मुख्यमन्त्री शाहले फागुपूर्णिमापछि विश्वासको मत लिने

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुपूर्णिमालगत्तै विश्वासको मत लिने तयारी गरिरहेको बताउनुभएको छ ।

मुख्यमन्त्री शाहले गोरखापत्रसँगको कुराकानीमा सो तयारीबारे जानकारी दिनुभएको हो । सङ्घीय सरकारमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितका दल मिलेर नयाँ समीकरण निर्माण गरिएपछि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले सरकार छाडेका थिए । त्यसपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो । मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर विश्वासको मत प्राप्त गर्ने गृहकार्य थाल्नुभएको हो । विश्वासको मत कहिले लिनुहुन्छ भन्ने जिज्ञासामा मुख्यमन्त्री शाहले भन्नुभयो, “हामी जुन दल र व्यक्तिसँग विश्वासको मत लिन खोजेका छौँ, उहाँहरूसँग छलफल जारी नै छ । सहमतिको नजिक नजिक छौँ ।” अन्तिम सहमति हुन बाँकी रहेको तर आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाहको दाबी छ ।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यलाई दुई साताअघि मन्त्री नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री शाहले राप्रपाका एक मात्र प्रदेश सभा सदस्य खिमादेवी विष्ट र स्वतन्त्र तारा जोशीलाई साथमा लिएर मन्त्रीमण्डल विस्तारको तयारी गरिरहनुभएको छ । सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि कम्तीमा २७ जनाको समर्थन आवश्यक पर्दछ । मुख्यमन्त्री शाहलाई कांग्रेस, नागरिक उन्मुक्ति, स्वतन्त्र र राप्रपाले पक्षमा मतदान गरेमा आवश्यक सङ्ख्या ठ्याक्क २७ पुग्छ । ५३ सदस्यीय प्रदेश सभामा एक जनाको निधन भएपछि हाल ५२ सदस्य छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...