सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारबाट जनतामा धेरै अपेक्षा रहेको पाइन्छ । घरदैलोमै भेटिने भएकाले पनि स्थानीय सरकारसित जनताका अपेक्षा धेरै हुने गरेका छन् । कतिपय स्थानीय सरकारबीच कामका विषयमा प्रतिस्पर्धा पनि भएको पाइन्छ । सधै भेटिने भएकाले जनताले स्थानीय सरकारका हरेक गतिविधि नजिकबाट नियालिरहेका हुन्छन् । स्थानीय सरकार भएको हुनाले यसलाई जनताले झनै नजिकबाट हेरिरहेका हुन्छन् । संविधानले स्थानीय तहलाई अधिकार दिए पनि बजेट अभावले कार्य गर्न समस्या भइरहेको भीमदत्त नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रविन्द्रप्रसाद देवकोटा बताउँछन् । आन्तरिक स्रोतको कमी र संघीय सरकारले कम बजेट दिँदा नागरिकका आकांक्षा पूरा गर्न निकै गाह्रो परेको देवकोटा बताउनुहुन्छ । स्थानीय तह सञ्चालन गर्दा हालसम्मको अनुभव, स्थानीय सरकारको दायित्व, चुनौती र अवसरलगायतका विषयमा केन्द्रित रहेर वडाध्यक्ष रविन्द्रप्रसाद देवकोटासँग एएनएनकर्मी अरुण डगौराले गरेको कुराकानीको सार :
कार्यभार सम्हालेपछि अहिलेसम्म कुन–कुन योजनाहरु सफल बनाउनुभयो ? र अहिले कस्ता योजनाहरु कार्यान्व्यनमा छन् ?
योजनाहरु त हामीले सबै क्लस्टरवाइज हिसाबले गरिरहेका छौँ । जस्तो वन वातावरण तथा विपद् व्यवस्थापनदेखि लिएर शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार अनि संस्थागत विकास जस्ता कुराहरुलाई हामीले अगाडि नै बढाएका छौँ । कार्यान्व्यनमा भन्दा सीमान्तकृत समुदाय, लोपुन्मख जातिहरु, पूर्वाधार विकासतर्फ, स्वास्थ्यतर्फ, शिक्षातर्फ अनि त्यसैगरी वातावरण संरक्षणका कुराहरु त्यस्तै इको पार्क संरक्षण संवर्द्धनका कुराहरु त्यस्तै फोहोर व्यवस्थापन, ढल निकास अनि तटबन्धका कुराहरुमा हाम्रा कार्यक्रमहरु अघि बढिरहेका छन् । प्रदेश सरकार र सङ्घीय सरकारबाट आएका योजनाहरु लागु भइरहेका छन् । अनि एडिबीका कार्यकम्रहरु पनि लागु भइरहेको अवस्था छ ।
अहिले बौद्धिक पलायन भइरहेको अवस्थामा युवाहरुलाई स्वदेशमै केहि गर्न आतुर बनाउन के गर्नुभएको छ ?
अब हामीले ठूलो कुरा गर्नु भन्दा पनि वडाले स्थानीय सरकारले धेरै कुरा त गर्न कुरो त हुँदैन । रातारात युवालाई रोक्न सक्छु भन्यो भने त्यो सामान्य गफै जस्तो हुन्छ । त्यो चाँहि हुँदैन । तर के हो भन्दा यो त राज्यले नै सोच्नु पर्ने कुरा हो । नीतिगत सवालका कुराहरु, सम्भावनाका कुराहरु र उत्पादनसँग जोड्ने कुराहरु छन् । यो विषयमा जाने कुरा एउटा विषय रहला । तर स्थानीय सरकार र वडाले गर्ने कुराहरुमा चाँहि, सामान्य तरिकाको वडामा बजेट के नै हुन्छ र ? अब यो स्थानीय सरकार सञ्चालनमा ऐनले दिएको व्यवस्था छ । सिग्नेचर गर्ने कुराहरुदेखि लिएर संरक्षण संवद्र्धन गर्ने कुराहरु अनि सार्वजनिक सम्पत्ति, सार्वजनिक जग्गाहरु लगायत यस्ता यस्ता काममा सामान्य कुराहरु जनताको नजिकको सरकार भएको नाताले जनाताको विभिन्न सवालहरु सुन्ने संस्थाको रुपमा स्थानीय सरकार अथवा वडा रहेको छ । त्यसैगरी वडाले क्रमिक रुपमा रोजगारीसँग जोड्ने कुराहरुमा उद्योग नै खोलेर जोड्ने कुराहरु त त्यस्तै छ । त्यो अहिले सम्भव छैन भनौँ । ओकालत गर्न सक्ने कुराहरु त्यो हुन सक्दैन । त्यसकारणले त्यहाँ चाँहि चुनौती नै छ हामीलाई ।
सामाजिक विकृतिहरु रोक्न कस्ता कार्यक्रमहरु ल्यानुभएको छ ?
यो चाँहि विशेष सवाल हो । यसमा चाँहि ठोस योजना बनाएर क्याम्पेनहरु सञ्चालन गर्न कुरामा जोड चाँहि दिन सकिन्छ । अहिले बढ्दो मात्रामा शैक्षिक बेरोजगार बढी भएको अवस्था छ । र अर्को देखासिखी । प्रविधिको सदुपयोग भन्दा पनि प्रविधिको दुरुपयोग नै भन्नपर्छ । अथवा केहि कुरामा सदुपयोग होला केहिमा दुरुपयोग । कहिँ सकारात्मक त के नकारात्मक कुराहरु । यसले गर्दा अलिकति समुदाय लेबलमा सामाजिक सञ्जालका माध्यमबाट युवाहरुमा वितृष्णा फैलाउने कुरा देखिइरहेको छ । युवाले युवालाई नै देखेर गलत सिकिरहेको, गरिरहेको र फैलाइरहेको छ । एकतर्फ सामाजिक सञ्जालले गर्दा वितृष्णा फैलिरहेको छ र त्यसले नकारात्मक प्रभाव बाहिर परिरहेको छ भने अर्कोतर्फ युवाहरु बेरोजगार हुने अथवा देखासिखीमा लाग्ने गर्दा प्रत्येक घरको मान्छे विदेश गएको अवस्था छ । बालबच्चाहरु उचित किसिमको हेरचाह नपाउने त्यो कारणले बच्चाहरु फ्रस्टेट भएर लागुऔषधमा फसिरहेको समस्या देखिरहेको छ । जटिल समस्या हो यो । यसैगरी यो लागुऔषधको लागि विभिन्न विद्यालयहरुमा गएर क्याम्पेनहरु सञ्चालन गर्ने कुराहरु अनि सामुदायीक प्रहरी त्यस्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको सहयोगमा यस्ता अभियानहरु सञ्चालन गरिरहेका छौँ । विद्यालय स्तरमा अनि टोल स्तरमा सञ्चालन गरेका छौँ । अब कार्यक्रम नै लागु गर्नु भन्दा पनि हामी क्याम्पेनको रुपमा जान चाहन्छौँ । त्यही तरिकाले हामीले काम गरिरहेको अवस्था पनि छ । यसरी चाँहि जानु पर्छ भन्ने कुरा हो अहिले ।
वडाभित्र शैक्षिक सुधार र स्वास्थ्य सुधार गर्न के–कस्ता कार्यक्रमहरु लागु गर्नुभएको छ ?
