विद्यालय पुग्न ट्युबको सहारा

Published on

काठमाडौँ । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१, घाङसाङबँेसीका १४ वर्षीय राजु मगर र १० वर्षीय सुबिना मगरको विद्यालय जाने यात्रा जोखिमपूर्ण छ । उहाँहरू दिनहुँ जोखिम मोलेर ट्युबमार्फत सुनकोशी नदी तरेर विद्यालय जानुहुन्छ । सुनकोशी माध्यमिक विद्यालय, फिक्कल गाउँपालिका–४, सिन्धुलीमा अध्ययनरत यी दुई दाजुबहिनीले दैनिक रूपमा ट्युबको सहायताले सुनकोशी नदी पार गरेर विद्यालय धाउने गर्नुभएको छ । राजु कक्षा ६ र सुबिना कक्षा ४ मा अध्ययनरत हुनुहुन्छ । दुवै विद्यार्थी आफ्नो कक्षामा जेहेनदार मानिनुहुन्छ ।

गत असोजमा सुनकोशी नदीमा आएको बाढीले ओखलढुङ्गाको घाङसाङबेँसी र सिन्धुलीको खाङसाङ जोड्ने झोलुङ्गे पुल बगाएपछि उहाँहरू बाध्य भएर ट्युबको सहारामा नदी तर्ने गर्नुभएको हो । यहाँको झोलुङ्गे पुलबाट चम्पादेवी गाउँपालिका वडा १ र २ का बासिन्दाले कोशी पार गर्थे । छोराछोरीलाई ट्युबमार्फत नदी तरेर विद्यालय जानुपर्दा रातदिन चिन्ता लाग्ने गरेको राजु र सुबिनाकी आमा मुना थापामगरले बताउनुभयो । “छोराछोरी नदी तर्दा केही हुने हो कि भनेर सधैँ डर लाग्छ,” उहाँले भन्नुभयो, “विद्यालय जाँदा पारि नपुगुन्जेल हेरिरहन्छु, फर्किंदा पनि वारि नआइपुगुन्जेल चिन्ता लाग्छ ।”

राजु र सुबिनाका बुवा समीर थापामगर रोजगारीका लागि करिब नौ वर्षदेखि टर्कीमा हुनुहुन्छ । राजु र सुबिनाका हजुरबुवाले नदी तर्न गाडीको थोत्रो ट्युबको व्यवस्था गर्नुभएको हो । विद्यालयले उनीहरूका लागि गाउँपालिकामार्फत लाइफ ज्याकेटको व्यवस्था गरेको छ । ट्युबको विभिन्न ठाउँमा टालटुल गरिएको छ । राजु आफैँ सुनकोशीमा ट्युब तार्न सिपालु हुनुभएको उहाँकी आमा मुना थापामगरले बताउनुभयो । “केही समयअघिसम्म पैसा दिएर ट्युब तार्ने मान्छे राखेका थियौँ, अहिले छोरा आफैँले तार्छ,” मगर भन्नुहुन्छ । हिउँदमा जसोतसो घरबाट विद्यालय गए पनि बर्खाको समयमा नदी बढ्ने भएकाले विद्यालयनजिकै कोठा खोजेर छोराछोरीलाई पढाउने योजना रहेको मगरले बताउनुभयो । सम्बन्धित निकायमा डुङ्गाको व्यवस्था गर्न र पुल पुनः निर्माणको माग गर्दा पनि व्यवस्था नभएको मगरले गुनासो गर्नुभयो ।

गाउँपालिकाले पुल पुनर्निर्माणको पहल गर्ने प्रतिबद्धता जनाए पनि समस्या समाधान हुन सकेको छैन । सुनकोशीको बाढीले पुल बगाएको विषयमा सम्बन्धित निकायमा जानकारी गराइएको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताउनुभयो तर तत्काल समस्या समाधानको कुनै सङ्केत नभएको अध्यक्ष केसीको भनाइ छ । “पुल बाढीले बगाएपछि विद्यार्थी जोखिम मोलेर विद्यालय जान बाध्य छन् । यसलाई सिन्धुलीको फिक्कल गाउँपालिकासँग समन्वय गरेर भरपर्दो र सुरक्षित उपाय अपनाइने छ,” अध्यक्ष केसीले बताउनुभयो । घाङसाङबेँसीमा स्थायी रूपमा पाँच घरपरिवारको बसोवास छ । उनीहरू पनि खाद्यान्नलगायत अन्य घरायसी सामग्री खरिदका लागि खाङसाङ साथै घुर्मी बजार जाँदा यही ट्युब प्रयोग गर्ने गर्छन् । गाउँदेखि करिब डेढ घण्टा टाढा जलकेनीमा सुनकोशी नदी पार गर्न झोलुङ्गे पुल भए पनि घुमाउरो र समय लाग्ने भएकाले यहाँका स्थानीयले ट्युब प्रयोग गरेका छन् ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...