श्रम र आप्रवासन समस्याबारे तीन मन्त्रालयको बैठक

Published on

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका तथा नेपाली आप्रवासनका क्षेत्रमा हाल देखिएका समस्याको समन्वयात्मक रुपमा समाधान गर्ने विषयमा बुधबार गृह, परराष्ट्र र श्रम तथा रोजगार मन्त्रीको संयुक्त बैठक सम्पन्न भएको छ। परराष्ट्र मन्त्रालयको अग्रसरतामा गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारी र ती मन्त्रालयका सचिव सम्मिलित सो बैठकमा नेपालको श्रम तथा आप्रवासन क्षेत्रलाई थप व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो। रोजगारी, अध्ययन तथा अन्य काम व्यवसायका सिलसिलामा नेपालीहरु कहाँ र कसरी पुगेका छन् भन्ने बारे परराष्ट्रलाई थाहा नहुने तर उनीहरुको उद्धार गर्नुपर्ने अवस्थामा मात्र थाहा हुने अवस्था रहेकाले यस विषयमा छलफल गर्न मन्त्री डा राणाले सो संयुक्त बैठक आह्वान गर्नुभएको थियो।

बैठकमा गृहमन्त्री लेखकले वैदेशिक रोजगार ऐन, २०६४ लाई अब समयसापेक्ष बनाई संशोधन गर्नुपर्ने सुझाव दिँदै वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्याको समाधानका लागि परराष्ट्र मन्त्रालयले समन्वयात्मक भूमिकाको खोजी गरेकामा सराहना गर्नुभयो। बैठकमा परराष्ट्र मन्त्री डा. राणाले भन्नुभयो, “नेपाल सरकारले प्रतिबन्ध लगाएपनि कतिपय मध्यपूर्वी देशमा घरेलु कामदारका रुपमा नेपाली महिला अवैध बाटोबाट पुगेकै छन्। कुवेतमा मात्र करिब ४८ हजार नेपाली महिला पुगेको भन्ने सुनिएको छ। भोलि कोही समस्यमा परे भने उनीहरुको सुरक्षा तथा उद्धारको काम चुनौतीपूर्ण हुनसक्छ। त्यसैले सरकारले यस्तो प्रतिबन्ध हटाउने विषयमा पनि अब सोच्नुपर्छ।” मन्त्री डा. राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका अव्यवहारिक नीति तथा कानुन हटाएर सहज बनाउनुपर्ने बताउँदै भन्नुभयो, “सरकारले कानुनी रुपमा रोकेपनि अवैध बाटोबाट नेपालीहरु आखिर पुगिरहेकै छन् भने यस्ता प्रावधानअब किन राख्ने ?”

उहाँले भिजिट भिसामा विदेश जान दिने प्रक्रियालाई व्यवहारिक रुपमा अनुगमन गर्न, श्रम स्वीकृति सम्बन्धी व्यवस्थालाई सहजीकरण गर्न तथा अप्ठेरोमा परेका नेपाली डायस्पोराको उद्धारबारे एक स्वीकृत नियम बनाउन पनि सुझाव दिनुभयो। श्रम तथा रोजगार मन्त्री भण्डारीले श्रम कूटनीति अहिलेको नेपालका लागि अति आवश्यक रहेको बताउँदै घरेलु कामदारको श्रम स्वीकृति सम्बन्धी नविकरण गरेर व्यवहारिक बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले हाल नेपालीहरु विश्वका ११० देशमा रोजगारीका लागि पुगेको जानकारी दिँदै घरेलु कामदारहरुलाई मध्यपूर्वी देशमा जान रोकिए पनि अवैध बाटोबाट गइरहेकाले सो सम्बन्धी प्रावधानमा अब पुनर्विचार गर्नुपर्ने बताउनुभयो। बैठकमा विविध कारणले संसारमा रहेका नेपालीलाई कुनै अप्ठेरो पर्यो र उद्धार गर्नुपर्ने अवस्था आयो भने त्यस्तो अवस्थामा परराष्ट्रमा रहेको सीमित स्रोत, साधन र जनशक्तिका कारण उद्धारको काम निकै कठिन हुँदै गएको विषयमा पनि छलफल भएको पराष्ट्रमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ।

spot_img

ताजा समाचार

गहवामाइको डोलीयात्राको अवसरमा रक्तदान

काठमाडौं । शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको...

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

काठमाडौं । ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्युनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक...

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं । काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण...

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले  जनप्रतिनिधिको काँधमा ठूलो दायित्व...