सिरहामा रासायनिक मलको पर्याप्त मौज्दात

Published on

काठमाडौं । यस वर्ष जिल्लाका किसानले धान रोपाइँको समय रासायनिक मलको अभाव झेल्नु नपर्ने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानसँग पर्याप्त मौज्दात मल भएकाले सिरहाका किसानलाई समस्या नहुने भएको हो । जिल्लामा आवश्यक रासायनिक मल तीन किस्तामा वितरण भइरहेको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएको छ । बाँकी मल आउने क्रम जारी रहेकाले अभाव नहुने कार्यालयका प्रमुख दीपकराज पौडेलले जानकारी दिनुभयो । यसअघि कम्पनीले बजार मागअनुसार मल ल्याउन नसक्दा किसानले अभाव झेल्नुपरेको उहाँको भनाइ छ ।

प्रमुख पौडेलका अनुसार सिरहामा करिब ६३ हजार नौ सय ६८ हेक्टर जमिन खेतीयोग्य रहेको छ । बजारको माग अनुसार नै रासायनिक मलको आयात भइरहेकाले मौज्दात रहेको मल वितरण भइरहेको उहाँले जानकारी दिनुभयो । रासायनिक मलको सबैभन्दा धेरै माग असारमा हुने भन्दै मागअनुसारको थप मल आइरहेकाले अभाव नहुने उहाँले बताउनुभयो । “हामीले असार सुरुदेखि पहिलो चरणको सात सय मेट्रिकटन रासायनिक मल वितरण गरिसकेका छाँ। अहिले दोस्रो चरणको आठ सय मेट्रिकटन वितरण भइरहेको छ । तेस्रो चरणमा यही असार २२ गतेसम्म वितरण हुन्छ”, प्रमुख पौडेले भन्नुभयो, “यसरी सबै किसानलाई आवश्यकताका आधारमा मल वितरण गरिने हुँदा ढुक्क हुनलाई म आग्रह गर्दछु ।” युरिया, डिएपी, पोटासलगायत रासायनिक मल कम्पनीसँग प्रयाप्त मौज्दात रहेको उहाँको भनाइ छ ।

जिल्लाका किसानका लागि पालिकाले तोकेका कृषि सहकारी संस्थामार्फत मल वितरण हुँदै आएको छ । सम्बन्धित निकायले पहुँचका आधारमा सिफारिस गर्ने हुनाले वास्तविक किसान मल पाउनबाट छुटेको हुनसक्ने भन्दै पौडेलले भन्नुभयो, “कतिपय किसानले मलखाद नपाएको गुनासो आएको छ । किस्तामा मल वितरण गर्नुपरेकाले उहाँहरुको पालो अब क्रमशः आउने छ ।” जिल्लामा कृषि सामग्री केन्द्रसँगै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि रासायनिक मल वितरण गरिरहेको छ । कृषि ज्ञान केन्द्रले आवश्यकता अनुसार पालिकालाई रासायनिक मलको कोटा निर्धारण गर्ने र पालिकाले सोहीअनुसार पत्र पठाएपछि मल प्रदान गरिने पौडेलले जानकारी दिनुभयो । गत वर्षभन्दा यसवर्ष धेरै मल आयात भएकाले मल अभाव नहुने उहाँको विश्वास छ । रासायनिक मलले गोठमलभन्दा तुरुन्त काम गर्ने, लागत कम लाग्ने, उत्पादन र उत्पादकत्व बढाउने किसानको भनाइ छ । रासस

ताजा समाचार

मोतीविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले...

अनावश्यक खर्च बढाएको आरोप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका...

होलीले तान्यो चीनका फोटोग्राफर

काठमाडौँ । हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ...

कार्यसम्पादन मूल्याङ्कनमा प्रथम मेरिङ्देन गाउँपालिका

काठमाडौँ । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको...