लक्ष्मीनियाँको जङ्गलमा भीषण डढेलो

Published on

काठमाडौं । गौशाला नपा(१० स्थित लक्ष्मीनियाको जङ्गलमा भीषण डढेलो लागेको छ । अनियन्त्रित डढेलोले घाटगद्दी गरी राखिएका करौडौँ मूल्य बराबरको काठ खरानी पारेको छ ।

बिहीबार अपरान्ह ३ बजेदेखि लागेको डढेलो यो समाचार तयार पार्दासम्म पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । डढेलोलाई सुरुमा वनकर्मी, सशस्त्र प्रहरी तथा स्थानीय पसलेले निभाउने प्रयास गरेका थिए । लामो समयदेखिको खडेरी र तीव्र गतिमा चलेको पश्चिमा हावाका कारण आगोले विकराल रुप लिएको छ । वनकर्मी, सुरक्षाकर्मी तथा बर्दीबास, गौशाला, रामगोपालपुर र सर्लाही हरिवनबाट आएका ४ वटा वारुणयन्त्रले आगो निभाउने प्रयास गरेका छन् । आगो काठको मुनिसम्म पुगेको हुँदा ६ वटा स्काभेटरको सहयोगमा त्यस्ता काठ झिकेर नियन्त्रणमा लिने प्रयास गरिँदै छ । लामो प्रयासपछि आज विहान ३ बजेतिर आगो केही मत्थर भए पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकोले अहिले पनि घटनास्थलमा वारुणयन्त्र, स्काभेटर, सुरक्षाकर्मी र वनकर्मचारी आगो निभाउन जुटेका छन् ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार पश्चितर्फबाट सल्किँदै आएको डढेलो सुरुमा डिभिजन वन कार्यालय नजिकको सशस्त्र क्याम्पसम्म पुगेको थियो । घटनास्थल नजिकैको लोकमार्ग छेउको छाप्रोमा नास्ता पसल गर्दै आउनुभएकी तुलमाया गुरङका अनुसार सशस्त्र क्याम्पनजिक डढेलो पुगेको देखेर सबैजना पानी बोकेर निभाउन जाँदा त्यहाँको आगो सशस्त्रकै प्रयासमा नियन्त्रणमा आएको बताउनुभयो । त्यहीबेला पश्चिमबाट एक्कासि उठेको हावाको भुमरीले बल्दै गरेको डढेलोको पतिङ्गरको मुस्लो उडाएर वन कार्यालयले घाटगद्दी गरी राखेको प्लटमा पुर्‍याएपछि हेर्दाहेर्दै आगोले वनै निल्ला जस्तो भयोू तुलमायाले सुनाउनुभयो, म ६१ वर्षकी भएँ संसारै भष्म पार्लाजस्तो यस्तो आगलागी त देखेकी थिइनँ ।

डिभिजन वनले काठ भण्डारण (घाटगद्दी) गरिएको क्षेत्रफलाई डढेलोबाट जोगाउन चारैतिर ट्रेन्च खन्नुका साथै ६ मिटर चौडाइको फायरलाईन बनाउने जस्ता पूर्व सतर्कता अपनाएको थियो । काठ भण्डारण क्षेत्र नजिकै सब डिभिजनका कार्यालय र सशस्त्र पोष्ट रहेकाले पनि सबै सतर्क अवस्थामा थिए । तर हावाको भुमरीले डढेलोको ठूलो मुस्लोलाई उडाएर घाटगद्दी क्षेत्रको चारैतिर सल्काएपछि खडेरीले सुकेर खारिएका झिक्रा र पुराना सुके मक्किएका काठ हेर्दाहेर्दै पट्रोल दन्के झैं दन्केपछि हाहाकार मच्चिएको प्रत्यक्षदर्शीले बताउनुभयो । लक्ष्मीनियाँको डिभिजन वन कार्यालय दक्षिणतर्फको करिब २ हेक्टर क्षेत्रफलमा फैलिएको घाटगद्दीमा डढेलो लागेको हो । यो घाटगद्दीका ४ ब्लकमा दश वर्ष पुरानादेखि ०७४ सालमा ४०० केभी हाइटेन्सनलाइनको मुनि कटान गरिएका काठ राखिएका छन् । जसमध्ये डढेलोबाट ब्लक ‘सी २’ को ७५ प्रतिशत र ब्लक ‘सी ४’ को शतप्रतिशत काठ जलेको डिभिजन वन प्रमुख सन्तोष झाले बताउनुभयो । आगो निभाउने काम जारी रहेकाले कति परिमाण र कति मूल्य बराबरका काठ जले यकिन हुन सकेको छैन । तथापि डढेलोका कारण ७० प्रतिशत कुकाठ र ३० प्रतिशत सखुवा काठ खरानी भएको अनुमान गरिएको छ । अहिले हामी सबै आगो निभाउने काममा केन्द्रित भएकोले क्षतिको यकिन विवरण भन्न सकिने अवस्था नरहेकोले तत्काल अनुमान मात्र गरिएको होू, झाले भन्नुभयो, बाँकी रहेका २ वटा ब्लकका काठलाई भने सबैको प्रसायले पूर्णरुपले जोगाउन सकिएको छ । वन डढेलो पूर्णरुपले नियन्त्रणमा आइसकेको छैन भने अपरान्हपछि पश्चिमी हावा चल्ने हुँदा थप जोखिम हुन नदिन नियन्त्रणको प्रयास भइरहेको डिएफओ झाले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

काठमाडौँ उपत्यकामा चहलपहल बढ्दै

काठमाडौँ – काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न...

वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने

काभ्रे- वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने भएका छन् । बीपी राजमार्गमा ट्र्याक निर्माण...

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका...

कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई...