मुख्यमन्त्री शाहले फागुपूर्णिमापछि विश्वासको मत लिने

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुपूर्णिमालगत्तै विश्वासको मत लिने तयारी गरिरहेको बताउनुभएको छ ।

मुख्यमन्त्री शाहले गोरखापत्रसँगको कुराकानीमा सो तयारीबारे जानकारी दिनुभएको हो । सङ्घीय सरकारमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितका दल मिलेर नयाँ समीकरण निर्माण गरिएपछि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले सरकार छाडेका थिए । त्यसपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो । मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर विश्वासको मत प्राप्त गर्ने गृहकार्य थाल्नुभएको हो । विश्वासको मत कहिले लिनुहुन्छ भन्ने जिज्ञासामा मुख्यमन्त्री शाहले भन्नुभयो, “हामी जुन दल र व्यक्तिसँग विश्वासको मत लिन खोजेका छौँ, उहाँहरूसँग छलफल जारी नै छ । सहमतिको नजिक नजिक छौँ ।” अन्तिम सहमति हुन बाँकी रहेको तर आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाहको दाबी छ ।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यलाई दुई साताअघि मन्त्री नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री शाहले राप्रपाका एक मात्र प्रदेश सभा सदस्य खिमादेवी विष्ट र स्वतन्त्र तारा जोशीलाई साथमा लिएर मन्त्रीमण्डल विस्तारको तयारी गरिरहनुभएको छ । सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि कम्तीमा २७ जनाको समर्थन आवश्यक पर्दछ । मुख्यमन्त्री शाहलाई कांग्रेस, नागरिक उन्मुक्ति, स्वतन्त्र र राप्रपाले पक्षमा मतदान गरेमा आवश्यक सङ्ख्या ठ्याक्क २७ पुग्छ । ५३ सदस्यीय प्रदेश सभामा एक जनाको निधन भएपछि हाल ५२ सदस्य छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...