सङ्गीतको भूगोल

Published on

काठमाडौं । सङ्गीत र भूगोलबीच नङ र मासुको जस्तै घनिष्ट सम्बन्ध छ । सङ्गीत भूगोलको उपज हो र सङ्गीत भूगोलवासीका लागि । भूगोलबिना सङ्गीतको अस्तित्व नै रहन सक्दैन । सङ्गीतमा भूगोल प्रतिविम्बित हुन्छ, माटोको सुवास मगमगाउँछ र भूगोलको परिचय झल्कन्छ । सङ्गीतको झङ्कार, गीतका भाका र शब्दमा भूगोल प्रतिविम्बित भइरहेका हुन्छन्, जसले सङ्गीत र भूगोलबीच विद्यमान घनिष्ट साइनोको साक्षी बकिरहेको हुन्छ । अब प्रश्न तेर्सिन्छ, भूगोलमा सङ्गीत सिर्जना हुन्छ भने भूगोलशास्त्रमा सङ्गीत विषयले प्रवेश पाउनु नैसर्गिक पक्ष हो कि होइन रु यो एउटा यस्तो गहन र पेचिलो प्रश्न हो जसले एउटा कालखण्डमा भूगोलविद्हरूबीच बहस निम्त्यायो । यसका पक्ष र विषयमा तर्क–वितर्क भए । अन्ततः भूगोलशास्त्रमा सङ्गीतले स्थान पाउनुपर्छ भन्ने आवाज घनीभूत हुँदै गयो । सन् १९६० को पूर्वार्धसम्म भूगोलशास्त्रमा सङ्गीतशास्त्रले प्रवेश पाएको देखिँदैन । त्यसपछि भने भूगोलशास्त्रले सङ्गीतलाई आत्मसात् गरेको देखिन्छ । यस क्रममा फिनल्यान्डेली भूगोलविद् जेजी ग्रानो (सन् १८८२–१९५६) ले पहिलो पटक भूगोल र सङ्गीतबीच विद्यमान साइनोबारे अध्ययन गरेको पाइन्छ ।

सन् १९६० को उत्तरार्धतिर ‘सङ्गीत भूगोल’ सांस्कृतिक भूगोलको नवीनतम विधाका रूपमा जुर्मुराउन थाल्यो । यसबारे खोज अनुसन्धान हुन थाल्यो । ‘सङ्गीत भूगोल’ शोधपत्र लेख्ने क्रम सुरु भयो । सन् १९६० देखि अमेरिकामा सङ्गीतलाई सांस्कृतिक भूगोलको एउटा विशिष्ट उपविधाका रूपमा अध्ययन गर्न थालिएको देखिन्छ । ‘सङ्गीत भूगोल’ लाई एउटा विधाका रूपमा स्थापित गर्न अमेरिकी भूगोलविद् कार्ल साउर (सन् १८८९–१९७५) को उल्लेखनीय योगदान रहेको छ । यसैगरी जर्ज ओ। कार्नी सङ्गीत र भूगोलबीच साइनोपात जोड्ने अग्रज गुरुमध्ये एक मानिन्छन् । समयक्रममा ‘जर्नल अफ कल्चरल जियोग्राफी’, ‘सोसल एन्ड कल्चरल जियोग्राफी’, ‘जियोग्राफी’, ‘जर्नल अफ सोनिक स्टडिज’ लगायत एक सयभन्दा बढी प्राज्ञिक जर्नलमा सङ्गीत र भूगोलबीचको नाता–सम्बन्ध केलाउन थालियो । यस्ता जर्नलमा प्रकाशित शोधमूलक लेखले ‘सङ्गीत भूगोल’ बारे बौद्धिक वृत्तमा चर्चा र बहस पैदा गर्न सघाए । यसबाट ‘सङ्गीत भूगोल’ को अवधारणाले व्यापकता पायो । ‘सङ्गीत भूगोल’ तुलनात्मक रूपमा नयाँ विधा हो । प्राज्ञिक अध्ययनका लागि ‘सङ्गीत भूगोल’ एउटा घच्चीको विषय हो ।

