कञ्चनपुरको परिचय बदल्ने मार्गचित्र बोकेर चुनावी मैदानमा रमेश लेखक

Published on

हेमन्ती भट्ट, काठमाडौं – रमेश लेखकले नेपाली राजनीतिमा अलग, अग्लो र उज्यालो पहिचान बनाएका छन् । बौद्धिक, विनम्र र विवादमुक्त नेता रमेशले कञ्चनपुरको विकासमा पनि नयाँ पदचाप सिर्जना गरेका छन् । विगतमा आफूले गरेका कामको फेहरिस्त र गर्ने कामको मार्गचित्र बोकर उनी अहिले चुनावी मैदानमा छन् । २०५६ सालमा सांसद विजयी हुदा महाकाली पारीको दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बनाउने काम गरे । यति चौडा महाकाली नदिमा पनि झोलुङ्गे पुल बनाउने भनेर खिसिट्युरी गर्ने विपक्षी राजनीति गर्नेहरु पनि अहिले रमेशले बनाएको त्यही झोलुङ्गे पुलको सुविधाले सहजतामा छन् । यसले दोधाराचादनी सहजै सदरमुकामशीत जोडियो । दोधाराचादनीका विद्यार्थीहरु दशकक्षा पास गरेपछि उच्च शिक्षाका लागि महेन्द्रनगर पुग्नैपर्ने बाध्यता थियो । स्नातक क्याम्पस खुलेपछि यहाँका विद्यार्थीले घरआगनमै उच्च शिक्षा अध्ययन गर्न पाएका छन् ।
धेरै युवाहरु त दशकक्षा पछि रोजगारीको लागि भारत प्रवास जाने गर्दथे । अहिले पढेलेखेका सयौं युवाहरु नेपालमै सरकारी र निजी क्षेत्रमा राम्रो रोजगार पाएका तमाम उदाहरण भेटिनु सुखद पक्ष मान्नुपर्दछ । श्रममन्त्री हुदा रमेशले कोरिया लगायतका देशसँग सम्झौता गरेपछि कञ्चनपुर लगायत देशभरका लाखौं युवाहरुले आफ्नो मात्रै आर्थिक समृद्धि गरेका छैनन् बरु सिङ्गो राष्ट्रलाई आर्थिक सबलीकरणका लागि ठूलो योगदान पु¥याइरहेकाछन ।
तत्कालीन विद्रोही माओवादीसँग वार्ता गर्न गठित सरकारी वार्ता टोलीका सदस्य रहेका रमेशको कुटनैतिक चातुर्यता, विनम्र र भद्र शैली एवं बौद्धिक ब्यक्तित्वका कारण वार्ताले सार्थकता पायो र माओवादी शान्तिपूर्ण प्रक्रियामा आएर गणतन्त्र स्थापना भयो । ६२÷६३ को जनआन्दोलन सफल भएपछि बनेको अन्तरिम संविधान र संविधानसभाले बनाएको नेपालको संविधान २०७२ निर्माणमा महत्त्वपूर्ण समितिको मुख्य अभिभारा रमेशकै काँधमा थियो । संविधान निर्माणसँगसँगै, मझगाउ विमानस्थलको पुनर्निर्माणको आवश्यकता देखेर रमेशले यो पहलकदमी लिएका थिए । कञ्चनपुरको धार्मिक तथा पर्यटकीय स्थल सिद्धबैजनाथ, भम्केनीधाम, शुक्लाफाँटा आरक्ष, झोलुङ्गेपुल लगायतका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र जिल्लाबासीलाई हवाई सेवाको सुविस्ता दिने उद्देश्यले पछिल्लो समय उक्त विमानस्थल पुनर्निर्माणको शिलान्यास गरिएको हो । मुख्यगरि जग्गा समस्यालगायत कारण विमानस्थल निर्माणले गति लिएन । २०७४ को निर्वाचनमा रमेश