नेपालमा जुन ढङ्गको शिक्षा नीति हुनुपर्ने हो त्यो ढङ्गको नीति छैन । अहिले पनि हामीले २०२८ सालको नीति अवलम्बन गरेर त्यसरी काम गरिरहेको अवस्था छ । त्यसैमा टेकेर शिक्षा नीति छ । सामान्य प्रयोगात्मक पनि छैन । अलिकति उत्पादनसँग जोडिनु पर्यो, सिपसँग जोडिनु पर्यो, प्रविधिमैत्री हुुनु पर्यो । गरिब किसानदेखि लिएर प्रत्येक व्यक्तिका छोराछारी डक्टर नै बन्नुपर्ने, इन्जिनियर नै बन्नुपर्ने, पाइलट नै बन्नुपर्ने अवस्थाको सोचाइ राखेर अगाडि बढिरहेको अवस्था छ । बच्चाको क्षमता के गर्न सक्ने छ ? बच्चाको क्षमतालाई हेरेर त्यो बच्चाले के गर्नसक्छ ? उसको क्षमता के हो ? क्षमताको आडमा जुन किसिमको शिक्षा दिने व्यवस्था छ त्यसलाई सरकारले बनाउन सकेको अवस्था छैन । यसमा शिक्षा नीतिलाई पनि परिमार्जन गरेर प्रविधिमैत्री र प्रयोगात्मक बनाउन सक्यो भने यसले शिक्षामा ठूलो फड्को मार्न सक्ला भन्ने हो । सामान्य तरिकाले शिक्षाका लागि पूर्वाधार बनाउँदैमा, राम्रो जुत्ता लगाउँदैमा, झोला बोक्दैमा, राम्रो ड्रेस र टाइ लगाउँदैमा शिक्षामा एक्कासी परिवर्तन भो भन्ने छैन । त्यसरी होइन । प्रयोगात्मक बनाउनु पर्यो र प्रयोगात्मक हुनुपर्यो साथै उत्पादनमुखी काममा जोडिनु पर्यो । आजका युवाहरु जुन पढिरहेका छन् । उनीहरु भालि गएर डिग्री चाँहि हातमा हुने तर अन्तिममा शैक्षिक बेरोजगार हुने र युरोपतिर अथवा खाडी मुलुकतिर जानुपर्ने बाध्यात्मक परिस्थिति जुन छ यसले ठूलो समस्या निम्त्याउन सक्छ भन्ने कुरा हो ।
अब स्वास्थ्यको क्षेत्रमा भन्नु पर्दा स्वास्थ्य सुधारका लागि पनि विभिन्न समयमा आँखा शिविरहरु सञ्चालनमा आएका हुन्छन् । त्यसपछि आएर महाकाली प्रादेशिक अस्पताल हाम्रै वडामा नै पर्छ । त्यहाँ हामीले पटक पटक समन्व्य गरेर गरिब, विपन्न, अति विपन्न अनि सीमान्तकृत समुदायका जुन व्यक्तिहरु हुनुहुन्छ उहाँहरुले उपचारका लागि खर्च नै पाउनुहुन्न । त्यसका लागि हामीले वडामार्फत सहजीकरण गर्छौँ । सकेसम्म निःशुल्क रुपमा उपचार गराउने वातावरणका लागि पहल गरिरहेका हुन्छौँ । त्यसैगरी आएर हाम्रो वडामा दुई–दुई वटा आधारभूत स्वास्थ्य चौकीहरु छ । त्यहाँबाट पनि सेवाहरु पटक–पटक सञ्चालन गरिरहेका छौँ । डेंगु मलेरियाबाट पनि हाम्रो वडा जोखिमयक्त वडा हो । किनभने बजारको सम्पूर्ण ढलहरु आएर १८ नम्बरमा आएर खुलेको छ । उता बजार क्षेत्रतिर बन्द छ अनि यता आएर खुलेको छ । त्यसले गर्दा विभिन्न किसिमका महामारी फैलिएको छ । यहाँका झाडापखालादेखि लिएर डेंगु, मलेरिया लगाएत इन्सिफ्लाइटिस जस्ता महामारीहरु लाग्न सक्ने प्रबल सम्भावना छ । त्यस्तै कोभिड त झनै विश्वव्यापी समस्या नै भै हाल्यो । बस्ती र टोलस्तरमा पटक–पटक सचेतना कार्यक्रमहरु सञ्चालन गरिरहेको अवस्था छ ।
किसानलाई कृषितर्फ अग्रसर बनाउन वडाको योजना के रहेको छ ?