अचेल सांस्कृतिक भूगोलका अध्येताहरूले ‘सङ्गीत भूगोल’ लाई पनि भूगोलको एक विधाका रूपमा अङ्गीकार गरेका छन् । यसरी भूगोलशास्त्र अन्तर्गत गरिने सङ्गीतको अध्ययनलाई ‘सङ्गीत भूगोल’ भनेर नामकरण गरियो । ‘सङ्गीत भूगोल’ अङ्ग्रेजीमा विभिन्न नामले चिनिन्छ । जस्तैः म्युजिक जियोग्राफी, जियोग्राफी अफ म्युजिक, सोनिक जियोग्राफी तथा जियोम्युजिकोलोजी । शेली हेइजले अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा सङ्गीत भूगोलबारे बुझाएको शोधपत्रका अनुसार ‘सङ्गीत भूगोल’ मा कुनै खास भूगोलमा सङ्गीतको उत्पत्ति र विकासबारे अध्ययन गरिन्छ । हेइजको बुझाइमा ‘सङ्गीत भूगोल’ अन्तर्गत एउटा भूगोलमा उत्पत्ति भएको सङ्गीत अर्को भूगोलमा कसरी विस्तार भयो भन्नबारे पनि अध्ययन गर्न सकिन्छ । यसमा सङ्गीतको उत्पादन र उपयोग कसरी हुन्छ भन्नेबारे अध्ययन गरिन्छ । ‘सङ्गीत भूगोल’ मा कुनै गीतको सांस्कृतिक तथा सामाजिक अर्थ के हो भन्नेबारे पनि विश्लेषण गरिन्छ  । सुन्दा सामान्य जस्तो लागे पनि ‘सङ्गीत भूगोल’ बहुआयामिक र जटिल विषय हो । यसभित्र अनेकन् विधा समेटिन सक्छन् । सन् २०१० मा ‘काइमेरा’ जर्नलमा प्रकाशित एक शोधपत्रमा ‘सङ्गीत भूगोल’ मा समाविष्ट तìवहरूको सूची पेस गरिएको छ । शोधपत्रमा जर्ज ओ। कार्नीलाई उद्धृत गर्दै भनिएको छ, ‘सङ्गीत भूगोल’ मा गीतका शैली, संरचना, शब्द, व्यक्ति, स्थान, सञ्चार माध्यम, जातीयता, वाद्ययन्त्र तथा सङ्गीत उद्योग जोडिन आइपुग्छन् ।

यति मात्र नभएर ‘सङ्गीत भूगोल’ मा सामाजिक, राजनीतिक तथा आर्थिक पक्षमा पनि जोडिन पुग्छ । यससँगै सङ्गीतको राजनीतिक अर्थशास्त्र तथा समाजको साङ्गीतिक सौन्दर्यचेत, भूगोल, संस्कृति, सङ्गीतशास्त्र (म्युजिकोलोजी), क्षेत्रीयता÷आञ्चलिकता, इतिहासजस्ता तमाम विषय जोडिन आइपुग्छन् । यसबाट ‘सङ्गीत भूगोल’ एउटा जटिल विषय प्रतीत हुन पुग्छ । कतिपय अवस्थामा ‘सङ्गीत भूगोल’ को भावभूमि, व्याकरण र दायरालाई सरल भाषामा बुझाउन कठिन पर्छ ।

