राष्ट्रिय मेलमिलाप गरेर शरणार्थी फर्काउन भुटानी राजालाई अपिल

Published on

काठमाडौं । भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलले राष्ट्रिय मेलमिलापको नीति अपनाएर भुटानी शरणार्थीलाई स्वदेश फर्काउन भुटानका राजा जिग्मे खेसर नाम्ग्याललाई अपिल गर्नुभएको छ ।

सन् १९९० मा भुटानबाट निर्वासित भएपछि भुटान पिपल्स पार्टीका अध्यक्ष पौडेल झापाको विर्तामोडमा शरणार्थी जीवन बिताइरहनु भएको छ । उहाँले भुटानका राजा नाम्ग्याललाई यही जुलाई ३० तारिखमा पत्र पठाएर उक्त अपिल गर्नुभएको हो । 

विर्तामोडमा आइतबार पत्रकार सम्मेलन गरी अध्यक्ष पौडेलले भुटानमा दिनानुदिन सङ्कट चुलिइरहेको, राष्ट्रियता र प्रजातन्त्र जोखिममा रहेको लगायतका कारण जनाउँदै देशभित्रको राजनीतिक समस्या राष्ट्रिय मेलमिलापको नीतिबाट मात्र हल गर्न सकिने भएको हुँदा भुटानका राजालाई पत्र पठाएको जानकारी दिनुभयो ।

उहाँले हाल भुटानको पारो, चाम्गाङ, राबुना, मोन्गार, साम्द्रुपजोङ्खार लगायतका विभिन्न जेलमा दुई सयभन्दा बढी राजबन्दी बिना सुनुवाइ थुनिएको जनाउँदै प्रजातन्त्र र मानव अधिकारको आन्दोलनमा सहभागी हुँदा कठोर जेल जीवन बिताइरहेको ती सबैलाई बिना सर्त रिहाइ गर्न भुटानी राजालाई आग्रह गर्नुभएको छ ।

“भुटान नै नरहने हो कि भन्ने किसिमको सङ्कटहरु उत्पन्न भइरहेको छ,” उहाँले भन्नुभयो, “आफ्नो भाषा, संस्कृति र प्रजातान्त्रिक अधिकारका लागि आवाज उठाउँदा दक्षिण भुटानका डेढ लाख नागरिकलाई ३० वर्षअघि अन्यायपूर्वक देश निकाला गरियो । वर्तमान राजालाई हामी ती सबै राजबन्दीलाई बिनासर्त रिहाइ गरेर भुटानमा राष्ट्रिय मेलमिलापको नीति अपनाउन हार्दिक अपिल गर्दछौँ ।”

अध्यक्ष पौडेलले दक्षिण भुटानबाट देश निकालामा परेका २० प्रतिशत भुटानी नागरिकहरु हाल कतिपय शरणार्थीको रुपमा तेस्रो मुलुकमा पुनःस्थापना भइसकेको र कतिपय हालसम्म पनि शरणार्थी शिविरमा दर्ता भई झापा र मोरङमा कष्टकर जीवन बिताइरहेको विषयमा चिठीमार्फत भुटानी राजालाई अवगत गराउनु भएको छ ।

उहाँका अनुसार डेढ लाख भूटानी शरणार्थीमध्ये सात हजारको सङ्ख्यामा अझैसम्म शिविरमा रहेको र अरुहरु तेस्रो मुलुक पुगेका छन् । तेस्रो मुलुक पुगेका र शिविरभित्रै बसिरहेका सबै भुटानी शरणार्थीहरु आफ्नो देश भुटान फर्कन पाउने प्रतीक्षामा रहेको उहाँले बताउनुभयो । त्यसका लागि भुटानी राजाले जेलमा रहेका सबै राजबन्दीलाई रिहा गर्नुपर्ने र सबै शरणार्थीलाई स्वदेश फर्किने वातावरण तयार पार्नुपर्ने पौडेलले माग गर्नुभएको छ ।

“हामीलाई नेपाल सरकारले गाँस, बास र कपासको व्यवस्था गरिदियो,” उहाँले भन्नुभयो, “तैपनि खुसी छैनौँ किनकि हामी आफ्नै देश भुटान फर्किन चाहन्छौँ । भुटान जान नपाएसम्म हामी खुसी हुन सक्दैनौँ ।”

उहाँले भुटान सरकारसँग संवाद गरेर भुटानी शरणार्थीलाई स्वदेश फर्किने वातावरण बनाउनका लागि सहयोग गरिदिन नेपाल सरकारलाई अनुरोध गर्नुभएको छ । नेपालमा रहेका शरणार्थीको परिचय नवीकरण गरिदिन र दर्तामा छुटेकाहरुको दर्ता गरिदिन उहाँले नेपाल सरकारलाई आग्रह गर्नुभएको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...