कृषितर्फ पनि सम्भावना नभएको त हैन । हाम्रो वडामा विशेषगरी बाढीको प्रकोप भने बढीजसो हुन्छ । हाम्रो वडाको मात्र नभएर योे पुरै तराईकै समस्या पनि हो । बाढीलाई प्रमुख समस्याका रुपमा लिन सकिन्छ । किसानहरुले उत्पादन गर्नका लागि कृषिमा काम गर्नुस् भन्दा पनि उहाँहरुको त्यति खासै फोकस भएको देखिदैन । हामीले प्रवर्द्धन गर्यौँ अब युवाहरुले जानु पर्यो, लाग्नु पर्यो भन्छौँ तर उहाँहरुले त्यो विषयमा अलिकति पनि यो काम हामीले गर्नुपर्छ, उत्पादनमा लाग्नुपर्छ भन्ने कुरा सोच्नु हुँदैन । तर जो युवाहरु सोच्नुहुन्छ र काम गर्न खोज्नुहुन्छ र काममा लाग्नुहुन्छ उहाँहरुलाई उत्पादन भैसकेपछाडि भारतबाट आउने विषदीयुक्त तरकारीहरुले गर्दा बजारभाउ पाउनुहुँदैन । हाम्रो नेपालको भन्दा भारतको उत्पादनको मूल्य अलि कम छ । किनभने त्यहाँ त अनुदानका कुराहरु छन् । हाम्रो राज्यले पनि त्यो कुरा त गर्न सकिरहेको अवस्था छैन । जो वास्तविक किसान हो उसले चाँहि प्राप्त गर्न सकिरहेको अवस्था छैन । त्यसकारणले यहाँबाट उत्पादन भएका वस्तुहरु बजारसम्म ल्याउँदा हाम्रो चाँहि अलिकति महङ्गो पर्ने ।
जस्तैः १ किलो काउली उत्पादन गर्न १० रुपियाँ लागत मूल्य लाग्छ भने उनीहरुले चाँहि ५ रुपियाँमा नै बजारमा पुर्याइदिन्छन् । त्यसो भएको हुनाले भारतीय किसानहरुको तरकारीले यहाँका किसानहरुको उत्पादनमा बाधा पुर्याइरहेको छ । त्यसले एकदमै अप्ठ्यारो अवस्था सिर्जना पारेको छ । त्यसकारणले गर्दा कृषि कार्यमा सफल हुनसकेको त छैन तर सामान्य अब हामीले गर्ने कुरा टनेल फार्मिङ त्यसैगरी बिउवितरण र च्याउ खेती गर्ने गरेका छौँ । यो सामान्य कुरा त भैराख्ने नै भयो । यस्ता काम त हामीले गरिराखेकै छौँ । तर दिगो रुपमा व्यवसायीक तरिकाले किसानहरु जान सक्ने अवस्था छैन । यो ठूलो चुनौती पनि हो । यहाँबाट उत्पादन गरेका कुरालाई भारतीय बजारले डाइरेक्ट हिट गरिरहेको छ अनि कहाँबाट अगाडि बढ्न सक्छ । अन्तिममा यहाँको किसानले केहि पाउँदैन । जति लगानी गरेको छ त्यो लगानी पनि डुब्छ । ऋणमा पर्छ । अनि अन्ततः के गर्नुपर्छ त ? उसले पासपोर्ट बनाउनु पर्छ । अनि खाडी मुलुक जानुपर्ने हो कि भारततिर लाग्नु पर्ने हो ? त्यस्तो बाध्यता छ । अहिले ठूलो चुनौती चाँहि हो । यसका लागि अलिकति स्थानीय तहबाट नै यो समस्याको समाधान पूर्ण रुपमा नहुन सक्छ । यसका लागि ठोस योजनाहरु बनाउने कुराहरु छ ।
योजना बनाउदा यहाँबाट बनाएर प्रदेश सरकार त्यसैगरी सङ्घीय सरकारले पनि यो विषयमा गहन तरिकाले विचार गर्नुपर्ने छ । यो हाम्रो सीमा नीति नै हामी यताबाट तरकारी निर्यात गर्न खोज्छौँ भने लखनउ कता कता गएर यो निर्यात गर्न सक्दैनौँ । आयातको लागि खुल्ला तरिकाले लिएर आएको छ । त्यो तरकारी चेकजाँच गर्नका लागि अत्तरियामा थियो कि के हो ? त्यहाँको पनि अहिले त्यति खासै सक्रिय चाँहि छैन । त्यसले गर्दा डाइरेक्ट रुपमा तरकारीहरु आउने अनि त्यो किसान लैजाने त्यस्तो अवस्था छ । किसानहरु मार्कामा पर्ने अवस्था छ । कृषि क्षेत्रमा पनि चुनौती छ । तर हामीले कृषि क्षेत्रमा चुनौतीलाई त देखेका छौँ । त्यो समस्याको समाधान गर्न वडाले मात्र गरेर भ्याउने अवस्था छैन । मैले यो चाँहि यथार्थ कुरा गरेको हो ।
वडामा निर्वाचित भएपछि सामाजिक काम गर्दा कस्ता अवसर र चुनौतीहरु आएका छन् ?
म हरेक किसिमका चुनौतीहरुलाई अवसरको रुपमा लिनुपर्छ भन्ने मान्यता राख्छु । चुनौतीहरु त आउने नै हुन्छन् । सिमित बजेट हुन्छ । विविध समस्याहरु हुन्छन् । समस्याहरु त असिमित हुन्छन् तर बजेट सिमित हुन्छ । सिमित बजेटका बाबजुद पनि सहि ठाउँमा विभिन्न कलस्टरहरु, आर्थिक विकास, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, सत्तागत विकास यसरी सम्पूर्ण क्षेत्रलाई छुनु पर्यो । हामीले बजेट बनाउँदा त त्यसरी बनाएका हुन्छौँ ।
हाम्रो वडा निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्र पनि हो । कृषि क्षेत्र, आवासीय क्षेत्र, भूमिहिन सुकुम्बासी हाम्रै वडामा छ । आधा बजार हाम्रो वडामा पर्छ । धेरै चुनौतीहरु छ । ती चुनौतीमा काम गर्न नसकिने अवस्था पनि छ । निकुञ्ज नजिक भएको कारणले विभिन्न समयमा जङ्गली जनावरहरुको आतङ्क पनि भैरहेको हुन्छ । हात्ती, गैँडा, बाघ, बाँदर, बँदेलहरुले बस्तीमै आएर समस्या गराउने अवस्था छ । यो एउटा विषयको चुनौती हो भने बजारबाट आएको फोहोर पनि छ । उत्पादनसँग जोडिने कुरा अनि बेरोजगारीका कुरा यस्ता धेरै छन् । जनतासँग प्रत्येक्ष रुपमा टचमा गई राख्ने र यथार्थ कुरा उहाँहरुलाई पनि बताइदिनुपर्छ । अनावश्यक तरिकाले म जे पनि गर्न सक्छु भन्नेर रातारात कायापलट गर्न सक्छु भन्ने कुरो हुँदैन । विकास भनेको बहसको रुपमा लिन सकिन्छ । आवश्यकता अनुसार निरन्तर रुपमा चलिरहने प्रक्रिया हो विकास भनेको । त्यसकारणले चुनौतीहरु पनि छन् ।
अवसरलाई पनि कसरी लिन सकिन्छ भने जनताको सानो समस्यालाई पनि सुन्ने सरकारको रुपमा वडा सरकारलाई लिन सकिन्छ । सानो समस्या पनि यति सम्म कि पारिवारिक समस्या पनि वडामा आउँछ । वडामा आइसकेपछि समाधान गर्न पाउँदा अभिभावकत्व निर्वाह गरेको महसुस हुन्छ । यसरी काम गर्दा हामीजस्ता युवाहरु विदेशतिर जानुभएको छ । रहरले होइन कि करले जानुपर्ने वातावरण सिर्जना भएको छ । त्यसैले अब हामीले यो समाजलाई निर्माण गर्नुपर्छ । यो समाजलाई बनाऊँ । हामीले सिर्जना गर्नुपर्छ भनेर लागि परेका छौँ । हामीले यसलाई चुनौती र अवसर दुबैको रुपमा पनि लिन सकिन्छ । यहाँका विभिन्न सवालहरु उठान गर्ने कुराहरु, एड्भोकेसी गर्ने कुराहरु गर्न पाउँदा खुसी पनि लाग्छ ।
वडाको आगामी योजना के हो ?
