बैतडीकाे सेरोफेरोमा घुमघाम

Published on

खगेन्द्र गिरि ‘कोपिला’ । खोंचलेक रैछ अल्को , डडेलधुरा तुफानडाँडा अमरगढी थुम्को, बाडुल्कीले सम्झाइदियो अनुहार जूनको । फेरि उसैगरि उदायो घाम । उसैगरि उघ्रियो आकाश । उसैगरि उज्यालिए पहाडी थुम्काहरु । युगौयुगदेखि बिहानीको सुर्योदयले आफ्नो गति र चक्र छाडेको छैन । फरक अनुभूति त यो मनले गरिरहेको छ । जिस्किन खोज्दै छ बिहानीको चिसो बतासले । काउकुति लागेको मन मैसंग मात्तिन खोज्दैछ । लजाएजस्तो गर्दै छन् परपरका पाखाहरु । बिर्सिन नसकेका सम्झनाहरु एकोहोरो उर्लिरहेका छन् छातिभित्र । फनफनी घुमिरहेको छुु सम्झना र यथार्थको रोटेपिङ्मा ।
शाशिराम कार्कीसर र म उभिएका छौं तुफानडाँडाको छेउनिर । डडेलधुरा बजारको पल्लो छेउ हो तुफानडांँडा । हुरी आएजस्तै गरि आइरहने र गैरहने चिसो बतासकै सम्मानमा राखेको होला कदाचित् कसैले यो ठाउँको नाम तुफानडाँडा, उर्दू शब्द तुफानलाई पैंचो मागेर । मैले त नेपालीकरण गरेर यसको नाम राखिदिएँ हुरीडाँडा ।
‘गोविन्द खडायतको संगम होटेलमा बस्नुहोला दाजु’ भन्नु भएको थियो भाइ हेमबाबु लेखकले । धनगढी डडेलधुरा राजमार्गका परिकल्पनाकार पञ्चायतकालिन मन्त्री लालबहादुर खडायतका भतिजा हुन् गोविन्द खडायत । धर्म, संस्कृति, योग र राष्ट्रियताको अलख जमाइरहेका गोविन्दज्युको होटेलमा बस्ने रहर त मेरो पनि थियो । तर हिजो साँझ त्यै होटेल खोज्दैखोज्दै हामी तुफानडाँडा पुगिहालेछौं । संगम होटल त उतै बसपार्कनिर छुटे छ । तुफानडाँडाको चिसो बतासले यसरी लोभ्यायो कि फेरि फर्केर उतै पुग्ने जाँगर चलेन । हामी यतै बसी हाल्यौं ।
रमाइरहनु भएको छ पहिलोचोटी डडेलधुरा आउनु भएका शशीराम कार्कीसर पनि । हिजो उहाँलाई उग्रतारा मन्दिर र अमरगढी दूर्गतिर घुमाइसकेको छु । यी दुई ठाउँ हेरिसकेपछि डडेलधुराको आधा आनन्द बटुलिहालियो । हरिया डाँडाकाँडाहरुको सौन्दर्यपान त बाटो काट्दै गर्नु नै छ ।
महेश्वरी होटेलका भाइ दीपक ऐरले एउटा सानो गाडी खोजिदिएका छन् हामीलाई । विमल बोहरा नामका हँसिला केटा आइपुगे बिहानबिहान हामीलाई बैतडी लैजान । चिया नपिएर हिडि पनि हाल्यौं हामी । यो २०८० साल जेठ १४ गते शनिवारको कुरो होे ।
उग्रतारा मन्दिर वरपरका रहरलाग्दा पाखाहरु बिहानीपखको स्वर्णीम उज्यालोमा मुसुक्क मुस्कुराइरहेका छन् । परदेश जान लागेको कुनै युवकको मनमा आफ्नी प्रेमिकाको मुहार उदाएजस्तै गरि अनुभूति छर्किरहेका छन् यी पहाडी दृश्यहरुले । देब्रेतिरको गहिरो कोप्चेमा देखियो पोखरा भन्ने ठाउँ । उहिले यहाँ प्रसिद्ध मिसन अस्पताल थियो । त्यस अस्पतालको चहलपहल हराइसकेको भए पनि अस्पतालका पुराना भवनहरु पहाडको साँगुरो कोप्चोमा ठिङ्ग उभिएकै छन् । पोखराका वरपरका भूदृश्यहरु पनि सौन्दर्यको आफ्नै छटा बोकेर हाँसिरहेकै छन् ।
पोखराबाट बाटो उँभोउँभो लाग्दै गयो । उँचाई बढेसंगै पहाडको आकृति पनि फेरिदै गयो । चिसो त डडेलधुरा पनि चिसै हो तर कस्याटाकुरा र भालुभिरको फन्को मारेर अनारखोली पुगुञ्जेल चिसोचिसो लागिरहेकै छ ।
