‘सत्ता समीकरण फेरबदल हुने अवस्था छैन’

Published on

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल सत्ता समीकरण फेरबदल हुने अवस्था नरहेको बताउनुभएको छ । माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सिंहदरबारमा शनिबार सम्बोधन गर्दै उहाँले अहिलेको समीकरण राजनीतिक र वैचारिक रूपमा निर्माण भएकाले तत्काल केही नहुने दाबी गर्नुभयो ।

प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू सरकार ढाल्न प्रयास गरेकोसम्बन्धी प्राप्त भएका सूचना बैठकलाई जानकारी गराउनुभएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताउनुभयो । प्रतिपक्षी दलले सरकार ढाल्न प्रयास जारी राखेको र कहाँ को कोसँग छलफल गर्नुभयो भन्ने सबै सूचना प्राप्त भएको कुरा प्रधानमन्त्रीले जानकारी गराउनुभएको बताउँदै पौडेलले “अहिले भर्खरै सत्ता समीकरण तलमाथि हुने अवस्था छैन । सत्ता समीकरण फेरबदल हुने अवस्था देखिँदैन । यो सत्ता साझेदार समीकरण पाँचै वर्ष जान्छ” भन्नुभयो । प्रतिपक्षीमा पुगेको दल सधैँ सरकार ढाल्ने र बनाउने काममा मात्रै लाग्नु ठिक नभएको धारणा व्यक्त गर्दै प्रधानमन्त्रीले अब संसद् बैठक सुचारु गर्न विपक्षी दलसँग संवाद गरेपछि सबै ठिकठाक हुने जानकारी दिएको सचिव पौडेलले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा सुझाव लिन राखिएको बैठकमा प्रधानमन्त्रीले आर्थिक सङ्कटका कारण ठुलो बजेट ल्याउन नसकिने जानकारी गराउनुभएको थियो । उहाँले थारै बजेटमा राम्रा र लोकप्रिय कार्यक्रम ल्याउनुपर्ने दबाबमा भएकाले सुझाव दिन सांसदहरूलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले कुनै व्यक्तिविशेषलाई तोकेर संसदीय समिति बनाउन नसकिने विचार व्यक्त गर्दै समग्र सहकारी समस्यालाई समेटेर समिति बनाउन सकिने बताउनुभएको सचिव पौडेलले जानकारी दिनुभयो । “सहकारीको व्यक्तिविशेषलाई तोकेरभन्दा पनि समग्र विषयलाई हल गर्ने गरी संसदीय समिति बनाउन सकिन्छ । एउटा घटना विशेषलाई जोडेर समिति बनाउन सकिने अवस्था छैन । सम्पूर्ण विषयलाई एउटै डालोमा हालेर हल गर्ने गरी समिति बनाउन सकिन्छ । सहकारीको छानबिन गर्ने क्रममा उहाँ (उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने) को विषय पर्न सक्छ । यसबारे कांग्रेससँग छलफल गरेर निष्कर्षमा पुगिने छ,” पौडेलले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्नुभयो । सो अवसरमा प्रधानमन्त्रीले एउटै व्यक्तिलाई सहकारीसँग जोडेर निरन्तर प्रहार गर्ने प्रवृत्ति ठिक नभएको बताउनुभएको थियो । 

माओवादी केन्द्रको संसदीय दलको बैठकमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरूले रोजगारी वृद्धि र उत्पादनलाई प्राथमिकता दिएर बजेट ल्याउन सुझाव दिएको सांसद सूर्यमान दोङले जानकारी दिनुभयो । सरकारले यसै वैशाख २८ गते सङ्घीय संसद्को बजेट अधिवेशन बोलाएपछि माओवादी केन्द्रले दलको बैठक बोलाएर छलफल गरेको हो । 

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...