पत्रकार महासङ्घ गण्डकीले बुझायो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

Published on

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले पत्रकारको योजनाबद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ध्यानाकर्षणपत्र बुझाएको छ। महासङ्घ केन्द्रीय समितिको आह्वानमा सोमबार नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले मुख्यमन्त्री पाण्डेलाई सो पत्र बुझाउनभएको हो । पत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले आन्दोलनका क्रममा जनधनको जुन क्षति भएको छ, सत्यतथ्य पत्ता लगाएर राज्यको तर्फबाट गर्नुपर्ने सहयोग तथा दोषीलाई कानुनी कठघरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले निरंकुश राजतन्त्रको बेला जनतामा सचेतना जगाउन नेपालको मिडिया क्षेत्रले विगतमा जुन भूमिका खेलेको थियो, त्यो अझै पनि खेल्ने छ भन्ने विश्वास गर्दै मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र प्रेस स्वतन्त्रताको पक्षमा सबैजना यसैगरी लाग्नुपर्ने बताउनुभयो । उहाँले एक दुई वटा घटनाबाट विचलित नहुन पनि मिडिया क्षेत्रलाई आश्वस्त पार्नुभयो । उहाँले प्रदेश सरकार मात्र नभई सङ्घ सरकार पनि नेपाली नागरिकको जिउज्यानको रक्षा गर्ने र स्वतन्त्र प्रेसको लागि कुनै पनि पक्ष सँग सम्झौता नगर्ने बताउनुभयो ।

ध्यानाकर्षणपत्र वाचन गर्दै महासङ्घ गण्डकी अध्यक्ष पौडेलले ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्‍याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन महासङ्घ जोडदार माग गर्नुभयो ।

साथै, विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्नलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि मुख्यमन्त्रीमार्फत नेपाल सरकारसमक्ष माग गर्नुभयो । एक साताभित्रै माग सम्बोधन हुने विश्वसनीय आधार नभए महासङ्घ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुनेतर्फ ध्यानाकर्षण गराइएको छ । मुख्यमन्त्री निवास सहिद चोकमा पत्र बुझाउने क्रममा नागरिक समाज तथा अधिकारकर्मीहरूको पनि उल्लेख्य उपस्थिति थियो ।

यसैगरी नेपाल पत्रकार महासङ्घ कास्कीले केन्द्रिय अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई कास्की महासङ्घ अध्यक्ष माधव बरालले ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो । महासङ्घको विरोध कार्यक्रमअन्तर्गत सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाइएको हो । शुक्रबार काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शनका क्रममा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको थियो । अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुङ्गामुढा गरी क्षति पुर्‍याइएको, कान्तिपुर टेलिभिजनको भवनमा ढुङ्गामुढा गरी क्षति पुर्‍याइएको, हिमालयन टेलिभिजनको सवारीसाधनमा तोडफोड गरिएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको, फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको छ ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...