गुम्यो चाँगुनारायणको मौलिकता

Published on

काठमाडौं । जिम्मेवार निकाय र पदासीन व्यक्तिको लापरबाहीका कारण चाँगुनारायणको मूल मन्दिरको मौलिक स्वरूप गुमेको छ । पुरातत्व विभाग र त्यस अन्तर्गतको स्मारक संरक्षण तथा दरबार हेरचार अड्डा भक्तपुर तथा चाँगुनारायण नगरपालिका र चाँगुनारायण विकास समितिका अध्यक्ष एवं चाँगुनारायण मन्दिरका मूल पुजारीको लापरबाहीका कारण यस्तो अवस्था सिर्जना भएको हो । २०७२ वैशाख १२ को भूकम्पपछि जीर्णोद्धार गरिँदा विश्वसम्पदा सूचीमा सूचीकृत नेपालकै पुरानो मन्दिरको पहिचान नै मेटिएको विज्ञहरूको भनाइ छ ।

मन्दिरका टुँडाल र गारोलगायतका संरचनामा प्राकृतिक रङ लगाएर मौलिक स्वरूप दिनुपर्नेमा रासायनिक रङ लगाइँदा त्यसले प्राचीन काठ, इँटालगायतका वस्तुमा पनि क्षति पुगेको छ । मन्दिरको पुरातात्त्विक स्वरूप नै नष्ट हुने गरी मन्दिरमा आधुनिक रङ (एक्रेलिक) लगाइएको हो । चाँगुनारायण विकास समितिले पुरातत्व विभागलाई २०७८ पुस ८ गते पत्र लेखी “… चाँगुनारायण मन्दिरका टुँडालहरूमा परम्परा अनुसार परम्परागत प्राकृतिक रङ (नन्केमिकल कलर) प्रयोग गरी विकास समितिको आफ्नै लगानीमा रङरोगन गर्नका लागि विभागको स्वीकृति” मागेको थियो । त्यस मागका आधारमा पुरातत्व विभागले २०७८ माघ २० गते निर्णय गरी ससर्त सहमति प्रदान गरिएको पत्र सोही दिन चाँगुनारायण विकास समितिलाई पठाएको थियो ।
सातबुँदे सर्तको बुँदा नम्बर १ मा ‘प्रयोग गरिनु पर्ने रङ अनिवार्य रूपमा परम्परागत हुनुपर्ने (कुनै पनि सर्तमा रासायनिक रङको प्रयोग हुन नहुने)’, बुँदा नम्बर २ मा ‘कुन देवताको टुँडालमा कुन रङ लगाउने हो भन्ने विषयमा विशेषज्ञसँग परामर्श लिई प्रतिमा विज्ञानबमोजिम गर्नुपर्ने’, ३ नम्बर बुँदामा ‘कार्यको प्रारम्भिक चरणदेखि कार्य सम्पन्न नभएसम्म स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयसँगको निकटतम सम्पर्कमा कार्यहरू गर्नुपर्ने’ समेत उल्लेख छ ।

त्यसका लागि बुँदा नम्बर ४ अनुसार ‘के कस्तो रङको प्रयोग गरिएको छ भन्ने सम्बन्धमा स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयबाट खटिई आउने प्राविधिकलाई विस्तृत विवरण उपलब्ध गराउनु पर्ने’ थियो । त्यस्तै बुँदा नम्बर ६ अनुसार ‘चाँगुनारायण नगरपालिकाको कार्यालय, सम्बन्धित वडा कार्यालय, मन्दिरका पुजारीलगायत सम्बद्ध सरोकारवालासँग आवश्यक समन्वय गरी कार्य गर्नुपर्ने’ थियो । पुरातत्व विभागले बोधार्थ तथा कार्यार्थ भनी सहमतिपत्रको प्रति चाँगुनारायण नगरपालिका, नगरपालिकाको कार्यालय भक्तपुर र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरलाई निरन्तर निगरानी एवं परामर्शसमेतका लागि पठाएको थियो । पुरातìव विभागको यस पत्रबमोजिम स्मारक संरक्षण तथा दरबार हेरचार अड्डा भक्तपुर तथा चाँगुनारायण नगरपालिका र चाँगुनारायण विकास समितिका अध्यक्ष एवं चाँगुनारायण मन्दिरका मूल पुजारी कसैले पनि काम नगर्दा रासायनिक रङ प्रयोग गरेको पाइएको हो । आफ्ना सर्त अनुसार आफ्नै मातहतको कार्यालयबाट काम भइरहेको छ कि छैन भन्ने निगरानी विभागले गरेको छैन ।

पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले समितिले मन्दिरको टुँडालमा मात्र रङ लगाउनका लागि सहमति मागेको र विभागले सोही अनुसारको रङ लाउन मात्र सहमति दिएको बताउनुभयो । “रङ लगाउनै नपर्ने मन्दिरको भित्ताको इँटामा पनि रङ लगाउँदा अहिले मन्दिरको स्वरूप नै परिवर्तन भएको छ,” उहाँले भन्नुभयो, “अहिले मन्दिरमा लगाइसकिएको रङ खुर्कियौँ भने इँटामा भएको प्राकृतिक पोलिस नै जान्छ, नखुर्कियौँ मन्दिर नै झिल्के भएको छ ।” पुरातत्व तथा इतिहासविद् मोहनप्रसाद खनालका अनुसार पनि मन्दिरको टुँडाल र भित्तामा लगाइएको रङ अब हटाउन सकिँदैन । हटाउने हो भने उक्त रङ मेटिने केमिकल नै लगाउनु पर्छ । मन्दिरमा त्यस्तो केमिकल लगाइयो भने काठ नै विस्तारै नष्ट भएर जान्छ । चाँगुनारायण विकास समितिका अध्यक्ष एवं चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायको दाबी भने अझै पनि बेग्लै छ । उहाँले पुरातत्व विभागको सहमतिमा नै रङ लगाइएको बताउनुभयो र प्रतिप्रश्न गर्नुभयो, “रातारात होइन करिब दुई वर्ष लगाएर मन्दिरमा रङ लगाइएको हो । लगाइएको रङ पुरातत्वमैत्री नभएको भए त्यति बेला नै पुरातत्व विभागबाट किन रोकिएन ? हामीले गल्ती गरेको भए किन कारबाही हुँदैन ?”

उहाँले मन्दिरमा लगाइएको रङ पुरातत्व सम्पदामैत्री छैन भनेर सोही समयमा प्रयोगशाला परीक्षण गरेको भए आफूहरूले कुन रङ लगाउने हो सोही रङ लगाउँथ्यौँ तर रङ लगाउने बेलामा आफूलाई कुनै पनि निकायले गलत छ नभनेको उल्लेख गर्नुभयो। राजोपाध्यायको यो भनाइ तथ्यपूर्ण भने देखिन्छ । पुरातत्व विभागले बोधार्थ र कार्यार्थ पत्र पठाएका दुवै निकायले त्यसमा कुनै चासो नै नदेखाएको सम्बद्ध अधिकारीहरूको भनाइले पुष्टि गर्छ । विभागको पत्र अनुसार यस कामको अनुगमन र नियन्त्रणको पूर्ण जिम्मेवारी स्मारक संरक्षण तथा दरबार हेरचार कार्यालय भक्तपुरको हो ।

तर त्यसले विभागको पत्र अनुसार कुनै प्राविधिकलाई खटाउँदै खटाएन । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरका सूचना अधिकारी शिवराम सापकोटाले विभागको पत्र अनुसार निगरानी गर्न कसैलाई नखटाएको स्वीकार गर्नुभयो । उहाँले विभाग भन्नु र आफूहरूको कार्यालय भन्नु एउटै भएको बताउँदै मन्दिरमा रङ लगाउने बेलामा विभाग र आफ्नो कार्यालयको कमजोरी भएको स्वीकार पनि गर्नुभयो । विभागको पत्रबमोजिम मात्र होइन स्थानीय तहको सरकारको क्षेत्र अन्तर्गत पर्ने प्राचीन सम्पदामा के के भइरहेको छ भन्ने निगरानी चाँगुनारायण नगरपालिकाले आफैँले पनि गर्नुपर्ने हो । तर पनि दुई वर्षसम्म नगरपालिकाले मन्दिरमा रङ लगाइँदै गरेको थाहै नपाएको हास्यास्पद तर्क गरेको छ ।

चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले मन्दिर व्यवस्थापन समितिले पुरातत्व विभागसँग सहमति लिएर मन्दिरमा रङ लगाएको तर नगरपालिकासँग समन्वय नगरेको दाबी गर्नुभयो । उहाँले मन्दिरमा करिब ८० प्रतिशत जति रङ लगाइसकेपछि थप रङ बजेट पुगेन भनेर नगरपालिका बजेट माग गर्न आउँदा मात्र आफूहरूले सो थाहा पाएको तर्क गर्नुभयो । उहाँले आफूहरू भर्खर निर्वाचित भएर आएकाले केही थाहा नभएको पनि दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “सुरुमा रङ लगाउँदै गर्दा समिति र पुरातत्वसँग त्यस्तै रङ लगाउने सम्झौता भएको होला भन्ने लाग्यो, रङ लगाइसकेपछि हेर्दा मात्र अर्कै रङ देखियो । अब यसको जिम्मेवारी पुरातत्व विभागले लिनु पर्छ ।” जबकि त्यसको अनुगमनका लागि विभागले नगरपालिकालाई सुरुमा नै भनिसकेको छ । चाँगुनारायण मन्दिर परिसरमा नै रहेको किलेश्वर मन्दिरका पुजारी शङ्कर भट्टले मन्दिरमा रङ लगाइँदा नगरपालिकाका प्रमुख, उपप्रमुख, मन्दिर रहेको वडा नम्बर ४ का वडाध्यक्ष र कर्मचारी कसैले चासो दिएर अनुगमन नगरेको बताउनुभयो । मन्दिर र वडा नम्बर ४ को कार्यालयको दुरी करिब दुई किलोमिटर मात्र छ ।

पुरातत्वविद् खनालले सम्बद्ध सबै पक्षबाट भएको यो कार्यलाई पुरातात्त्विक अपराधको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, “मन्दिरका टुँडाल पन्ध्रौँ शताब्दीका छन् । मन्दिरको वास्तविक स्वरूप नै बदलिने गरी लगाइएको उक्त रङका कारण चाँगुनारायण मन्दिरलाई युनेस्कोले विश्वसम्पदा सूचीबाटै हटाउनसमेत सक्छ ।” पशुपतिनाथ, स्वयम्भू, जयवागेश्वरीलगायत मन्दिरमा रङ भरेका कलाकारको नेतृत्वमा प्राकृतिक रङ लगाएको समितिले दाबी गरेको छ । बागमती प्रदेश सरकारको १० लाख र भक्तजनको चन्दा सङ्कलन गरी करिब ४५ लाख रुपियाँ लागतमा मन्दिरमा रङरोगन गरिएको हो । मौलिक प्यागोडा शैलीमा निर्मित चाँगुनारायण मन्दिर मध्यकालमा राजा शिव सिंहकी रानी गङ्गारानी र १८ औँ शताब्दीको सुरुमा कान्तिपुरका भाष्कर मल्लको शासनकालमा जीर्णोद्धार भएको थियो । त्यस्तै २०६६ सालमा गारो र छाना मर्मत भएको चाँगुनारायण मन्दिर २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भई अहिले जीर्णोद्धार भइसकेको छ । नेपालकै प्राचीन मन्दिरमा सबैभन्दा पुरानो मानिने चाँगुनारायण मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत गरेको थियो ।

ताजा समाचार

‘संविधान संशोधन गर्न आवश्यक’

काठमाडौं । सुनसरी सदरमुकाम इनरुवामा दसौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरीलगायत विभिन्न...

सबैको अपनत्व हुनेगरी संविधान संशोधन आवश्यक

काठमाडौं । आज संविधान दिवस मनाइएको छ । संविधान दिवसका अवसरमा इलाममा विविध कार्यक्रम...

आजबाट दैनिक पाँच सय जनाले धरहरा चढ्न पाउने, प्रवेश निःशुल्क

काठमाडौं । सरकारले आजदेखि धरहरा सञ्चालनमा ल्याएको छ । गत भदौ २७ गतेको मन्त्रिपरिषद्...

जम्मू–कश्मीर विधान सभा चुनावमा ५९.१९ प्रतिशत मतदान

काठमाडौं । जम्मू–कश्मीरमा बुधबार भएको विधान सभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९...