यो वडालाई हामीले समृद्ध वडा बनाउन चाहन्छौँ । सुखी वडा बनाउन चाहन्छौँ । जनताले हरेक किसिमको काम घरबाट नै गर्न सकुन् भन्ने त्यो किसिमको प्रविधि अगाडि चलाउने भन्ने कुरा छ । हामी दाबाका साथ भन्न सक्छौँ कि सुदूरपश्चिमभरी डिजिटल रुपमा सञ्चालन हुने हाम्रो १८ नम्बर वडा पहिलो वडा हो । त्यसकारण हामी त्यसमा सफल भएका छौँ । डिजिटल माध्यमबाट प्रत्येक व्यक्तिले हरेक सेवा घरबाट नै लिन सकोस् भन्ने त्यो योजनाका साथ अगाडि बढिरहेका छौँ । नेपाल सरकारको सफ्टवेयर सँग–सँगै अर्को एउटा सफ्टवेयर प्रयोग गरेर सकेसम्म मोबाइलबाट नै सेवा लिनुपर्छ भन्ने उद्देश्य छ ।
यद्यपि हामीले त्यहाँसम्म पुग्न सकेका छैनौँ । तर सुरुवात चाँहि गरेका छौँ । अब हामी सुचनाहरु सङ्कलन गर्ने प्रक्रियामा छौँ । वडाबासीका सम्पूर्ण सूचनाहरु जस्तै नागरिकता बोकिराख्नु पर्ने, अन्य डकुमेन्टहरु बोकिराख्नु पर्ने झन्झट हटाएर वडामा गएर आफ्नो नाम भन्ने बितिक्कै सबै कागजहरु देखाउने सिस्टम ल्याउने तयारीमा छौँ । कागजी प्रक्रिया गर्ने समिक्षालाई अलि कम गर्नुपर्छ भनेर लागि रहेको अवस्था छ ।
अनि त्यस्तै आएर वडालाई सफा सुग्घर बनाउने योजना पनि छ । हाम्रो १८ नम्बर वडामा दुईवटा स्थानीय पार्क छ; भीम बाटिका र इको पार्क । त्यसमा ऐतिहासिक तरिकाले पर्यटन विकास होस् भनेर लगानी गरिरहेका छौँ । त्यसैगरी सालघारी छ । जसको नाम अहिले आएर इको पार्क राखिएको छ । बजारको छेउमै रहेको उक्त पार्क अहिले हामी हराभरा देख्न सक्छौँ । त्यहाँ विभिन्न बोट बिरुवाहरु देख्न सक्छौँ । इको पार्कमा बाँदरको आतङ्क रहेको छ । त्यसलाई न्यूनीकरण गर्नका लागि विभिन्न सङ्घ संस्थाहरुसँग समन्व्य गरेर बोट बिरुवाहरु रोपिएको छ । बोट बिरुवामा फलफुलका बोटहरु जस्तै आँप, अनार, अम्बा लगायत अन्य बिरुवाहरु रोपिएको छ । विभिन्न किसिमका चराचुरुङ्गीका आवाजहरु र पहिलेको भन्दा फरक माहोल पाउन सक्छौँ ।
अनि अर्को कुरा मुख्य समस्या भनेको सुकुम्बासी भूमि, मजदुरहरुको समस्याको जर्को छ । त्यसलाई समाधान गर्न हाम्रो वडाको तर्फबाट पहल गरिरहेका छौँ । उहाँहरु यत्रो समयसम्म बसिरहनु भएको छ । उहाँहरुलाई अलिकति जग्गाको मालिक बनाउने सन्दर्भमा लभिङ गरिरहेका छौँ । अहिले भूमि आयोग पनि गठन भएको छ । यो विषयमा सरकारले पनि अलिकति सोच्ला । त्यसको लागि वडाका तर्फबाट गर्ने काममा हामी योजनाका साथ अगाडि बढिरहेका छौँ ।
त्यसैगरी सार्वजनिक सम्पत्ति संरक्षण र संवद्र्धन अनि स्वच्छ र वातावरण मैत्री बनाउन र हरेक कुरालाई राम्रो बनाउनका लागि जस्तै अव्यवस्थित ढलहरुलाई व्यवस्थित बनाउनका लागि सङ्घ, प्रदेश र अन्य दात्री निकायसँग समन्व्य गर्ने कुरामा अगाडि बढिरहेका छौँ । हाम्रो वडामा बाटाघाटाहरु पनि धेरै छन् । सकेसम्म ती बाटाहरुमा ढलसहितको कालोपत्रे बनाउने कुराहरुमा जोड दिइरहेका छौँ । हाम्रो बजेट १ करोड १२÷१३ लाख रुपियाँ यस्तै कति छ । त्यो भित्रबाट कार्यालय सञ्चालनदेखि लिएर सबै कुराहरु त्यसैबाट गर्नुपर्ने हुन्छ । यहाँ ६४ वटा टोलहरु छन् । यदि हिसाब लगायो भने १.५÷२ लाख रुपियाँ एउटा टोलमा पर्छ । अब त्यसले चाँहि के विकास हुन्छ भन्ने ठूलो चुनौती छ । हामीले योजना बनाएका छौँ र त्यो योजनामा पहल पनि गरिरहेका छौँ ।