नेपालको सांस्कृतिक भूगोलमा फक्रिएको सङ्गीत भूगोल

नेपालको सीमाभित्र हिमालदेखि तराईसम्म अनि पूर्वदेखि पश्चिमसम्मका भूगोलमा ‘सङ्गीत भूगोल’ का अनेकन् तìव भेटिन्छन् । जसबारे ‘सङ्गीत भूगोल’ कोणबाट अध्ययन नभए पनि लोकभाका र लोकसंस्कृतिका कोणबाट धेरथोर अध्ययन भएका छन् । नेपालको ‘सङ्गीत भूगोल’ को आयाम देशको राजनीतिक भूगोलभन्दा पर रहेको सिक्किम, दार्जिलिङ, सिलङ, भुटानसम्म विस्तार भएको देखिन्छ । ‘सङ्गीत भूगोल’ को अध्ययनमा लोकसाहित्य तथा लोकगीतका अध्येताहरूले आफ्नै किसिमले गुनिलो योगदान दिएका छन् । यद्यपि यस्ता अध्ययनमा नेपालका अध्येताले ‘सङ्गीत भूगोल’ को पाइन भने चढाइएको पाइँदैन । जनकवि केशरी धर्मराज थापा, कालीभक्त पन्त, पूर्णप्रकाश नेपाल ‘यात्री’, कृष्णप्रसाद पराजुली, सत्यमोहन जोशी, डा। जयराज पन्तजस्ता लोकसंस्कृतिका अध्येताको कृतिमा ‘सङ्गीत भूगोल’ का तìव पर्याप्त भेटिन्छन् । नेपालमा ‘सङ्गीत भूगोल’ लाई सोही नामबाट नपुकारिकनै ‘सङ्गीत भूगोल’ को अध्ययन भएको देखिन्छ । नेपालको भूगोलमा प्रचलित सङ्गीत (खासगरी लोकसङ्गीत) को अध्ययन भएका छन् । नेपालमा स्थानीयस्तरमा प्रचलित गीत÷सङ्गीतलाई ‘सङ्गीत भूगोल’ को दर्पणबाट हेर्ने र सोही आधारमा सैद्धान्तीकरण नगरिएको भए पनि प्रकारान्तरले ‘सङ्गीत भूगोल’ को अध्ययन गरिएको भेटिन्छ ।

हाम्रो सरहदमा अनेकन् शैलीका लोकसङ्गीत प्रचलित छन् । त्यसलाई ‘सङ्गीत भूगोल’ को कोणबाट अध्ययन गर्न सकिन्छ । लोकसङ्गीतका अध्येता रामशरण दर्नालले आफ्नो कृति ‘गायनशैली’ मा नेपालको पूर्वी भागको सांस्कृतिक धरोहरका रूपमा रहेका पालम, सङ्गिनी, हाक्पारे, च्याब्रुङ, धान नाच आदिको चर्चा गर्नुका साथै साबिकको पश्चिमाञ्चल क्षेत्रमा प्रचलित सालैजु, यानीमाया, सुनीमाया, ठाडो भाका, तेर्सो भाका, कौरा, नानीरलै, मारुनी, ख्याली, झ्याउरे आदि तथा मध्यपश्चिमाञ्चलको टप्पालगायतका सङ्गीत शैलीको पनि चर्चा गरेका छन् । यी लोकभाका र तिनमा अन्तरनिहित सङ्गीतमा ‘सङ्गीत भूगोल’ का तत्व प्रचुर मात्रामा भेटिन्छन् । कतिपय अध्येताले स्थानीय भूगोलमा प्रचलित लोकभाकालाई अझ सूक्ष्म किमिसले अध्ययन गरेको पाइन्छ । लोकसाहित्यका हस्ती सत्यमोहन जोशीले लमजुङ, तनहुँ तथा कास्कीका गामबेँसी, देउराली तथा भन्ज्याङहरू डुलेर तत् ठाउँका साङ्गीतिक विरासतका रूपमा रहेका झ्याउरे, ठाडो भाका, सोरठी, चुड्काजस्ता लोकभाकालाई लिपिबद्ध गरी २०१३ सालमा ‘हाम्रो लोकसंस्कृति’ नामक कृति प्रकाशनमा ल्याएका थिए । जनसाधारणका हाँसो–आँसु र जीवनको घामछाया प्रतिविम्बित त्यस पुस्तकले २०१४ सालमा मदन पुरस्कार हात पा¥यो । पुस्तकमा ‘सङ्गीत भूगोल’ उच्चारणै नगरी स्थानीय ‘सङ्गीत भूगोल’ को मीठो झलक पाइन्छ ।

