अमेरिकाको टेक्सस : नेपाल परेडमा झाँकी प्रदर्शन

Published on

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्दै आएका नेपाली समुदायले विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरेका छन् । नेपालीहरुले टेक्ससको संसदबाट फेब्रुअरी १६ लाई ‘नेपाल दिवस’ घोषणा भएको दिनको सम्मान गर्दै ‘नेपाल–डे परेड’ मा सो झाँकी प्रदर्शन गरिएको हो । नेपालीहरु नेपाली सांस्कृतिक भेष–भूषा, पहिरन र बाजागाजासहित उत्सवमा सहभागी भएका थिए । अमेरिकी राज्य टेक्ससको राजधानी शहर अस्टिनमा रहेको ग्रेटर अस्टिन नेपाली सोसाइटीको संयोजनमा आयोजित नेपाल–डे परेडमा करिब एक हजार नेपालीको सहभागिता थियो।

नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच), नेप्लिज सोसाइटी अफ टेक्सस (एनएसटी), नेपाल अमेरिका पत्रकार संघ (नेजा), लबक नेपाली सोसाइटी, वेको नेपाली समाज, सुदूर पश्चिम नेपाली समाज, लुम्बिनी नेपाली समाज, स्यानएण्टोनियो नेपाली एशोसियसनलगायतका दर्जनौं नेपाली संघसंस्थाहरुको सक्रिय सहभागिता रहेको बृहत ऱ्याली बृहत्तर अस्टिनको हुटो शहरमा आयोजना भएको थियो। हुटो सिटी हलबाट शुरु भएको ऱ्यालीमा हुटो सिटीका मेयर माइक स्नाइडरलगायत राउण्ड रक, यूलेसलगायत वरिपरिका सिटीका निर्वाचित प्रतिनिधिहरुको समेत सहभागिता थियो।

प्रवासमा बस्ने नेपालीहरुलाई खुसी हुन धेरै केही चाहिंदैन। कसैले नेपाली बोलिदियो, नेपाली भाषा, संस्कृति र चाडबाडका बारेमा बोलिदियो भने त खुसीको सीमा नै नहुने। झन् नेपालीहरुको सबभन्दा धेरै बसोबास भएको राज्य भनेर चिनिएको टेक्ससको संसदबाट नै फेब्रुअरी १६ लाई ‘नेपाल दिवस’ घोषणा भएको दिनमा नेपाल–डे परेडमा सहभागी हुन पाउनु भनेको नेपालीहरुको खुसी र गर्वको सबै सीमा र पर्खालहरु भत्कनु जस्तै हो । नेपाली भाषा, धर्म र संस्कृतिका लागि अग्रसर भइरहेका पहिलो पुस्ताका नेपालीहरुले नेपाली समुदायलाई थप सक्रिय र एकताबद्ध बनाउन धेरै परिश्रम गरेका छन् । त्यसैको नतिजा हो कि अहिले नेपालीहरुको बाहुल्य भएको सबै अमेरिकी शहरहरुमा नेपालीहरुको आफ्नै मन्दिर र सामुदायिक भवन समेत बनिरहेका छन् वा बन्ने क्रममा छन् ।

अस्टिनको नेपाली समुदायले गत वर्ष नै भव्य पशुपतिनाथ मन्दिर बनाएर अमेरिकामा नै पहिलो नेपालकै पशुपतिनाथ मन्दिरको झल्को दिने मन्दिर बनाएर नेपाली समुदायलाई ठूलो गुन लगाइसकेको छ। अहिले अस्टिनको पशुपतिनाथ मन्दिर नेपाली एवं अन्य हिन्दु धर्मालम्बीहरुका लागि तीर्थ नै भएको छ। अस्टिन, डालास र ह्युस्टनको नेपाली समुदायको विशेष सक्रियतामा टेक्ससको संसदले फेब्रुअरी १६ लाई नेपाल दिवस घोषणा गर्ने अवस्थासम्म ल्याइपुऱ्याएको हो। टेक्सस हाउस डिस्ट्रिक्ट १०५ का सांसद टेरी मेजाको अग्रसरतमा २०२३ को फेब्रुअरी १५ का दिन ‘नेपाल डे’ घोषणा हुन सकेको थियो। टेक्ससको संसद भवनमा ‘नेपाल–डे’ घोषणा हुँदा समेत प्रत्यक्षदर्शी भएकाले दुई वर्षअघिको त्यो खुसी हिजो हुटो सिटीको प्रांगणबाट शुरु भएको नेपालीहरुको ऐतिहासिक ऱ्यालीमा सहभागी हुँदा थपिएको खुसी शब्दमा बयान गर्न सकिन्न ।

नेपाली र अमेरिकी झण्डा बोकेका, दौरा सुरुवाल, ढाका टोपी, सारी चोलो सहित विभिन्न जातीय र र्सास्कृतिक भेष–भूषामा सजिएका नेपालीहरुले पन्चे बाजासहित विभिन्न नेपाली बाजामा जातीय र सांस्कृतिक नृत्यको प्रदर्शन गरेका थिए। ढिकी जाँतो, जीवित देवी कुमारी, गौतम बु्द्ध समेत ऱ्यालीको आकर्षणका रुपमा समावेश थिए। नेपाल डे परेडमा नेपालीहरुसँगै सहभागी हुटो सिटीका मेयर माइक स्नाइडरले नेपाली समुदायले स्थानीय व्यवसाय तथा सांस्कृतिक विविधता प्रवर्द्धनमा पुऱ्याएको योगदानको प्रशंसा गर्नुभयो ।

नेपाल–डे घोषणाका लागि अनवरत खटेका नेपाली अभियन्ता प्रभात दिक्षित, अस्टिन, ड्यालस, ह्युस्टन, लबक, वेको नेपाली समुदायका अगुवाहरुको बाक्लो उपस्थितिमा सम्पन्न नेपाल डे परेड पश्चात हुटोस्थित पशुपतिनाथ मन्दिर परिसरमा एक औपचारिक कार्यक्रम समेत आयोजना गरिएको थियो। एग्यान्सका अध्यक्ष विदुर खतिवडाको अध्यक्षतामा सम्पन्न नेपाल डे समारोहमा वक्ताहरुले नेपाल डेलाई सबै टेक्ससबासी नेपालीले उत्सवका रुपमा मनाउनुपर्ने धारणा राख्नुभयो । नेपाली भाषा र संस्कृतिको जगेर्नाका लागि सधैँ सक्रिय रहने प्रतिबद्धता नेपाली समुदायका अगुवाहरुले गर्नु भएको छ ।

ताजा समाचार

कोशी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन...

‘विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी छ’

काठमाडौँ । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी...

कालीगण्डकीमा भारतीय नागरिक मृत फेला

काठमाडौँ । कालीगण्डकीमा नुहाउने क्रममा बेपत्ता भएका भारतीय नागरिक आइतबार मृत फेला परेको छ...

ट्यांकरले ठक्कर दिँदा दुई स्कुले बालकको मृत्यु, स्थानीयद्वारा आगजनी

काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा साइकलमा...