अत्यन्तै थोरै मतले मात्रै पराजित भए । रमेशको विमानस्थल सपना बेवारिसे भयो, सुख्खा बन्दरगाहको परिकल्पना अगाडि बढेन । त्यो बेला एमालेका नेता दीपकप्रकाश भट्ट प्रत्यक्ष, निरु पाल समानुपातिक गरि दुईजना सांसद एमालेकै थिए भने मझगाउ विमानस्थल रहेको नगरका प्रमुख सुरेन्द्र बिष्ट समेत एमालेबाटै विजयी भएका थिए । तर रमेशले २०७४ मै देखेको विमानस्थल पुनर्निर्माणको सपना दुई सांसदले पूरा गर्न सकेनन् । अहिले रमेश त्यही अपूरो सपना पूरा गर्ने मार्गचित्रसहित चुनावी मैदानमा छन् । मझगाउ विमानस्थल बनाइछाड्ने प्रतिज्ञामा छन् । आफ्नो प्रतिबद्धता र प्रतिज्ञालाई २०७४ मा जितेका दुई जना सांसदले महत्त्व नदिदा कम्ती पीडा भएन यहाँका जनतालाई । तर रमृशकै पहलमा पछिल्लो समय सो कार्यका लागि आवश्यक सेनाको नाममा रहेको जग्गा विमानस्थललाई दिने सरकारी सकारात्मकता अघि बढिरहेको छ । नेपाल–भारत–चीन जोड्ने त्रिदेशीय नाका निर्माणलाई मूर्तरुप दिनसके देशले नै ठूलो व्यापारिक, औद्योगिक र रोजगारीको ढोेका खोल्ने आधार तय गराउँछ । यसलाई सिङ्गो देशको आर्थिक समृद्धिको ठूलो जग मान्नसकिन्छ ।
मझगाउ विमानस्थल सिघ्र पुनर्निर्माण गरि सञ्चालनमा ल्याउनपनि अत्यन्तै जरुरी छ । महाकाली तटीय क्षेत्र, जोगबुडा नदीमा कुतियाकबरसम्म बलियो पक्की तटबन्ध निर्माण गर्नुपर्छ । शुक्लाफाटा आरक्ष, सिद्धनाथ, बैजनाथ, कलपठे, भमकेनीधाम, लगायतका पर्यटकीय एवं धार्मिक आस्थाका केन्द्रहरुलाई संरक्षण संवर्धन र प्रचारप्रसारमा ल्याई पर्यटनको गन्तव्यका रुपमा पनि विकास गर्नुपर्नेमा जोड दिनुपर्छ । कञ्चनपुरको पुरानो महाकाली प्रादेशिक अस्पतालको स्तरोन्नति गरि हरेक रोगको विशेषज्ञसेवासहितको उपचार सहज बनाउन विशेष पहल गर्नु जरुरी देखिन्छ । यस अस्पताललाई नमूना एवं नागरिकको विश्वासिलो उपचार केन्द्र सँगसँगै दोधाराचादनीको स्वास्थ्यचौकीमा पनि विशेषज्ञ सुविधा र सर्पदंश उपचार केन्द्र स्थापना गर्नुपर्ने दायित्वबोध रमेशमा देखिनु सकारात्मक रहेको यहाँका स्थानीय बताउँछन् ।
नेपाली काँग्रेसका विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै संसदीय दलको सचेतकको जिम्मेवारीमा पुगेका रमेश विद्यार्थीकालदेखि नै निरन्तर राजनीतिमा छन् । प्रचण्ड नेतृत्वको सरकारमा २०७३ सालमा रमेश आफै भौतिक पूर्वाधारमन्त्री हुदा बजेट विनियोजन गरि ठेक्का सम्झौता गरेर त्यसपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले महाकाली नदिमा चारलेनको पक्की पुल शिलान्यास गरे । सो पुलका लागि मात्रै ४ सय ५० करोडको बजेट विनियोजन गरियो। अहिले महाकालीको चारलेन पुलमा दोहोरो गाडी चल्छन् । महाकाली पसलमा दोहोरो गाडी चलेको देख्दा रमेशसहित यहाँका जनता पनि रोमाञ्चित बन्छन् । भन्छन्, ‘आफ्नो संकल्प पूरा हुँदाको आनन्द शब्दमा अभिव्यक्त गर्न सकिँदैन ।’ चारलेन पुल निर्माणपछि दोधाराचादनी नगरपालिका, भीमदत्त नगरपालिका हजारौं नागरिकको जिन्दगीमा आमूल परिर्वतन आएको छ । यतिमात्र होइन, त्यही चारलेनको पुल हुँदै दार्चुलाको तिङ्कर भञ्ज्याङसम्मको महाकाली करिडोरको परिकल्पना गरेका रमेशले दोधाराचादनीमा सुख्खा बन्दरगाह, महाकाली करिडोर निर्माण गरि कञ्चनपुरलाई नेपाल–भारत–चीनको त्रिदेशीय व्यापारिक नाका र देशकै ठूलो औद्योगिक एवं ब्यापारिक केन्द्रका रुपमा यसलाई विकास गर्ने लक्षमा प्रतिबद्ध रहेकाछन् ।
शृंखलाबद्ध विकास
कुनै समय ठूलो पानी पर्दा रातभर निदाउँदैनथे चादनी, ऐरी, भुजेलाबासी ।
महाकाली नदी उर्लिने चिन्ताले मनमा चिसो पस्थ्यो । त्यहाँका जनताले धेरै अनिँदो रात कटाए । तर, अहिले ढुक्कले निदाउँछन् । ति प्रभावित स्थानमा सयौं मिटर लामो पक्की तटबन्ध निर्माण भएपछि ढुक्कले निदाउन सक्ने भएका हुन् । चाँदनीका ज्येष्ठ नागरिक ८७ वर्षका हरिसिह भण्डारी भन्छन्, ‘कुनै समय ठूलो पानी पर्दा रातभर जागै बस्ने चाँदनीबासी अहिले ढुक्कले निदाउँछन् ।’ यो निद्रा ल्याइदिने काम उनै रमेशले गरेका हुन् । उनकै पहलकदमीमा सरकारी योजनाअन्तर्गत महाकालीनदीमा तटबन्ध निर्माणको काम थालिएको हो । चारलेन पुल छेउछाउमा पार्क, जलाशय निर्माण र सौन्दर्यकरणका थुप्रै योजना समावेश गरिएको रमेशको भनाइ छ । भन्छन्, ‘महाकाली आफैमा पवित्र गंगा हुन् । महत्त्वपूर्ण धार्मिक क्षेत्र पनि हो । त्योसँगै पछिल्लो निर्माणाधीन महाकाली करिडोरले व्यापारिक, औद्योगिक सँगसँगै हिन्दुहरुको प्रमुख आस्थाकेन्द्र कैलाशमानसरोवरसम्मको यात्रा समेत नेपाली बाटोबाटै सहज हुदा यो क्षेत्र धार्मिक रुपमा थप आकर्षित हुनेछ ।’
रमेशले ०७३ सालमा १० महिनामै मन्त्री हुदा कञ्चनपुर जिल्लाभरि अर्बौं बजेट पठाए । सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, खानेपानी, खेलकुदलगायतका दर्जनौं आयोजनाका लागि बजेट पठाए । यीमध्ये धेरैजसो सम्पन्न भएका छन् भने बाँकी पचासौं पक्की पुलहरु निर्माणको काम धमाधम चलिरहेको छ । विद्यार्थी आन्दोलनको जगमा स्थापित सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा स्थापनाका लागि रमेशले गरेको राष्ट्रिय राजनीतिक नेतृत्व सिङ्गो सुदूरपश्चिमका जनताले राम्रोसँग बुझेका छन् । यही तागतमा कञ्चनपुर क्षेत्र–३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेवार छन् रमेश । सुरु भएका पुराना कामलाई पूर्णता दिन र नयाँ थप योजना सुरु गर्न आफ्नो उम्मेदवारी भएको उनको भनाइ छ ।

निर्वाचनमा जाँदै गर्दा रमेशसँग केवल घोषणापत्र मात्रै हातमा छैन । गरेका कामको लामो सूची अर्थात् श्वेतपत्र पनि छ । उनको निर्वाचन क्षेत्रमा ब्रह्मदेव, मटेना, तिलकेनी, जिमुवा, तिलाचौर, हल्दुखाल लगायतका यस्ता धेरै काकाकुल क्षेत्र थिए । रमेश पहिलोपटक मन्त्री हुनुभन्दा अघिसम्म खानेपानी माग्दा जनताले आफ्नो दुःख बाँड्न भन्थे, ‘साउनमा आउनुहोला, आकासबाट पानी आएपछि खानुहोला ।’ तर, महेन्द्रनगरका ती उत्तरी चुरे फेदमा अवस्थित ठाउँहरुमा अहिले धीत मरुन्जेल पानी खान पाइन्छ । उनी भन्छन्, ‘हामीले ठूलाठूला खानेपानी योजना सञ्चालन गरेर जनताको घाँटी भिजाएका छौं ।’ बाकी ठाउँमा पनि परिपूर्ति गरिनेछ ।

त्यसो त, निर्वाचनमा जाँदै गर्दा गर्ने कामको लामो सूची पनि छ, रमेशसँग । दोधाराचादनी र भीमदत्त नगरपालिकाका ३० वटा वडादेखि पालिका केन्द्रसम्म जाने पिच सडक, महाकाली प्रादेशिक अस्पताल मा २४ सै घण्टा विशेषज्ञ सेवासहितको स्तरोन्नति । दोधाराचादनीमा सुख्खा बन्दरगाह, दोधारामा खेलकुद स्टेडियम र प्राविधिक शिक्षालय स्थापना, महाकाली करिडोरको पूर्णता, , प्रत्येक पालिकामा अस्पताललगायतका योजना उनीसँग छन् । भन्छन्, ‘पुराना कामलाई पूर्णता दिनेछौं, नयाँ परिवर्तनकारी योजना सुरु गर्नेछौं ।’
अलग र अग्लो पहिचान
राजनीतिमा नेताहरू थुप्रै छन् । तर, नेपालको समकालीन राजनीतिमा रमेश लेखकको बेग्लै पहिचान र परिचय छ । अलग, अग्लो र उज्यालो परिचय छ, उनको । बौद्धिक, विनम्र र विवादमुक्त नेता हुन् । राजनीतिसँगै लेखनमा पनि उत्तिकै क्रियाशील छन् । समयसमयमा समसामयिक विषयवस्तु र विकास तथा समृद्धिका विषयमा उनका लेखहरु राष्ट्रिय पत्रपत्रिकामा छापिएका हुन्छन् । पञ्चायतकालदेखि पत्रकारिता गरेका रमेश विद्वान बरिस्ठ अधिवक्ता पनि हुन् । विश्वभरका कानुनी ज्ञान र नेपालको संविधानका त मस्यौदाकार मध्येकै प्रमुख पात्र हुन् उनी ।
रमेश २०५६ देखि कञ्चनपुरमा चुनाव लडिरहेका छन् । उनी २०५६, २०६४ र २०७० मा सांसद भए । यसबीचमा उनी ३ पटक मन्त्री भए । सत्ता निकट भएर काम गरे । सत्ताको अवसरमा पटक–पटक पुगे पनि उनी विवादमुक्त रहे । प्रश्नको कठघरामा उभिनुपर्ने गरी उनले कुनै पनि काम गरेनन् । निष्कलंक छविलाई कायम राख्न सफल भए ।