‘ऊ त्यही हो सर घनघस्या’ देब्रेतिरको पाखोपट्टि औंला सोझ्याएर बोले विमल बोहरा । हामीले आँखा च्यातेर हे¥यौं ठिङ्ग उभिएको एउटा अग्लो पहाडलाई । यो त्यही घनघस्या हो पचास वर्ष अघि यहाँको पैदलयात्रामा आएका ताना शर्माले आफ्नो नियात्राको शिर्षक बनाएर छपाएपछि चर्चामा आएको ठाउँ । घनघस्याको बारेमा मेरो मनमा अर्कै बिम्ब बनेको थियो । कालिकोटका काला पहाड र मनाङका अक्करे चट्टानभन्दा पनि अजङ्गको चट्टाने पहाड होला भन्ठानेको थिएँ । यहाँ त आँखा अगाडि देखिएको घनघस्या मझौला खालको ठिक्कठिक्कको पहाड पो रहेछ ।
अतरियाबाट माथि डडेलधुरा पुगुञ्जेलको बाटोमा यो भन्दा अग्लाअग्ला पहाडहरु देखिएका थिए हिजो । भासुभिरको नाङ्गो पहाडले पनि आङ जिरिङजिरिङ पारेकै हो । अघि पार गरेर आएको कस्याटाकुरा र भालुभिरका पहाड पनि अग्लै थिए । तर यो घनघस्या त उनीहरुको खाँजोमा फुच्चे पो रहेछ । सम्झिएँ एउटा भनाई ‘घनघस्या त भन्नु मात्तै तेल्याको लेक अल्को’ ।
‘पाठ्यपुस्तकमा समावेश भएपछि लेखकमात्र हैन ठाउँ पनि चर्चामा आउने रहेछन्’ अनारखोलीबाट ओरालो झर्दै गर्दा बोल्नु भो शशिराम कार्कीसर । मैले सहमतिमा टाउको हल्लाएँ ।
‘यहाँबाट बैतडी जिल्ला लाग्यो’ अनारखोलीनिर पुगेपछि बोलेका थिए विमल बोहरा । दुई जिल्लालाई छुट्टाउने ठाउँमा ढङ्ग नपुगेर बनाइएको एउटा कुरुप द्वार ठडिएको थियो । वारिपारिका पाखा र रुखवृक्षहरु भने जिल्लाको विभाजनलाई वास्तै नगरेझैं गरि बिहानीपख आङ् तानेर उठ्ने तरखर गर्दै थिए ।
तेरपायाँतेरयापाँ बाटोको लामै फन्को मोरेपछि पुगियो खोड्पे । यो बाक्लै बस्ती रहेछ । आधुनिक विकासका चिनारीहरु यहाँ पुगिसकेका छन् । विकाससंगै फहोर पनि पुगिसकेको रहेछ । यहाँबाट बझाङ् जाने बाटो दाहिने मोडियो । हामी सिधै पश्चिमपश्चिम उत्तरउत्तर लागिरह्यौं ।
हरिचनमोड, गैराखान र मालिकाखान जस्ता थुम्क्याइला बस्तीहरु पार गरेपछि ओरालो झर्न थाल्यो बाटो । सल्लाको बाक्लो वनको माझैमाझै उँधो लागेको नागबेली बाटोले हाम्रा आँखामा शीतलता पोखिरहेको छ ।
‘भाइ कतै नास्ता खानु पर्छ है’ मैले अघिदेखि भनेकोभनेई छु । बिहान चिया पनि नपिएर हिडेका हौं । बाटोमा पसौंपसौं लाग्ने कुनै होटेल पनि देखिएन । सल्लाको वन सकिएपछि विमलले गाडी रोके । भगरौडा नामको गाउँ रहेछ यो । दाहिनेपट्टिको गहिरोमा एउटा चियापसल देखियो । नाम रहेछ टी टाइम रेस्टोरेन्ट । त्यतै पस्यौं ।
बटुक, परौंठा र दही खाँदै गर्दा भित्तामा लेखिएको एउटा सूचनाले मेरा आँखा ताने ।
जसमा लेखिएको थियो— यात्रामा आउने दृष्टिविहीन यात्रुहरुलाई निशुल्क भोजन, ७० वर्ष नाँघेका जेष्ठ नागरिकहरुलाई निशुल्क चिया र कक्षा १२ मा विशिष्ट अङ्क ल्याएर उत्तीर्ण भएका विद्यार्र्थीलाई एक दिन बधाई भोजन खुवाउने । व्यापारलाई समाजसेवासंग पनि जोडेका यस चिया पसलका सञ्चालकसंग कुरा नगरि रहन सकिएन । यस चिया पसलका सञ्चालक रहेछन् ३४ वर्षका युवा वसन्त पन्त ।