सम्भवतः एडिभीको कार्यक्रम पनि हाम्रो वडामा लागु भइरहेको छ । २२ वटा योजना हुन एडिभीका त्यसैले म एडिभीको टिमलाई पनि विषेश धन्यवाद ! दिन चाहन्छु । नगरपालिकाको प्रमुख, उपप्रमुख लगायत सम्पूर्ण टिमलाई धन्यवाद ! दिन चाहन्छु । एडिभीका २२ वटा योजनामा अहिले हाम्रो वडामा १६ वटा योजनाहरु देखिएको छ । १८ नम्बर वडाका सम्पूर्ण जनताका लागि त्यसलाई उपलब्धिको रुपमा लिनुपर्छ । यसरी हामी निरन्तर रुपमा विभिन्न दात्री निकायहरुसँग समन्व्य गरेर प्रत्येक साना—साना कामलाई पनि एकदम गम्भिरता पूर्वक सम्पन्न गर्नका लागि ठोस योजनाका साथ अगाडि बढिरहेका छौँ ।
अन्तिमका के भन्न चाहनुहुन्छ ?
अन्तिममा म यो मिडियामार्फत १८ नम्बर वडाबासी लगायत सम्पूर्ण भीमदत्त नगरबासीलाई के अनुरोध गर्दछु भने हाम्रो भीमदत्तलाई सुखी र समृद्ध भीमदत्तनगर बनाउनका लागि सफा, हराभरा र ग्रिन सिटीको अवधारणालाई अगाडि बढाउनका लागि प्रत्येक कुरामा निरन्तर रुपमा गम्भिरता पूर्वक लागौँ । वडाका सम्पूर्ण सवालहरु एकै पटक पुरा गर्न नसकिने अवस्था होला तर क्रमिक रुपमा निरन्तर चलिरहने छ । त्यो विषयमा हामी गम्भिर तरिकाले अगाडि बढिरहेका छौँ । आमाबुवा, दाजुभाइ, दिदीबहिनीलाई हरेक क्षेत्र, विकासको कार्यमा यहाँहरुको पनि साँझेदारीका लागि अनुरोध गर्न चाहन्छु । यहाँहरुको सहयोगले मात्रै हरेक विकास सम्भव हुन सक्छ । अपनत्व हुनुपर्छ । सकारात्मक सोचाइ हुनुपर्छ । त्यही सकारात्मक सोचाइका साथ हामीले अगाडि बढ्न सक्यौँ भने स्वभाविक रुपमा हामीले चाहेको, हामीले परिकल्पना गरेको वडा, नगर, प्रदेश र राष्ट्र हामीेले प्राप्त गर्न सक्छौँ भनि म सम्पूर्णलाई भन्न चाहन्छु । विकासमा हातेमालो गर्नका लागि सम्पूर्ण आम जनसमुदायलाई अनुरोध गर्न चाहन्छु । प्रदेश र सङ्घीय सरकारका जुन माननीय ज्यूहरु हुनुहुन्छ र हाम्रै क्षेत्रबाट निर्वाचित भएको माननीय रमेश लेखक ज्यू पनि हुनुहुन्छ । उहाँलाई पनि म अनुरोध गर्न चाहन्छु । १८ नम्बर वडामा रहेका जति पनि सवालहरु छन् । जे जति पनि सम्भावनाहरु छन् । ती सबै सम्भावनाहरुलाई मैले भनेको छु । त्यसकारण माननीय ज्यूहरुमार्फत पनि यी कुराहरु अगाडि बढुन् । हाम्रो वडाले पनि व्यवस्थित विकासको अनुभूति प्राप्त गर्न सकोस् । यहाँका जनताले पनि हाम्रो सरकार छ भन्ने किसिमको अनुभूति प्राप्त गर्न सकुन् भन्ने कुराहरु यहाँको मिडियामार्फत सम्पूर्ण आम जनसमुदाय र माननीय ज्यूहरुमा यी कुराहरु राख्न चाहन्छु ।