यसपालि उनको चुनावी मैदानको भिडन्त केपी ओली को छोरी भनेर चिनिएकी एमाले नेतृ निरु पालसँग हुँदै छ । निरुपालसँगको यो पहिलो भिडन्त हो । २०५६ यताका सबै चुनावमा रमेश लेखकसँग एमालेले फरकफरक उम्मेदवार उठाउने गरेको छ । २०५६ को चुनावमा तत्कालीन कञ्चनपुर क्षेत्र–३ बाट रमेशले एमाले उम्मेदवार उर्वादत्त पन्तलाई पराजित गरेका थिए । २०६४ मा समानुपातिक सांसद रहेका लेखकले २०७० सालमा पनि पन्तलाई नै पराजित गरे । २०७४ मा दिपक भट्टसँग झिनो मतान्तरले हारेका रमेशको अभाव एमोलेका प्रत्यक्ष जितेका दीपकप्रकाश भट्ट र समानुपातिक सांसद अहिलेका प्रतिद्वन्द्वी उम्मेदवार निरुपाल ले गएको पाँच वर्षमा पूरा गर्न नसकेको आम जनताले महसुस गरेका छन् ।
त्यसो त दुईपटक संसद विघटन, दुई तिहाइको सरकार बनाएको पार्टी विघटन, भ्रष्टाचारीहरुलाई संरक्षण तथा पार्टीमा स्वेच्छाचारी प्रवृत्ति लादेको आरोप लागेका केपी ओलीनिकट मानिने निरु पालले ओली निकट रहेर पाँच वर्ष सांसद हुदा आफ्नो निर्वाचन क्षेत्रमा कुनै उल्लेख्य काम गर्न नसकेको गुनासो सँगसँगै एमालेभित्रभित्रै ओलीको आडमा पार्टीको हरेक निर्णयमा हस्तक्षेप गर्नेगरेको असन्तुष्टि ब्याप्त छ । एमालेका कञ्चनपुर जिला, नगर अधिवेशनदेखि लिएर गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा टिकट वितरणमा समेत ठूलो हस्तक्षेप गरेको र यही निर्वाचनमा निरु पाल आफै उम्मेदवार रहेको कञ्चनपुर क्षेत्र–३(१) मा एमालेले नेता नन्दलाल चटौतलाई दिएको टिकट खोसेर कञ्चनपुर ३(१) मा अत्यन्तै कमजोर संगठन रहेको राप्रपासित गठबन्धन गरेको आरोप पनि पार्टी भित्रबाटै उनलाई लागेको छ ।
यस्तो अवस्थामा पालले पार्टी भित्रबाटै यति सकस झेल्नुपरेको र त्यतिबेलाको एमालेको इमानदार सहयात्री दल नेकपा माओवादी अहिले रमेश लेखकसँग गठबन्धनमा भएकोले पनि रमेशलाई एउटा सुविधा छ, २०७४ को चुनावमा एमाले माओवादी दुइदलसँग एक्लै भिड्दा त सामान्य मतान्तरले हारेका रमेशसँग अहिले स्वयं माओवादी सहयोगी भूमिकामा छ । एमालेसित चोइटिएको समाजवादी पार्टी पनि रमेश लेखकसँग गठबन्धनमा छन् । एमालेभित्रको चरम असन्तुष्टि, पार्टी अधिवेशन र स्थानीय चुनावमा गरेको हस्तक्षेप, र समाजवादीपार्टीका प्रभावशाली नेता उर्वादत्त पन्तको निष्कलंक छवि पनि यसपटक रमेश लेखकको सहयोगमा सहायक हुने आकलन गरिएको छ । अब गर्ने कामको सूची मात्रै छ, तर रमेशसँग गरेका कामको लामो सूची र गर्ने कामको सूची, इमानदार, बौद्धिक र निष्कलंक छवि तथा गठबन्धनको शक्ति छ । चुनावमा कञ्चनपुरका जनताले एमालेभित्रै विवाद, असन्तुष्टि र गुट–उपगुटको घेराबन्दीमा रहेकी निरु पाललाई पछ्याउने छन् या रमेशको विकासको पदचापलाई ? त्यो हेर्न ४ मंसिरलाई नै पर्खिनुपर्नेछ ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...