यसैगरी सत्यमोहन जोशी, प्रदीप रिमाल, विहारीकृष्ण श्रेष्ठ, चूडामणि बन्धुलगायतका अध्येताको टोलीले कर्णालीको स्थलगत भ्रमण गरी त्यहाँको लोकसंस्कृतिबारे युगान्तकारी अध्ययन गयो । २०२८ सालमा तयार पारिएको त्यस अनुसन्धानात्मक कृतिको नाम थियो ‘कर्णाली लोक संस्कृति’ । त्यसमा कर्णालीको ‘सङ्गीत भूगोल’ प्रतिविम्बित छ । त्यस कृतिको चौथो खण्डमा चूडामणि बन्धुले कर्णालीमा प्रचलित लोकभाकाहरूको नालीबेली प्रस्तुत गरेका छन् । नेपाली समाजलाई उल्लेखनीय गुन लाएबापत ‘कर्णाली लोकसंस्कृति’ ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । नेपाली लोकगीतका अध्येता कालीभक्त पन्तले नेपालको भूगोलमा प्रचलित अनेकन् लोकभाकाको अध्ययन र विश्लेषण गरेका छन् । उनले पनि ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८) मा नेपाली मौलिक लोकभाकाहरूप्रति गहिरो अनुराग प्रदर्शन गर्दै रोइला, तीजको गीत, रत्यौली, भूओ गीत, धान नाच, खाँडो, ओहाली गीत, महाल गीत एवं तत्कालीन समयका चर्चित कलाकार आदिबारे रोचक विवरण पस्केको हामी पढ्न सक्छौँ । उनले आफ्नो कृतिमा राजनीतिक भूगोलका दृष्टिले टाढिएका तर सांस्कृतिक भूगोलका हिसाबले नजिकिएका सिक्किम, दार्जिलिङ तथा भुटानमा प्रचलित नेपाली लोकभाकाको विवरण पेश गरेका छन् ।

लोकसाहित्यका अध्येता डा। जयराज पन्तले ‘डोटेली धमारी गीत एक अध्ययन’ (२०६४) मा डोटीमा प्रचलित धमारी गीतको सूक्ष्मतम विश्लेषण गरेका छन् । पन्तले आफ्नो अर्को कृति ‘मष्टापरम्परा र त्यसका गीतहरू’ (२०६४) मा डोटीमै प्रचलित मष्टा (मष्टो) परम्परागतसँग सम्बन्धित गीतमाथि अध्ययन गरेको देखिन्छ । उनका कृतिमा स्थानीय ‘सङ्गीत भूगोल’ राम्रैसँग सगबगाएको छ । साहित्यकार कृष्णप्रसाद पराजुलीले जीवनकालभरि नेपालका लोकभाकाप्रति गहिरो स्नेहभाव प्रकट गरिरहे । पराजुलीले ‘नेपाली लोकगीतको आलोक’ नामक कृतिमा नेपालको भूगोलमा फव्रिmएका लोकगीतका थुँगाहरू सजाएका छन् । उनीद्वारा कर्णाली, भेरी, गण्डकी, बागमती, कोशी र मेचीजस्ता नदी प्रवाह प्रणालीसँगै गुञ्जिएका लोकभाकाको मृदुशैलीमा नालीबेली केलाइएको छ । उनले भारतमा रहेका नेपालीभाषी समुदायमा प्रचलित लोकगीतको पनि बेलिविस्तार लगाएका छन् । कृष्णप्रसाद पराजुलीले नेवार, तामाङ, राई, लिम्बू तथा शेर्पा समुदायमा प्रचलित लोकगीतबारे सुन्दर विवरण पेश गर्नुका साथै मैथिली तथा भोजपुरी गीतबारे पनि चर्चा गरेको देखिन्छ । उनका प्रस्तुतिमा पनि परोक्ष किसिमले ‘सङ्गीत भूगोल’ प्रतिविम्बित भएको छ । हाम्रा लोककण्ठले पनि ‘सङ्गीत भूगोल’ बोल्दै आएको छ । सिद्धार्थ राजमार्गस्थित राम्दी पुल लोककण्ठमा उच्चारण भइरहने स्थाननाम हो । स्याङ्जा र पाल्पा जिल्लालाई जोड्ने राम्दी पुल लोककण्ठमा एउटा लोकगीत निकै प्रचलित छ ः ‘राम्दी पुल तरने बित्तिकै, बाँचे भेट मरे त यत्तिकै ।’ त्यही राम्दी पुल तरेर गण्डकी र धौलागिरिका लाहुरे साबिकको बटौली झर्थे । त्यसपछि सुनौली हुँदै पल्टनमा हाजिर हुन जान्थे । प्रस्तुत गीतले घरपरिवार र साथीसङ्गीसँग बिछोडिए लडाइँमा होमिन अभिशप्त लाहुरेको मनोविज्ञान बोल्छ । यस लोकगीतले गोर्खा भर्ती केन्द्रको पीडादायी विरासत र गण्डकी–धौलागिरि भेगको ‘सङ्गीत भूगोल’ पनि बोलिरहेको छ ।

सङ्गीत भूगोल रच्ने एउटा विशिष्ट पात्र

जीवनको उर्वर कालखण्ड देश भ्रमण गरी लोकभाका र लोकजीवनको अभिलेखन गर्नमा व्यतीत गरेका जनकवि केशरी धर्मराज थापाको नाम नेपालको ‘सङ्गीत भूगोल’ मा योगदान दिने पात्रका रूपमा स्वर्ण अक्षरले लेखिएको छ । उनलाई नेपालको लोकसंस्कृति, लोकभाका तथा ‘सङ्गीत भूगोल’ को अन्वेषण गर्ने विशिष्ट व्यक्तित्व मान्न सकिन्छ । यद्यपि उनका कृतिमा कहीँ पनि ‘सङ्गीत भूगोल’ शब्दावली परेको छैन । तैपनि उनी देशका कुना–कन्दरा तथा दार्जिलिङ, देहरादुनजस्ता नेपालीभाषीको बसोबास रहेको तर देशको राजनीतिक भूगोलबाहिरका भूभागको भ्रमण गरी लोकभाकाबारे जानकारी सङ्कलन तथा अभिलेखीकरण गर्ने कार्यमा दिलो ज्यान दिएर सरिक भए । पैदलयात्रा गरी देशको अप्ठ्यारो भूगोललाई छिचोल्ने आँट र धैर्य भएका धर्मराज थापाले स्थलगत यात्राका आधारमा ‘मेरो नेपाल भ्रमण’ (२०१६), ‘हाम्रो लोकगीत’ (२०२०), ‘गण्डकीका सुसेली’ (२०३०), सगरमाथाको सेरोफेरो (२०३१) ‘लोकसंस्कृतिको घेरामा लमजुङ’ (२०४१), ‘चितवन दर्पण’ (२०५०), ‘तनहुँ फूलबारी’ (२०५८) जस्ता देशको भूगोल, लोकभाका र लोकजीवन बोल्ने कृति प्रकाशनमा ल्याए ।

हाल उनका कतिपय कृति अप्राप्य भइसकेका छन् । ‘गण्डकीका सुसेली’ (२०३०) मा गण्डकी भेग र त्यस वरिपरिको भूगोलमा प्रचलित लोकभाकाहरूको स्ूक्ष्मतम नालीबेली केलाएका छन् । कृतिमा बालुन, घाँटु, सोरठी, चुड्का, यानीमाया, सुनीमाया, भजन, सालैजो, झ्याउरे, आँधीखोले रोइलाजस्ता यावत् लोकभाका सविस्तार चर्चा गरिएको छ । थापाको अर्को कृति ‘लोकसंस्कृतिको घेरामा लमजुङ’ मा लमजुङका भिरपहरा, लेकबेँसी तथा गाउँबस्तीको लोकजीवन र लोकभाकाको रसिलो–भरिलो वर्णन छ । थापाको अर्को कृति ‘चितवन दर्पण’ मा चितवनको भूगोलमा उब्जिएका लोकभाका र लोकजीवनको सजीव चित्र देखिन्छ । यस कृतिमा थापाले सुखको खोजीमा पहाड छाडेर चितवन बसाइँ सर्ने ग्रामीणजनको कण्ठमा गुञ्जिएको सङ्गीतमय भावनालाई यसरी दर्साएका छन् स्

