चालकले मदिरा सेवन गर्दा दुर्घटना

Published on

काठमाडौं । जिप भरी ढोरवाराही मन्दिर जाने दर्शनार्थी थिए । तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडा बजारबाट ढोरफिर्दीस्थित मन्दिर जाने तरखरमा थिए, भक्तजन । तर चालक निस्किएर केही बेर हराए । सहचालक त्यही समयमा छतमा यात्रु राख्दै थिए । सार्वजनिक बिदा भएकाले मन्दिरमा भक्तजनको भीड लाग्ने भएकाले छतमा यात्रु भरिएका थिए । चालकको मुखबाट गन्ध आएपछि यात्रु रुपा गुरुङले रक्सी खानु भएको छ, गाडी नचलाउनु भन्नुभयो । चालकले खाए पनि चलाउन सक्छु भन्दै अटेर गरेर जिप हुइँकाएँ । जिप दुई सय मिटर पर नपुग्दै ‘‘ऐया म मरेँ, बचाउ बचाउ, मरेँ मरेँ, बचाउ बचाउ’’ भन्दै यात्रुको चिच्याहट सुनिन थाल्यो । प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा तुरुन्तै घटनास्थल पुग्दा जिप अनियन्त्रित भई भिरबाट खसेर सेती नदीको किनारमा पुग्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १० जना यात्रु घाइते अवस्थामा भेटिए ।

घाइतेको उद्धार गरेर अस्पताल लगियो भने चालकलाई प्रहरीले नियन्त्रणमा लियो । चिकित्सकको रिर्पोटमा चालकले मदिरा सेवन गरेको भेटियो । स्थानीय ट्राफिकले चेकजाँचमा कडाइ नगरेको भन्दै आक्रोशित बनेका मृतकका आफन्तले क्षतिपूर्ति र चालकलाई कारबाहीको माग राख्दै नाराबाजी गर्दै यातायात अवरुद्ध गरे । यो दुर्घटना वास्तविक नभई काल्पनिक थियो । सडक सुशासन तथा दुर्घटना न्यूनीकरण गर्ने मुख्य उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडा कास्कीको आयोजनामा काल्पनिक अभ्यास गरेको थियो । शुक्लागण्डकी नगरपालिका–४ हेल्थपोष्ट चोकमा गरिएको ‘सवारी दुर्घटनाबाट उद्धार सम्बन्धी अभ्यास’अन्तर्गत काल्पनिक दुर्घटना गरिएको भए पनि थाहा नपाउने स्थानीयहरू दर्दनाक अवस्था देखेर भक्कानिएर रोएका थिए । सवारी दुर्घटनाहरूमा स्थानीय समुदाय नै पहिलो उद्धारकर्ता र सूचनाकर्ता हुने भएकाले उनीहरूलाई सुसूचित गर्ने उद्देश्यले नमुना अभ्यास गराइएको गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो । घटना घटेको समयमा उद्धारका लागि सुरक्षा निकायका तालिम प्राप्त उद्धारकर्मीहरू आइनपुग्दै घाइते बिरामीको उद्धार गर्न उद्धार गरिएका व्यक्तिहरूको प्राथमिक उपचार गर्न र उद्धारमा आइसकेपछि समुदायले उद्धारकर्मीलाई सहयोग गर्ने दायित्व समुदायका व्यक्तिहरूको महत्त्वपूर्ण भूमिका हुने भएकाले अभ्यास गराइएको उहाँले बताउनुभयो । सिंहले भन्नुभयो, ‘‘दुर्घटना बढ्न नदिन, नियन्त्रणमा सहयोग पुर्‍याउन र घटनाबारे समुदायलाई सचेत बनाउने उद्देश्यले नमुना अभ्यास गरिएको हो ।’’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महत, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, गण्डकी प्रदेश तथा जिल्लाका सुरक्षा निकायका प्रमुख, प्रतिनिधि, विद्यार्थी र स्थानीयको उपस्थितिमा नमुना अभ्यास गरिएको हो ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले नेपाल जस्तो विपद् जोखिम भएको देशमा यस प्रकारको कार्यक्रमले स्थानीय स्वयंसेवकहरूको उत्पादन गरी विपद् र दुर्घटना पछिको उद्धारमा ठुलो सहयोग पुग्ने बताउनुभयो । स्थानीय निकायहरूले समेत आ–आफ्नो क्षेत्रमा सम्भावित जोखिम मूल्याङ्कन गरी उपयुक्त स्थानहरूमा आवश्यक पर्ने सामग्रीहरूको भण्डारण गर्नुपर्ने पाण्डेले बताउनुभयो । दुर्घटना र विपद् जस्तो मानवीय संवेदनासँग प्रत्यक्ष जोडिएको कार्यमा आवश्यक जुनसुकै साधन श्रोतको व्यवस्थापनका लागि प्रदेश सरकार अभिभावकीय भूमिका निर्वाह गर्ने र स्थानीय निकायसँग सहकार्यका लागि सदैव तयार रहेको पाण्डकेको भनाइ थियो । सवारी चाप धेरै र गाउँगाउँमा सडकको पहुँच पुगेकोले सवारी दुर्घटना बढिरहेकाले न्यूनीकरणका लागि सबै निकायबिच समन्वय हुनुपर्ने प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताउनुभयो । साथै उहाँले यस्ता अभ्यासले घटनाबारे समुदायलाई सचेतना प्रवाह र समयमै घटना नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...