यिनी त जुम्लाका सांसद ज्ञानेन्द्र शाहीका साथी, सहकर्र्मी र समर्थक पो रहेछन् । ज्ञानेन्द्र शाहीसंग सङ्गत र सहकार्य गर्दाका अनेक रोचक प्रसङ्ग सुनाए । उनका कुराले निकै प्रभावित बनायो ।
कुनै मीठो सङ्गीत सुनेजस्तो लाग्ने बैतडीको स्थानीय भाषामा वसन्त पन्तले भने ‘मुँ एइ पेशा अरिवर ज्ञानेन्द्र शाहीकै विचार रे अभियानओ लै प्रचारप्रसार अरिरैछु ब’ (म यो पेशा गरेर ज्ञानेन्द्र शाहीको विचार र अभियानको पनि प्रचारप्रसार गरिरहेको छु नि) । वसन्तको चिया पसलको छत सडककै समानान्तर थियो । यी कर्मशील युवासंग त्यही छतमा बसेर एउटा चित्र पनि खिच्यौं ।
भगरौडाबाट ओरालो झर्दै गर्दा हीरापुर नामको गाउँ आयो । यस गाउँको डिलैडिल भएर महाकाली राजमार्ग पनि ओरालोओरालो झरिरह्यो । हीरापुरको पल्लो पुछारनिर बाटोले फन्को मार्ने मोडबाट पर गहिरोमा छ्याङ्गै देखियो पाटन उपत्यका । फराकिलो, उज्यालो र रसिलो । पाइला अगाडि बढेनन् । त्यस दृश्यले आँखालाई तानेको तानेइ गरे । निकै बेरसम्म त्यही मोडबाट पाटनलाई हेरिरह्यौं हामीले पनि । उपत्यकाका छेउछाउतिर थुप्रै बस्तीहरु देखिए । उपत्यकाको छेउमा देखियो रातो माटो खोस्रेको विमानस्थलको आकृति पनि ।
माझको फाँट भने नाङ्गै छ । बाली भित्राएपछिको रित्तोपनमा डुबेको छ पाटनको फराकिलो पाँट । अझैं पनि खेतीपातीलाई नै प्रमुखता दिइरहेको रहेछ पाटनले । सदरमुकाम बनाएको भए कदाचित् यो फाँट पनि सिमेन्टको वन भैसकेको हुँदो हो ।
विमान नआउने विमानस्थल र विद्युत उत्पादन नगर्ने विद्युत केन्द्रले पाटनलाई साँझ बिहान जिस्काइरहँदा रहेछन् । महाकाली राजमार्गमा फाट्टफुट्ट चल्ने सवारी साधानहरुको स्वर पनि पर सुनर्या खोलाको भित्तामै हराउँछन् । तैपनि हीरापुर र ठाडका थुम्का ओर्लिंदै, उक्लिदै महाकाली राजमार्ग भएर ओहोरदोहोर गरिरहने यात्रुहरुलाई भने यो उपत्यकाले अचम्मसंग लोभ्याउँदो रहेछ ।
हीरापुरको मोडबाट ओर्लिएर हामी सुनर्याको छेवैछेउ दुगु¥यौं । खोला तरेर पारिपट्टिको पाखोमा राजमार्ग उँभोउँभो लाग्यो । पाटनभित्र नछिरेर मनले अघि बढ्न मानेन । सानो चिटिक्क परेकोे पाटनको उज्यालो मुहार हेरेर हामी पनि लोभियौं ।
सुनर्या खोलाको छेउमा लमतन्न सुतेको यस रहरलाग्दो पाटन उपत्यकालाई ‘कान्छी नेपाल’ पनि भन्दा रहेछन् । २०१८ सालमा देशलाई चौध अञ्चलमा प्रशासनिक विभाजन गर्दा यसलाई महाकाली अञ्चलको मुख्यालय बनाइएको थियो रे । तर किन हो यो त जिल्लाकै मुख्यालय पनि बन्न सकेको रहेनछ । बनाए त यसलाई मानसखण्डकै राजधानी बनाए पनि सुहाउने रहेछ ।
पाटनबाट माथितिर उक्लिएको राजमार्गको छेउछाउमा ठाड, सिउँडे नामका ससाना बस्ती पारेर सतबाज नपुञ्जेल पाटनको सौन्दर्यले हामीलाई लखेटिरह्यो । सतबाज आउँदै गर्दा दाहिनेपट्टिका पाखालाई देखाउँदै विमलले भने— लोकेन्द्रबहादुर चन्दको गाउँ कुर्कुट्या यतै पर्छ’ । मैले आँखा तन्काएर परपरका पाखाहरुपट्टि लगाएँ तर पहाडी लहर, थुम्का र पाखाहरुमा कुन् कुर्कुट्या हो ठम्याउन सकिनँ ।
मैले खोड्पे र सतबाजलाई तल गहिरोमा नदीको छेउमा होलान् भन्ने सोचेको थिएँ । तर यी दुबै ठाउँ त थुम्केलो टारमाथि बसेका रहेछन् । खोड्पेमा चिस्यानको अनुभूति भएको थियो सतबाज त न्यानै रहेछ ।
सतबाजबाट विमलले गाडी देब्रेतिर मोडेपछि मुस्याचौरको ठाडो पाखो उभियो हाम्रो अगाडि । नामसित चौर झुण्डिएको भएपनि यो भने ठाडै पाखो हो । चौर कतै देखिएन । उहिल्यै पञ्चायतकालमा यहाँ वागवानी केन्द्र बनाउने तयारी भएको हो रे । तर मुस्याचौरको पाखोमा फलफूलका बिरुवा नभएर ऐसेलुका झाङ उम्रिएका छन् । पाटनको जस्तो मिलेको भूआकृति छैन यतातिर । देहीमाडौं आएपछि ठाडा थुम्का र भिराला कराला भूआकृतिहरु अलि बढि नै देखिए । देहीमाडौंको माझैमा भने टार परेको फाँट रहेछ । फाँटको माझैमा छ थुम्को । सडकको दाहिनेतिर त्यही थुम्कोमाथि थपक्क बसेको निगलासैनी भगवतीको भव्य मन्दिर देखियो । मन्दिरले ध्यान तानिहाल्यो । सडकसंगै जोडिएका सिढि र माथिपट्टि दुई ओटा अग्लाअग्ला द्वार देखिए । त्यही सिढी उक्लिदै मन्दिरको आँगनमा पुग्यौं ।
दुईटा पाखा भएको मन्दिरमा आफ्नै कला छरिएको छ । फराकिलो आँगनको छेउछाउमा ठड्याइएका मौला र लिङ्गाहरुमा जताततै घण्टहरु झुण्ड्याइएका छन् । जता हे¥यो उतै घण्टनै घण्ट छन् । कतै झुण्डिएका कतै त्यत्तिकै भुइँमा थुपारिएका ।
‘यहाँ भक्तहरुले घण्ट चढाउने चलन छ’ मेरो जिज्ञासाको निरुपण गरे मन्दिरको परिक्रमा गरिरहेका एकजना युवाले । त्यसरी चढाएको घण्टको उपयोगिता भने केही देखिएन । मन्दिरमा चढाएको सामानको अन्त प्रयोग गर्न नमिल्ने मान्यताले गर्दा यहाँ चढाइएका हजारौं घण्टहरु त्यत्तिकै थुप्रिएका रहेछन् ।
‘गन्ने हो भने दशहजार पुग्ला’ शशिराम कार्कीसरले उपाय पनि भनिहाल्नु भो ‘यी घण्टलाई यसरी अलपत्र पारेर राख्नुभन्दा यिनलाई बेचेर त्यो पैसाले मन्दिरकै निम्ति केही ठूलो कुरो किन्दा हुने रहेछ’ ।
निङ्गालोको आसनमा विराजमान भएकोले निङ्गलाशयनी भनिएकी भगवतिको मन्दिरमा निङ्गालो नदेखिए पनि ढलोट, तामा र फलामका घण्ट भने गन्नै नसकिने गरि चढाइएका देखिए । देवीको मन्दिरमा घण्ट चढाउने चलनको शास्त्रीय पाटो के होला? कि यो लहैलहमा लागेर बनेको चलन होला? जान्ने उत्सुकता जाग्यो । तर यस बारेमा पुजारीले पनि ठोस उत्तर दिन सकेनन् । भने— ‘पहिलेदेखिकै चलन हो’ । यी घण्टकोमहिमा जोडेर कुनै भाषाशास्त्रीले यो मन्दिरको नाम नै घण्टेश्वरी राखी दिन बेर छैन ।
देहीमाडौंको साँगुरो बस्ती र साँगुरो बाटो घुम्दैघुम्दै शाइलेक पुग्यो । डडेलधुराबाट यहाँसम्म पुग्दा ७० किलोमिटर दुगरिएछ । शाइलेक पुग्दा सबैभन्दा पहिले सम्झिएँ डा.देवप्रिसाद ओभलाज्यूको जन्मस्थली बमराडा । बमराडा साइलेककै मुन्तिर छ । शाइलेकको साँगुरोसाँगुरो सडकमा दुगुर्दै गोठालापानी पुग्यौं । बजारी क्षेत्र शाइलेकदेखि गोठालापानीसम्मै उस्तैउस्तै टमक्क भरिएको छ । यो जबरजस्ती हतारमा बसालिएको बजारजस्तो लाग्छ । वरपरका साँगुरा पाखाहरुमा अनेक सरकारी कार्यालयहरु छन् । देहीमाडौंदेखि गोठालापानीसम्मको पुरै क्षेत्रलाई बैतडी भनिदोरहेछ ।
‘बास्तविक बैतडी त ऊ त्यही परको थुम्को हो सर’ देखाउँदैछन् बिमल । पुरानो समयमा सेनाको व्यारेक राखिएको त्यही साँगुरो थुम्कोलाई बैतडी भन्दा रहेछन् । ग्वाल्लेकको थुम्कोबाट बैतडीको गढी देखाउँदे भने विमलले ।