“अब त झरियो चितौन, हाँसीखेली जिन्दगी बिताउन’ भन्दै लोकगीतको चरन उचालेर डोका डाला बोकी गोरु खेद्दै चितवन झरेकाहरूले गाएको लोकगीत गरिबी बोकेको जिन्दगीलाई उनीहरूको भित्री मनको भावनाले कति वसन्तको कोइली जस्तो कुर्रकुर्र पारेको छ” (थापा, २०५०, पृ. झ)। लोकजीवन, लोककण्ठ र स्थानीय भूगोललाई केन्द्रमा राखेर धर्मराज थापाका कृतिमा नजर लाउँदा निःसन्देह भन्न सकिन्छ, उनका कृतिमा ‘सङ्गीत भूगोल’ जुर्मुराएको छ । थलोमै पुगेर जानकारी सङ्कलन गरिएको उनका कृतिमा लोकभाका र स्थानीय जीवनशैलीको जीवन्त बखान भेटिन्छ । थापाका कृति अमूल्य छन् । जसमा नेपाली लोकसङ्गीत र भूगोलबीच घनिष्ट नाता–सम्बन्ध भेटिन्छ । ‘सङ्गीत भूगोल’ को नामै नलिइकन ‘सङ्गीत भूगोल’ को अध्ययन गर्ने धर्मराज थापाको योगदान वन्दनीय छ ।

स्थाननाम

स्थाननाम आफैँमा भूगोलको पर्याय हो । जसले स्थानीय भूगोलको परिचय दिन्छ । हाम्रा लोकभाकामा स्थाननाम जनाउने अभिव्यक्तिको कुनै अभाव छैन । लोकभाकामा नेपाली गाउँबस्तीको परिचय झल्कने अनगन्ती अभिव्यक्ति भेटिन्छन् । लोकहृदयमा न्यायो बास पाएका गायक लोकबहादुर क्षेत्रीदेखि अनुज पुस्ताका स्वरजीवी विवेक धितालसम्मले स्थाननामलाई आधार बनाएर गीत गुञ्जाएका छन् । यस्ता अभिव्यक्तिमा स्थानीयस्तरमा मात्रै परिचित स्थाननामदेखि राष्ट्रियस्तरमै चर्चित भूगोल पनि पर्छन् । स्थाननाम झल्कने लोकगीत लोककण्ठमा प्रशस्त भेटिन्छन् । जस्तैः ‘दिक्तेल बजार, सम्झनामा आउँछौ हजार’, ‘माया तिम्लाई सम्झँदाखेरि आँखा भेरी मन हुन्छ कर्णाली’, ‘माछापुच्छ भन्नु मात्रै धौलागिरि अल्को, आज भेट्नु रैछ, हिजै लाग्यो झल्को’, “ढाकाटोपी मायाले दिएको, कुन्छा जाने बाटैमा लिएको’, ‘दुराडाँडे मायाको डफ्फा, दिन्छु माया पछ्यौरी छेउ थाप’, ‘घर त मेरो याँ होइन लमजुङ, छोडी जाने मायालाई के सम्झुम्’, ‘भोलि घामको झुल्कोमा, तिमी हामी मिलेर लाउँला माया बन्दीपुरैमा’, ‘काँचो कटर, मै जान्छु राङखोला रोक मटर’, ‘बेनीको बजार, जता माया उतै छ नजर’, ‘यो दुःखीलाई सम्झँदै गरे है, फुर्सद भए हात्तीखोर झरे है’, ‘धनकुटाको डाँडैडाँडा चल्यो हुलाकी, सासूलाई चाबी सालोलाई जाबी सालीमाज्यूलाई झुम्के बुलाकी’ आदि । लोकभाकामा अभिव्यक्त यस्ता स्थाननामले स्थानीय भूगोल र संस्कृतिको मीठो परिचय दिन्छन् । जसले भूगोलको अध्ययनमा पनि धेरथोर योगदान गर्छ । यस्ता अभिव्यक्तिमा ‘सङ्गीत भूगोल’ का तत्वहरू यत्रतत्र भेटिन्छन् ।

अबको बाटो

हामी उभिएको भूगोलको साङ्गीतिक पक्षलाई ‘सङ्गीत भूगोल’ नभनेरै ‘सङ्गीत भूगोल’ का रूपमा अध्ययन भएको सम्बन्धमा अगाडि नै चर्चा भइसकेको छ । अब त्यस्ता कृतिलाई ‘सङ्गीत भूगोल’ को कोणमा थप अध्ययन र विश्लेषण गर्न सकिने ठाउँ छ । हाम्रो लोकसङ्गीतसँग जोडिएका अवयवलाई ‘सङ्गीत भूगोल’ आधारभूत सिद्धान्त र व्याकरणसँग तादात्म्य मिलाएर सैद्धान्तीकरण गर्न आवश्यक छ । यसका लागि थप अध्ययन तथा विश्लेषण गरिनु पर्छ । नेपाल गीतरसङ्गीतलाई ‘सङ्गीत भूगोल’ को नजरबाट हेर्ने हो भने नेपालको सांस्कृतिक भूगोलका नयाँ पाटा उजागर हुन सक्छन् । आँधीखोले भाका, पुर्बेली भाका, हाक्पारे, तामाङ सेलो, देउडा, ठाडो भाका, हुड्केलगायत सबै साङ्गीतिक परम्पराले ‘सङ्गीत भूगोल’ सुसेल्ने गर्छन् । यसको अर्थ हो रैथाने सङ्गीतमा नेपालको ‘सङ्गीत भूगोल’ का अवयवहरू भेटिन्छन् । हाम्रो ‘सङ्गीत भूगोल’ मा इतिहास, सामाजिक मनोविज्ञान, संस्कृति र जीवनशैलीका पाटा उघ्रिन्छन् । भूगोल र लोकगीतको साइनोपात केलाउँदा अरू अनगन्ती विषयवस्तु सँगसँगै आइपुग्छन्, एउटा बरेलो टिप्न खोज्दा बरेलोको सिङ्गो झ्याल नै तानिएजस्तो गरी । अर्को शब्दमा भन्ने हो भने ‘सङ्गीत भूगोल’ को प्रवाहमा लहरिँदा लहरिँदै अन्य विषय पनि यस्तरी जोडिन आइपुग्छन् कि मस्र्याङ्दीमा उसका सहायक नदी हतारिँदै मिसिन आएजस्तो गरी ।

हामीसँग ‘सङ्गीत भूगोल’ अध्ययनका अरू पनि अथाह विषयवस्तु छन् । मेची, कोशी, गण्डकी, कर्णाली, भेरीजस्ता नदी प्रवाह प्रणालीसँग सम्बन्धित ‘सङ्गीत भूगोल’लाई बेग्लै कोणबाट अध्ययन गर्न सकिन्छ । हिमाल, पहाड तथा तराईका अनेकन् भूखण्डमा अस्ताउँदो लोकभाकालाई ‘सङ्गीत भूगोल’ को धारबाट अध्ययन गर्न सकिने छ । यसैगरी हामीकहाँ आञ्चलिकता छचल्कने मृदु लोकभाकाहरू छन् । तिनको बेग्लै अध्ययन गर्न सकिन्छ । हाम्रा जातजातिमा प्रचलित अनेकौँ लोकभाकालाई ‘सङ्गीत भूगोल’ तथा जनजातीय सङ्गीत (इथ्नोम्युजिकोलोजी) को कोणबाट अध्ययन गर्न सकिन्छ  ।हाम्रो नाभी गाडिएको भूगोलमा ‘सङ्गीत भूगोल’ का अनेकन् आयामलाई ओल्टाइपल्टाइ गरी सूक्ष्मतम अध्ययन गर्न सकिन्छ । यस प्रकारको अध्ययनबाट नेपाली समाजको इन्द्रधनुषी रङले एउटा सुन्दर संसार निर्माण गरेको अनुभूति मिल्ने छ ।

ताजा समाचार

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका...

सरकारको निर्णय कुर्दै एयर अस्त्र

काठमाडौं । बङ्गलादेशी एयरलाइन्स कम्पनी एयर अस्त्रले ढाका–पोखरा–ढाका उडानका लागि तीव्र तयारी थालेको छ...

नेपाल र श्रीलङ्काबिचको खेल वर्षाले रद्ध, नेपालको सुपर आठ सम्भावना कायम

काठमाडौं । आइसिसी टी(२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबिचको खेल वर्षाका कारण रद्ध भएको...

अवैध रूपमा ढुवानी गर्दै गरेको शालिग्राम नियन्त्रण

काठमाडौं । मुस्ताङबाट अवैध तवरले चोरी निकासी गर्न लागिएको झन्डै तीन हजार चार सय...