिए । एनपीएलमा शुक्रबार कुनै खेल राखिएको छैन ।

spot_img

ताजा समाचार

प्रधानन्यायाधीश र न्यायाधीशको नाम जोडिएका सन्देश सार्वजनिक भएपछि न्यायिक वृत्तमा तरंग

काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम जोडिएको सन्देश तथा न्यायाधीश हरि फुयाल र...

‘अर्नब’ चक्रवातको प्रभाव: देशभर वर्षा र हिमपात, सतर्क रहन आग्रह

काठमाडौँ – बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले देशका विभिन्न स्थानमा वर्षा र हिमपात...

कोप-३१ मा नेपालको मुख्य अडान: हिमाली जोखिम र जलवायु वित्त

काठमाडौं – नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिको ३१औँ सम्मेलन (कोप–३१) का लागि आफ्नो राष्ट्रिय...

नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट १५ कात्तिकदेखि शुल्क उठाइने

काठमाडौं - नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी १५ कात्तिकदेखि सडक उपभोग दस्तुर उठाइने भएको...