‘त्यही नामबाट यो बजार मात्र नभएर सिङ्गो जिल्लाकै नाम राखिएको हो’ भन्दै छन् विमल ।
बैतडी नामकरणको पनि आफ्नै मिथक रहेछ । पश्चिम नेपालमा पानी बोकेर आउने बतासलाई बयालतडो भनिन्छ । यहाँ राखिएको गढीका घरहरुलाई बयालतडोले हानिरहने भएकोले यो गढीलाई बयालतडो गढी भन्न थालियो । बिस्तारै बयालतडोगढी बैतडगढी भयो । पछि बैतडगढी अपभ्रंश भएर बैतडी भएको हो भनेर कतै पढेको—सुनेको हुँ । ग्लाल्लेकबाट देखिएको बैतडीलाई अहिले पनि बयाल (वायु) ले हानिरहेकै छ । पछि इतिहासका अध्येता हेमबाबु लेखकसमक्ष यो जिज्ञासा राख्दा बयालेतडो नभएर वायुतटबाट बैतड हुँदै बैतडी भएको भन्ने जानकारी पाएँ । जे भए पनि यो नाम वायु र गढीको संसर्गबाट जन्मिएको हो भन्ने कुरामा कसैको विमति नहोला ।
थुम्कैथुम्काहरुको मेलाजस्तो लाग्यो यहाँको भूगोल । पाटनतिरको जस्तो त्यति मिलेको भूगोल हैन यो । वल्लो थुम्कोबाट सदरमुकाम रहेको पल्लो थुम्कोलाई हे¥यौं । पल्लो थुम्कोबाट फर्किएर वल्लो थुम्कोलाई हे¥यौं । थुम्काहरुको पङ्क्तिसित रमाइरहँदा मनमा उर्लेका भावलाई दुई पङ्क्तिको गीत बनाएर फेसबुकमा पोस्ट पनि गरिहालें ः

खोड्पे, पाटन, सतबाँज हेर्दै पुग्यौं बैतडी
आइदियो हजुरको नि झल्को यही घडी

जति साँगुरो शाइलेक छ उस्तै साँगुरो रहेछ गोठालापानी । बैतडीको साँगुरो सदरमुकामतिर धेरै अलमल नगरी हामी सोझै झुलाघाटतिर लाग्यौं । बाटोमा गोठालापानीसंगै जोडिएको आइत भन्ने गाउँ आयो । यो बैतडीका विद्वान मानिने लेखक थरि ब्राह्मणहरुको गाउँ हो । त्योभन्दा मुन्तिरको पल्लाचौडली भन्ने गाउँ पनि भट्टहरुको गाउँ हो । आइत र पल्लाचौडलीमा जन्मेका अनेक व्यक्तिहरु नेपालको सार्वजनिक क्षेत्रमा निकै चर्चित भएका छन् । बाटोमा ओरालोओरालो लाग्दै गएपछि बस्कोट, पुजारागाउँ, बाराकोट, अदरीपिण्ड र भाटीपाडा नामका ठाउँ आए ।
वरपरका दृश्यहरुमा आँखाको बिस्कुन ओछ्याउँँदै तलतल झरिरह्यौं । बाटो ओरारोओरालो घुम्दैघुम्दै महाकालीको तिरमैं पुग्यो । साँगुरोसाँगुरो गरेर बगिरहेको महाकाली नदी नेपाल र भारतको सीमाना हो । महाकालीको वारिपारिका साँगुरा खोंचहरुमा दुबैतिर साँगुरासाँगुरा बस्ती देखिए । नदीको तिरैतिर केहीबेर कुदेपछि झुलाघाट निर पुगिहाल्यौं । झुलाघाट महाकालीको साँगुरो कोप्चोजस्तो ठाउँमा लुकेझैं बसेको छ । वारिपारिका अग्ला पहाडले हावाको प्रवाहलाई छेक्ने भएकोले झुलाघाटमा हप्प गर्मी रहेछ । तराईकै जस्तो पसिना आउने गर्मीको अनुभूत भैरह्यो ।
हामी ओर्लिदैओर्लिदै पुलसम्म पुग्यौं । ठाडो ओरालोमा ढुङ्गाका खुट्किला चिनेर हिड्न सजिलो बनाइएको छ । देखिए भन्सार र सशस्त्र प्रहरीको कार्यालय । अरु सबै पसलैपसल छन् । ‘झोलुङ्गोजस्तो झोलुङ्गे पुल बनाएको हुनाले यस घाटको नाम नै झुलाघाट रहेको रहेछ’ पुलैनिर नेपालपट्टि उभिएका एकजना सशस्त्र प्रहरीका जवानले सुनाए ।
