तीर्थयात्रीको उपचारका लागि गोसाइँकुण्डमा चिकित्सक टोली

Published on

काठमाडौं । रसुवाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली त्यसतर्फ गएको छ ।

बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाडौँको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि चिकित्सकसहित आठ जनाको समूह गोसाइँकुण्ड गएको हो । सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले डा।सुशान हुमागाईको नेतृत्वमा आठ जनाको टोली गोसाइँकुण्ड प्रस्थान गरेको जानकारी दिनुभयो । डा।हुमागाइँसँगै डा।अन्जिला थापा, डा।सावित्रा थापा, डा।सूर्यप्रकाश जोशी, डा।रेसिका श्रेष्ठ, मेडिकल विद्यार्थी जगत भट्ट, पोष्ट सहायक प्रकाश खत्री र सङ्घका प्रतिनिधि श्रीराम खत्री गोसाइँकुण्ड जानुभएको छ ।

उक्त समूहले १० दिन गोसाइँकुण्ड क्षेत्रमा सेवा गर्नेछ । “उक्त टोलीले गोसाइँकुण्ड जाने भक्तजनलाई बाटोमा समेत स्वास्थ्य सेवा प्रदान गर्ने र गोसाइँकुण्ड पुगेर एकादशीदेखि पूर्णिमासम्म स्वास्थ्य जाँच गर्नेछ”, प्रमुख कार्यकारी अधिकृत बस्यालले भन्नुभयो । सङ्घले सन् १९९७ देखि गोसाइँकुण्डमा डाक्टरको समूह पठाएर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सङ्घका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिनुभयो । सङ्घले गोसाइँकुण्ड गएका तीर्थयात्रीलाई निः शुल्क औषधि उपचार र स्वास्थ्य सेवा प्रदान गर्ने अध्यक्ष पराजुलीको भनाइ छ । समुद्र सतहदेखि चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा एकादशीदेखि भाद्र शुक्ल पूर्णिमासम्म मेला लाग्ने गर्दछ । उक्त मेलामा देश तथा विदेशबाट हजारौँ तीर्थयात्री कुण्डमा दर्शन गर्न पुग्ने गरेका छन् । गोसाइँकुण्डमा हरेक वर्ष गङ्गादशहरा र जनैपूर्णिमा गरी वर्षको दुई पटक मेला लाग्ने गर्दछ । रासस

ताजा समाचार

मोतीविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले...

अनावश्यक खर्च बढाएको आरोप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका...

होलीले तान्यो चीनका फोटोग्राफर

काठमाडौँ । हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ...

कार्यसम्पादन मूल्याङ्कनमा प्रथम मेरिङ्देन गाउँपालिका

काठमाडौँ । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको...