फुटपाथमा राखिएका अव्यवस्थित बजारले पैदल यात्रुलाई सास्ती

Published on

काठमाडौं । जनकपुरधाम, मधेश प्रदेशको राजधानी मात्र नभई सांस्कृतिक, धार्मिक र व्यापारिक केन्द्रको रूपमा पनि परिचित छ । तर यो सहरको व्यस्त बजार क्षेत्र अहिले पैदलयात्रीहरूका लागि ठूलो समस्याको विषय बन्दै गएको छ । उपमहानगरपालिकाका मुख्य सडकका फुटपाथहरूमा व्यापारिक संरचनाहरूले गर्दा पैदलयात्रीहरू सडकमा हिँड्न बाध्य भएका छन् । यसले सहरको सौन्दर्य मात्र होइन, जनकपुरधाम आउने पर्यटक तथा सर्वसाधारणको सुरक्षामा पनि खलल पुर्याइरहेको छ ।

जनकपुरधामको अव्यवस्थित वातावरण देखेर यहाँ आउने पर्यटकहरु जनकपुरधामबाट चाँडोभन्दा चाँडो निस्कन रुचाउँछन् । र यहाँ आउने पर्यटक जनकपुरधामलाई किन व्यवस्थित गर्न सकिएन भन्दै प्रश्न गर्दै ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सहरसँगै वर्तमान मधेश प्रदेशको राजधानी हुँदा पनि जनकपुरधामलाई व्यवस्थित गर्न नसक्नु उपमहानगरपालिकाको ठूलो कमजोरी हो । बेला बखत उपमहानगरपालिकाले फटपाथ व्यापारीलाई हटाउने समेत गरेको छ । तर ती व्यापारी मौका देखेर पुनः फुटपाथमा बजार लगाउने गर्छन् । अझै दसैँ सुरु हुनु अगावैदेखि छठ पर्व सम्पन्न नभएसम्म जनकपुरधामका मुख्य सडक फुटपाथ बजार र बजारमा बिक्रीका लागि राखिएका सामानबाट निस्केका फोहोरले भरिएका हुन्छन् ।

जस्तै जानकी मन्दिर वरपरका फुटपाथ बजार, अस्पतालदेखि रामनन्द चौकसम्मका सडक पेटी र सडकहरु र पेठिया बजारका फुटपाथ व्यापारी तथा त्यहाँका स्थायी व्यापारीले पनि सधैँ सडक ओगटेरै आफ्ना पसलका सामान बिछ्याएर राखेका हुन्छन् । त्यहाँ पनि उपमहानगरपालिकाले चेतावनी दिँदै आए पनि व्यापारीहरुले अटेर गरेको उपमहानरपालिकाका उपप्रमुख किशोरी साहको भनाइ छ । उहाँ भन्नुहुन्छ, “बेला बखत उपमहानगरले व्यापारीहरुलाई चेतावनी दिएकै हुन्छ, अनुगमनमा पनि गएका हुन्छौ, व्यापारीहरुले मानेका छैनन् यसमा पालिकाले ठोस कदम चाल्न आवश्यक छ ।”

अव्यवस्थित फुटपाथ र व्यापारिक अतिक्रमण
जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गतका मुख्य बजार क्षेत्रहरू, जस्तैः जानकी मन्दिर वरपरका सडक पेटी, रामानन्द चोक, जनक चौक जस्ता स्थानहरूमा फुटपाथको अवस्था अत्यन्तै दयनीय देखिन्छ । यी स्थानमा पैदलयात्रीहरूका लागि सुरक्षित रुपमा हिँड्नुपर्ने फुटपाथ व्यापारीहरूले अतिक्रमण गरेका छन् । पसलधाराहरूले आफ्नो सामान र पसलका संरचनाहरू फुटपाथमा राख्दा हिँड्ने ठाउँ सधैंभरि अवरुद्ध हुन्छ । केही स्थानहरूमा फुटपाथ नै नभएझैं देखिन्छ, जसले गर्दा पैदलयात्रीले सडकमा हिँड्नुपर्ने अवस्था आउँछ ।

व्यवस्थित नबन्दै गरेको फुटपाथको मुख्य कारण साना तथा ठूला व्यापारीहरूको अतिक्रमण र उपमहानगरपालिका तथा प्रशासनको कमजोर अनुगमन हो । फुटपाथमा पसल राख्दा व्यापारीहरूको व्यापारमा वृद्धि हुन सक्छ, तर यसले ट्राफिक समस्या र पैदलयात्रीको सुरक्षामा गम्भीर असर पुर्याएको छ ।

फुटपाथ अतिक्रमणले गर्दा पैदलयात्रीहरू सडकको किनारैबाट वा बिचैमा हिँड्न बाध्य हुन्छन् । यसले सडक दुर्घटनाको जोखिम अझ बढाएको छ । सहरमा सवारीसाधनको चाप तीव्र रुपमा बढ्दै जाँदा पैदलयात्रीको सुरक्षामा अझ चुनौती थपिएको छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूका लागि यो समस्या निकै जटिल बनेको छ । फुटपाथ अव्यवस्थित हुँदा जनकपुरधामका विद्यार्थीहरू विद्यालय जान तथा दैनिक जीवनका अन्य गतिविधिहरू गर्न गाह्रो भएको बताउँछन् । “फुटपाथ भरिभराउ हुँदा सडकमा हिँड्नुपर्ने बाध्यता छ,” जसले गर्दा सवारी साधानको चाप बढ्ने र दुर्घटनाको जोखिम समेत बढ्ने सम्भावना हुन्छ ।

धनुषा ट्राफिक कार्यालयका प्रमुख हरिबहादुर ओलीका अनुसार विगतभन्दा धेरै व्यवस्थित भएको छ, त्यसमा पनि नगर प्रहरीले फुटपाथ व्यवस्थापनलाई मध्येनजर गर्ने हो भने ट्रफिक व्यवस्थापन अझैं राम्रो हुने सम्भावना छ, चाडपर्व लक्षित विभिन्न चौक चौराहामा जनशक्ति खटाएका छौं जसले सवारी साधन र सर्वसाधारण समेतलाई राहत भएको छ उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “सडक पेटी फुटपाथ व्यापारीले ओगटेपछि सडक व्यवस्थापनमा चुनौती पक्कै पनि बढ्छ नै त्यसकारण उपमहानगरले फुटपाथ बजारलाई व्यवस्थित बनाउने हो भने ट्राफिक व्यवस्थापन थप सुधार गर्न सकिन्छ ।”

स्थानीय सरकारको प्रयास र चुनौती
जनकपुरधाम उपमहानगरपालिकाले पटक–पटक फुटपाथ व्यवस्थापनको प्रयास गरेको भए पनि सफल हुन सकेको छैन । बजार क्षेत्रमा अतिक्रमण हटाउन केही प्रयासहरू गरिएका छन्, तर प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । व्यापारीहरूको ठूलो दबाबका कारण फुटपाथ खाली गराउने अभियानहरू दीर्घकालीन रूपमा टिक्न सकेका छैनन् ।

जनकपुरधाम उपमहानगरपालिकाका अनुसार अतिक्रमण हटाउने अभियान चलाएका थियौं तर व्यवसायीहरूले बारम्बार अतिक्रमण दोहो¥याउँछन् । उनीहरूलाई सचेत गराएर मात्र समस्या समाधान हुँदैन, कडा नीति र निरन्तर अनुगमनको आवश्यकता छ ।

दीर्घकालीन समाधानको खाँचो
फुटपाथ अतिक्रमणको समस्या समाधानका लागि स्थानीय प्रशासन, व्यापारीहरू र सर्वसाधारणबिच सहकार्यको खाँचो छ । फुटपाथलाई व्यवस्थित र सुरक्षित बनाउन निम्न कदमहरू आवश्यक देखिन्छन् । फुटपाथमा पसल राख्ने तथा अवैध रूपमा अतिक्रमण गर्नेहरूविरुद्ध कडा कानुनी कारबाही गर्नुपर्छ । फुटपाथलाई व्यवस्थित राख्न नियमित अनुगमन र कारबाहीको आवश्यकता छ । फुटपाथ व्यवस्थित बनाउन व्यापारीहरूलाई जनचेतना प्रदान गर्नुपर्छ ।

सार्वजनिक सम्पत्तिको महत्त्व र सर्वसाधारणको अधिकारबारे व्यापारीहरूलाई बुझाउन पहल गर्नुपर्छ । सहरको मुख्य फुटपाथहरूको संरचनात्मक सुधार गर्नुपर्छ । फुटपाथलाई फराकिलो र सहज हिँड्न मिल्ने बनाउन स्थानीय सरकारले लगानी गर्नुपर्छ । पैदलयात्रीहरूको सुरक्षाका लागि सर्वसाधारणको सक्रियता पनि जरुरी छ । स्थानीय बासिन्दाहरूले पनि आफ्नो भूमिका बुझेर उपमहानगरपालिकाको फुटपाथ व्यवस्थापन योजनामा साथ दिनुपर्छ ।

उपमहानगरपालिकाको प्रभावकारी अनुगमन र व्यापारीहरूको सहयोग बिना यो समस्या समाधान हुन सक्दैन । दीर्घकालीन योजना र जनचेतनाका कार्यक्रमहरूले मात्र सहरलाई व्यवस्थित र पैदलयात्रीमैत्री बनाउन मद्दत पुग्नेछ । जनकपुरधामको सहरी व्यवस्थापन सुधार गर्न अब आवश्यक नीतिगत परिवर्तन र कडा कार्यान्वयनको आवश्यकता रहेको देखिन्छ ।

ताजा समाचार

नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने

काठमाण्डौँ । नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ...

टिनका टहराबाट मुक्त भए वेदकोटका पौरखी मुक्त कमैया

काठमाण्डौँ । वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै...

गौशाला धर्मशाला विवाद : ६ सदस्यीय अध्ययन समिति गठन

काठमाण्डौँ । संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विषयमा यथार्थता अध्ययन...

अफगानिस्तानमा विस्फोट : तीन जना बालबालिकाको मृत्यु, तीन घाइते

काठमाण्डौँ । पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विस्पोट हुँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै...