नेपाली जहाजको सूचीबारे कात्तिकमा निर्णय हुने

Published on

काठमाडौं । पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुङ्गो लाग्ने भएको छ । सन् २०१३ देखि युरोपेली सङ्घ (इयू) को कालो सूचीमा रहेको नेपालबारे स्थलगत अध्ययन तथा अनुगमन गरेर शुक्रबार फर्किएको इयूको प्राविधिक सहयोग टोलीले आगामी कात्तिकमा प्रतिवेदन बुझाउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार गत आइतबार नेपाल आइपुगेको चार सदस्यीय इयूको प्राविधिक टोलीले नागरिक उड्डयन प्राधिकरणसँगै वायुसेवा कम्पनीको अडिटको काम गरेर शुक्रबार फर्किसकेको छ । उहाँले भन्नुभयो, “नेपालले हवाई सुरक्षामा गरेको प्रगतिबारे पुनः अध्ययन गर्न नेपाल आएको उक्त टोली स्थलगत अध्ययनको काम सकेर फर्केको छ । प्रारम्भिक प्रतिवेदन केही अगाडि आउने विश्वाससहित कात्तिकसम्म पूर्ण प्रतिवेदन प्राप्त हुने छ ।” प्रारम्भिक प्रतिवेदनमाथि प्राधिकरणले आफ्नो धारणा राखेपछि पूर्ण प्रतिवेदन आउने र उक्त प्रतिवेदन इयूमा पेस गरेपछि मात्रै नेपाल कालो सूचीबाट हट्ने वा नहट्नेबारे निश्चित हुने छ । उहाँले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले गत वर्ष गरेको मूल्याङ्कन र हवाई सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा औसतभन्दा उच्च अवस्था देखिएकाले त्यसपछि पनि नेपाल हवाई सुधारका लागि नीतिगत सुधार गरिसकेको बताउनुभयो ।

प्राधिकरणका प्रवक्ता निरौलाले नेपालले हवाई दुर्घटना न्यूनीकरणसम्बन्धी नियमावलीको मस्यौदा र हवाई सुरक्षासँग जोडिएका नियमसमेत संशोधन गरिसकेकाले यस पटक इयूले प्रतिबन्धबारेको निर्णय पुनर्विचार गर्ने आशा गरिएको बताउनुभयो । स्थलगत अध्ययनमा आएको टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेसन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एन्ड ग्राउन्ड एड्सलगायत आठ क्षेत्रको अध्ययन गरेर फर्किएको छ ।

प्राधिकरण स्रोतका अनुसार इयूको टोलीले प्राधिकरणले वायुसेवा कम्पनीलाई दिने लाइसेन्स प्रक्रिया, नवीकरण, पाइलटलाई दिने लाइसेन्सलगायतका विषयमा समेत मूल्याङ्कन गरेको स्रोतले जनाएको छ । टोलीले आन्तरिकतर्फका नेपाल वायुसेवा निगम र श्री एयरलाइन्स तथा अन्तर्राष्ट्रियतर्फ हिमालय एयरलाइन्सको समेत अध्ययन गरेको छ । विभिन्न ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले हाल २० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । सन् २०१० मा एकै वर्ष तीन वटा विमान दुर्घटना र सन् २०११र१२ मा एक–एक विमान दुर्घटना भएपछि सन् २०१३ डिसेम्बर ५ गतेदेखि इयूले नेपाललाई कालो सूचीमा राख्दै आएको छ ।

ताजा समाचार

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका...

परिवारसँग खुसी साट्न नपाउँदै मिस्टर काठमाडौँ विजेता राईको मृत्यु

काठमाडौं । शनिबार मात्र काठमाडौँमा भएको पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्नु...

विश्वकप लिग–२ : नेपाल आज ओमानसँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बुधबार (आज) राति...

बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

काठमाडौं । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।...