त्यही हल्लिरहने पुरानो पुलमा हिड्दा पनि हल्लियो जिउ । वारि नेपालपट्टि भन्दा पारि भारतपट्टि चेकिङ धेरै कडा रहेछ । एकछिन यसो हेर्न आएका हौं भने पनि चेकिङ गर्नेले सबै विधि पु¥याइहाल्यो । एकछिन परसम्म पुगेर झुलाघाटलाई आँखाले टिप्यौं । पारि भारतपट्टिको झुलाघाटभन्दा वारि नेपालपट्टिको झुलाघाटमैं आएर अडियो मन । आफ्नो पनको सुवासले हो कि हामीलाई त नेपालपट्टिकै झुलाघाटले तानिरह्यो । ठूलो र झकिझकाउ भने पारिपट्टिकै रहेछ ।
सन् १८२९ मा अङ्ग्रेज सरकारले बनाएको हो यो पुल । वारिपारिका ढुङ्गे डिल नजिकै भेटिने साँगुरो ठाउँमा बनाएको रहेछ । दुईसय वर्ष हुन लाग्दा पनि झुलाघाट पुल वारिपारिको साँगुरो खोंच न फराकिलो बन्न सकेको छ न सजिलो । युगौयुगदेखि नफेरिने अठोट गरिरहेको त छैन कतै यो झुलाघाटले ?
भनिन्छ सुगौली सन्धिपछि काजी बम शाहले पश्चिमी क्षेत्रको निम्ति व्यापारिक नाका झुलाघाटलाई बनाएका थिए । भनिन्छ झुलाघाटको यो भन्सार कार्यालय राणाकालका बडाहाकिम नरहरिनरसिंह राणाले स्थापना गरेका हुन्। । भनिन्छ झुलाघाटको उकालो बाटोमा ढुङ्गा ओछ्याउने काम बडाहाकिम सत्यनारायण झाको पालामा भएको हो । यस्ता धेरै रे मा अडिएका इतिहासलाई उजागर गर्न सकेको भए कति उज्यालिदो हो झुलाघाटको लुप्त चिनारी ।
शहीद दशरथ चन्दका पराक्रमी पाइलाहरु यही बाटो हिडेर काठमाडौं पुगे होलान् । उहाँका भाइ राष्ट्रिय पञ्चायतका अध्यक्ष ललित चन्दले आफ्ना कूलदेव कैल्पाल भगवानको पूजा गर्न नेपालगंजबाट आफ्नो पैतृक गाउँ बस्कोटमा वर्षेनी आउनेजाने गरेको बाटो पनि यही उकालो हो । प्रधानमन्त्री श्री लोकेन्द्रबहादुर चन्दले २०१६÷१७ सालतिर पिथौरागढमा आइए पढ्न आउँदाजाँदा हिडेको बाटो पनि यही उकालो हो । यस्ता धेरै अलिखित इतिहासको साक्षी हो यो ठाउँ ।
राष्ट्रिय पञ्चायतका पूर्व सदस्य श्री नरेन्द्रबहादुर चन्दले आफ्नो फेसबुकमा लेख्नु भएको स्टाटस पनि सम्झिएँ — २०२७ सालमा ‘बहारो फूल बर्साओ मेरा महबूब आया है’ भन्ने गीत बजाउँदै जन्ती लिएर पिथौरागढ गएको हिजैजस्तो लाग्छ । त्यसै गरि अन्यअन्य गीत बजेर उताबाट पनि कैयौं जन्तीहरु आए होलान् झुलाघाटवारि पनि । हजारौ मान्छेहरुले आफ्ना सपना बोकेर ओहोरदोहोर गरेको त्यही पुल तरेर हामी पनि फेरि वारि फर्कियौं । त्यही ढुङ्गेलो उकालो उक्लिन थाल्यौं । प्रहरी पोष्टको छेउको फेन्सीपसलमा आफ्नै सुरमा बजिरहेको छ भोजराज भाटको डोटेली गीत— ‘पैया गुडन् लाग्या बम्बै जान्या रेलगाडीका पैया गुडन लाग्या’ ।

हाम्रो गाडीका पाङ्ग्रा पनि गुड्न थाले । झुलाघाटसम्म जुन बाटो गएका थियौं उही बाटो फर्कियौं फेरि । अघिको ओरालो अहिले उकालो बन्यो । निकै माथि उक्लिसकेपछि देब्रेतिर देखियो त्रिपुरासुन्दरी भगवतीको भव्य मन्दिर । मन्दिर भन्दा भव्य देखिए मन्दिरका दुई ओटा द्वार । अग्लो डाँडामाथिको फराकिलो चौर, कलात्मक मन्दिर र मन्दिर वरिपरिको बारले अर्कै शोभा पस्किरहेका छन् । मान्छेको कोलाहलदेखि निकै टाढा अग्लो टाकुरामा ध्यानस्थ मुद्रामा शोभायमान छ यो मन्दिर । मन्दिरभित्र पुजारीहरु दिउँसोको अभ्यर्थना गरिरहेका छन् । हामीले पनि गएर ढोग्यौं । एकछिन हरियो दुबोमा बसेर मनलाई हलुङ्गो पा¥यौं । पारिपट्टि देखिने भारतको अग्लो डाँडाले यस मन्दिरलाई पहरा दिइरहेको जस्तो भान परिरह्यो । डोल्पाको त्रिपुरासुन्दरी मन्दिरजस्तै अग्लो डाँडोमा उभिएर आस्थाको शीतल पवन बाँडिरहेको यो त्रिपुरासुन्दरी मन्दिर पनि उस्तै रहेछ ।
