सुदूरपश्चिममा ‘भिटौला’ पर्व सुरू

Published on

काठमाडौँ । चैत महिना सुरू भएसँगै बैतडीसहित सुदूरपश्चिमभरि भिटौला पर्व सुरू भएको छ । भाइबहिनीको प्रेम पर्वका रूपमा रहेको भिटौला खास गरेर बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षका तर्फबाट दाजुभाइले भेट्ने चलनको रूपमा प्रचलित छ । आजदेखि चेलीबेटीलाई भेट्ने दिन सुरू हुन्छ । चैत महिना खडेरीको महिना पनि हो । यो महिनामा भण्डारण गरेर राखेको खाद्यान्न पनि सकिएर जाने हुनाले चेलीबेटीलाई माइतीले खानेकुरा लगेर भेट्ने चलन रहिआएको छ ।

पाटन नगपालिका–१० का जानकी भट्टका अनुसार अहिले भिटौला पर्वको महत्त्व झन बढ्दै गएको छ । पुरानो पुस्तादेखि युवापुस्तासम्म यो संस्कृतिको निरन्तरता भइरहेको छ । होली पर्वको महत्त्वजस्तै सुदूरपश्चिममा यो पर्वको चलन निरन्तरता भइरहेको छ । “अरू संस्कृति बरू छोड्दै गएको पाइन्छ”, उहाँले भन्नुभयो, “तर यो पर्वमा भाइबहिनीको भेट नभए खल्लो महसुस गर्ने गर्छन् ।” परम्परागत कथनअनुसार भारतको कुमाउमा एक दाजुले आफ्नी बहिनीलाई चैत महिनामा भेट्ने बताएको र पछि व्यस्तताका कारण भेट्न नपाएको सत्य कथासँग यो भिटौलो अर्थात् चेलीबेटीलाई भेट्ने चलन जोडिएको छ । भिटौलोमा माइतीले मीठो खानेकुरा र लुगाकपडा छोरीबहिनीको घरमा पुर्‍याउने चलन छ । माइतीबाट आएको कोसेलीलाई प्रेमपूर्वक गाउँ छिमेकमा बाँड्ने चलन रहेको आलिताल गाउँपालिका–८ को जोगराज भट्ट बताउनुभयो ।

पहिले मानिस खेतीपाती र घरधन्दामा व्यस्त हुने, सञ्चारको साधन नहुँदा वर्षभरि सञ्चो बिसञ्चोसमेत थाहा हुँदैन थियो । वसन्त ऋतुमा पराई घरमा छोरीचेलीलाई माइतीको सम्झना बढी आउने हुँदा यो चलन बसेको संस्कृतका जानकार मुरलीधर अवस्थी बताउँछन् । भिटौलोमा स्थानीय परम्पराअनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल र क्षमताअनुसार लुगा र गहनासमेत दिने चलन छ । पछिल्लो समय बजारबाट फलफूल, मिठाई, गुड लगेर दिने चलन छ । भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने चलन छ । दाजुभाइ नभएका परिवारमा नजिकमा गएर भेट्ने चलन रहेको छ । चैतमा चेलीबेटीलाई दान दिएमा राम्रो फल मिल्ने जनविश्वासका कारण पनि यसको महत्त्व अझै गाउँघरतिर घटेको छैन । यो महिनाभर एकरात दिदीबहिनीको घरमा बास बस्ने चलन रहेको छ । यसले दाजुभाइ र दिदीबहिनीको प्रेम सम्बन्धलाई झन नजिक र आत्मीय बनाउने विश्वास रहिआएको छ ।

spot_img

ताजा समाचार

गहवामाइको डोलीयात्राको अवसरमा रक्तदान

काठमाडौं । शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको...

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

काठमाडौं । ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्युनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक...

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं । काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण...

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले  जनप्रतिनिधिको काँधमा ठूलो दायित्व...