काठमाडौं । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ रिडी बजारमा आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घ गुल्मी, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, सेभा नेपाल र रुरुक्षेत्र गाउँपालिकाको समन्वयमा रिडी बजारमा आँखा उपचार केन्द्रको सेवा शुभारम्भ गरिएको हो ।
सेवा शुभारम्भ गर्नुहुँदै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली नागरिकहरुलाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्य अनुरुप यहाँ आँखा उपचार केन्द्र स्थापना गरिएको बताउनुभयो । आँखा सम्बन्धी रोगका धेरै बिरामीहरु लाभान्वित हुने भन्दै उहाँले आँखाको उपचार गराउन टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । नागरिकलाई चौबीसै घण्टा आँखा उपचार सम्बन्धी विभिन्न सेवाहरु केन्द्रबाट उपलब्ध गराइने उहाँको भनाइ छ । स्थापना गरिएको आँखा उपचार केन्द्रलाई नमुना आँखा उपचार केन्द्र बनाउन गाउँपालिकाले सधै सहयोग गर्ने बताइएको छ । नजिकै आँखा उपचार सेवा पाइने भन्दै स्थानीय नागरिकहरु निकै खुसी भएका छन् । रुरुक्षेत्र गाउँपालिका सधै नागरिकको सेवामा समर्पित रहेको भन्दै आँखा उपचारमा संवेदनशील बन्दै नागरिकलाई निस्शुल्क मोतियाविन्दुको शल्यक्रियाको व्यवस्था समेत मिलाएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।
यस जिल्लाको छैटौं आँखा उपचार केन्द्रका रुपमा रिडी बजारमा स्थापना गरिएको हो । रिडी बजार अन्य स्थानीय तह र अन्य जिल्लाको केन्द्रबिन्दु रहेको हुँदा केन्द्रले यस क्षेत्रका धेरैजसो नागरिकको आँखा उपचारमा ठूलो टेवा पुर्याउने विश्वास लिइएको नेपाल नेत्र ज्योति सङ्घ गुल्मीका सभापति अखिलेश्वर पाण्डेले बताउनुभयो । गोरखापत्र