‘ल जा हामी त दानेश्वर, नागार्जुन र प्याउलेतीर्थ पुग्न त बिर्सिएछौं’ झल्यास्स सम्झिएँ म । अघि अदरीपिण्डबाट मोडिएर भाटीपाडा लाग्दै गर्दा मोबाइलमा हेमबाबु लेखक भाइको घण्टी बजेको थियो । ‘दाजु दानेश्वर, नागार्जुन र प्याउलेतीर्थ पनि पुगिझाआ’ भाइको निर्देशनलाई फर्किने बेला पालना गर्ने निर्णय गरेको थिएँ । फर्किदा भने बिर्सिहाले छु । क्षमा गर है दानेश्वर महादेव !
त्रिपुरासुन्दरी मन्दिरपछि हाम्रो गन्तव्य हो अमर उत्सर्गी दशरथचन्दको जन्मस्थलि बस्कोट । सडकको छेवैमा बनेको अग्लो द्वारले बस्कोटको परिचय दिइरहेको छ । त्यही द्वारबाट भित्र पसेर साँगुरो बाटो हुँदै एउटा थुम्केलो ठाउँमा पुग्यौं । आँखा अगाडि छरियो अमर उत्सर्गीको पावन जन्मस्थलि पत्थरसिया ।
दशरथ चन्दको जन्मघरभन्दा पहिले देखियो भगवान कैलपालको भव्यमन्दिर । ‘रातो मन्दिर भन्दा पल्तिरको सेतो घर नै हो दशरथ चन्दको जन्मघर’ मन्दिर छेउको पसलमा बसिरहेका एकजना परियार थरका बृद्धले भने ।
ढुङ्गाले छाएको पाखो र ढुङ्गाले चिनेको गारो भएको सानो सेतो घर नै रहेछ दशरथ चन्दको जन्मघर । उहिले जुन रुपमा थियो अहिले त्यही रुपमा पुनर्निमाण गराइएको रहेछ । भित्तामा दशरथ चन्दकै ठूलो चित्र झुण्ड्याइएको रहेछ । ढुङ्गा ओछ्याइएको आँगन, प्रतिक्षालय र घरवरिपरि ढुङ्गाकै बार लगाइएको छ । घरको छेउमा उनकै अर्धकदको प्रस्तर सालिक देख्यौं । ८३ वर्षअघि देशको लागि बलिदान भएका दशरथ चन्दलाई चिनाउने यत्ति नै छन् अहिले भौतिक कुरा यहाँ । भौतिक सम्झनाभन्दा उनको गौरवगाथा भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छरिएको छ ।
विक्रम संवत् १९६० साल असार १७ गते पिता शेरबहादुर चन्द र माता ओजकुमारीका कोखबाट यही गाउँमा जन्मेका दशरथ चन्दले राजनीतिक परिवर्तनको निम्ति १९९७ साल माघ १४ गते काठमाडौंमा आफ्नो प्राण उत्सर्ग गरेका थिए । बस्कोट पुरै गाउँको नाम रहेछ । यो थुम्कोलाई पत्थरसिया भन्दारहेछन् । अहिले चन्द परिवारका धेरै मान्छे यत्रतत्र छरिइसकेका छन् । बस्कोट र पत्थरसियाका पाखामा लेखिएको इतिहासलाई संरक्षण गर्ने काममा चन्द परिवारका केही व्यक्ति र अन्य गाउँलेहरुको सकृय सहभागिता रहेछ । दशरथ चन्द चन्दपरिवारका मात्र हैनन् सबैका साझा भैसकेका छन् ।
बस्कोटको अवलोकलनपछि हामी फेरि अघि कुद्धै गएको बाटो फर्कियौं । शाइलेकमा खाना खाएर उसैगरि सतबाजपट्टि फर्कियौं । सतबाजदेखि झुलाघाटसम्मको दोहोरो यात्रालाई जोड्दा हामी ७४ किलोमिटर पो कुदे छौं ।
सतबाँजमा आएर फेरि महाकाली राजमार्गसंग मिसियौं । अबको हाम्रो यात्रा उत्तरतिर तन्कियो ।
‘सतबाजभन्दा अलि परबाट देखिन्छ पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दज्यूको गाउँ’ भनेका थिए हेमबाबु लेखक भाइले । सतबाजदेखि अलि पर सिन्केलेकमा पुगेपछि लिस्किटा जाने बाटो त देखियो तर त्यहाँबाट पनि कुर्कुट्या राम्रो गरि देखिएन । डुँगरीको गर्जीलेक भन्ने ठाउँमा पुगेपछि भने आँखा अगाडि छ्याङ्गै फैलियो लिस्किटाको पाखो ।
लिस्किटाको भव्य विद्यालय र हरियो थुम्को त प्रस्टै देखिए तर कुर्कुट्यालाई हेर्न भने आँखा च्यात्नै प¥यो । गोठालाहरुले चिनाइदिए ‘ऊ त्यही हरियो थुम्को पल्तिरको पाखोमा देखिने केही रुखहरुले घेरिएको सेतो घर नै हो लोकन्द्रबहादुर चन्दको जन्मघर’ ।
म लिस्किटा र लिक्सिटालाई शुद्ध उच्चारण गर्न भने अलमलिइरहेँ । उहिले वीरगन्जमा हुँदा रक्सौललाई रस्कौल भनेर पनि धेरै अलमिलिएको थिएँ । ‘कुनै ठाउँको भाषालाई शुद्ध उच्चारण गर्न सकिएन भने बुढापाकाहरुको केही सुन्नु शुद्ध के हो प्रस्ट हुन्छ’ भाषविज्ञहरु भन्ने गर्छन् । मैले पनि गर्जीलेकमा भेटिएकी एउटी महिलालाइृ सोधे पछि थाह भने लिक्सिटा नभएर लिस्किटा रहेछ ।
दायाँबायाँ तलमाथि सोझिएका किरिङमिरिङ रेखाजस्ता बाटाहरुले जेलिएको छ लिस्किटाको पाखो । सुनर्याखोलाले हराभरा बनाउनमा कुनै लोभ गरेका छैन । सेता, राता, साना, ठूला घरहरुले टमक्क भरिएको छ पाखो । तर लिस्किटाको सौन्दर्य भने जेठको शुष्क याममा पनि हरियै देखिएको बाक्लो वन र हराभरा पाखाहरु नै लागे ।
‘यस्तो प्राकृतिक सौन्दर्य भएको ठाउँमा जन्मेको हुनाले पो लोकेन्द्रबहादुर चन्द साहित्यकार भएका रहेछन्’ यात्रामा प्रायः मौन रहने शशिराम कार्कीसर बोल्नु भो धरमपुरबाट सिल्लेगडातिर ओर्लिदै गर्दा । अग्लो पहाडको छातीवरिपरि फन्को मारिरहेको सडक खोंचलेक, बसाली, गोबडा र दोलीजस्ता बस्तीहरु छिचोलेर न्वाली पुग्यो । अनि ओरालोमा आएका बिटकम र चमतडीलाई पार गरि जामडीगाड पुग्यो । जामडीगाडको पुल तरेपछि बाटो समतल भूभागमा दुगुर्न थाल्यो । चमेलियाको बगरमा बाङ्गाबगर र बरमबजार आए । सुलुलुलु कुद्धै हामी गोकुलेश्वर पुगिहाल्यौं ।

दिनभरि उज्यालो छरेर हामीलाई साथ दिइरहेका सूर्यले पनि खोंचलेक पल्तिर ढल्किन खोजे । मेरो मन भने सल्बलाउन थाल्यो ः घनघस्या र शाइलेकभन्दा खोंचलेक रैछ अल्को
जामडीगाड नतरुञ्जेल बस्कोटैको झल्को

ताजा समाचार

गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं । शनिबार बिहान सुत्केरी बेथा लागेका एक जना गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको...

एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु

काठमाडौं । यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर...

धानमा किराको समस्या, किसानलाई उत्पादन घट्ने चिन्ता

काठमाडौं । जोरायल गाउँपालिकामा–३ कोलामा रोपिएको हंसराज बास्मती धानमा किरा देखा परेको छ ।...

प्यालेस्टिनी भूमिमा इजरायली कब्जाबारे सल्लाहकार राय दिन अदालतको आदेश

काठमाडौं । अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) ले प्यालेस्टिनी क्षेत्रहरूमा इजरायलको कब्जाको कानुनी परिणामको बारेमा...