अटिजम भएका बालबालिकामैत्री विद्यालय सञ्चालन गरिने

Published on

काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाले अटिजम भएका बालबालिकामैत्री विद्यालय सञ्चालन गर्ने भएको छ । पछिल्लो समय बालबालिकामा मस्तिष्क अपाङ्गताको अवस्था मानिने अटिजमको समस्या धेरै देखिन थालेपछि उपमहानगरपालिकाले अटिजम बालबालिकामैत्री विद्यालय सञ्चालन गर्ने भएको हो । विश्व अटिजम जनचेतना दिवसको अवसरमा आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मीनाकुमारी लामाले उपमहानगरले हेटौँडा–११ थानाभर्याड्डमा विद्यालय सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

उपमहानगरले महिलाहरूका लागि भवन निर्माणको काम गर्नका लागि डिपीसी समेत भैसकेको जग्गामा विद्यालय सञ्चालनको तयारी थालेको हो । पछिल्लो समय अटिजम भएका बालबालिकाका अभिभावकले निजी क्षेत्रबाट सञ्चालनभएका विद्यालयबाट चर्को शुल्क असुलेको गुनासो आएपछि सबै खालका परिवारलाई लक्षित गर्दै उपमहानगरले विद्यालय सञ्चालन गर्ने भएको हो । जनचेतना दिवसको सन्दर्भमा हेटौँडा–४ मा रहेको सेन्टर फर अटिजममा भएको अभिभावकसँगको कार्यक्रममा नगर प्रमुख लामाले अटिजमका विषयमा समयमै सचेत नहुँदा समस्या आउने गरेको बताउनुभयो । सेन्टर फर अटिजममा उपमहानगरपालिका क्षेत्रका ३२ जना बालबालिका अध्ययन गर्दै आउनुभएको छ ।

सेन्टर फरका उपाध्यक्ष शेखर थपलियाले अभिभावले बालबालिकाको अवस्था नबुझ्दा समस्या भइरहेको बताउनुभयो । उहाँले अहिले मन्टेश्वरी, निजी क्षेत्रका नर्सरी कक्षा, अन्य विद्यालयमा अटिजम भएका बालिकालिकालाई अभिभाकले पठाउँदा भोलीका दिनमा समस्या हुने उहाँको भनाई छ । अटिजम भएका बच्चाले आँखा नजुधाउने, एकान्त मन पराउने, आफ्नै सुरमा एक्लै खेल्ने, घुलमिल हुन नचाहने, अरूको कुरा बुझ्न नसक्ने, बोलेर अभिव्यक्त गर्न नसक्ने हुन्छ । उनीहरू बोले पनि नबुझिने र सामान्य काम गर्न समेत अरूको मद्दत चाहिने हुन्छ । अटिजम भएका बालबालिकालाई विशेष हेरचाहसँगै शारीरिक थेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, बाल मनोपरामर्शसँगै र बाल रोग विशेषज्ञको नियमित सेवा र परामर्श आवश्यक पर्छ ।

जिनमा परिवर्तन आएर स्नायु प्रणालीको सहज रूपमा विकास नहुनु, गर्भावस्थामा जथाभाबी औषधी खानु, प्रसवको बेलामा शिशुलाई आघात पर्नु, जन्मिदा दिमागमा अक्सिजनको मात्रा कम हुँदा स्वध्यान केन्द्रित मानसिक अवस्थाको समस्या आउने गरेको हेटौँडा अस्पतालका बालरोग विशेषज्ञ डाक्टर हरिबहादुर खड्काले जानकारी दिनुभयो । राष्ट्रिय जनगणना–२०७८ अनुसार बागमती प्रदेशको १३ जिल्लामा एक हजार २५३ जनामा अटिजम भएको तथ्याङ्क छ । प्रदेशमा अटिजम भएका सबैभन्दा बढी काठमाडौँमा ४९५ र चितवनमा ११३ जना रहेको छ । ललितपुरमा ८३, भक्तपुरमा ७८, मकवानपुरमा ७७, काभ्रेपलान्चोकमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुली जिल्लामा ६५–६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३, रामेछापमा २८ जना, रसुवामा १७ जना अटिजम भएको पाइएको छ ।

जनगणना अनुसार नेपालमा दुई हजार ६२८ जना महिलासहित चार हजार ८८६ जनामा अटिजम भएको छ । भौगोलिक अवस्था अनुसार हिमालमा २१० महिलासहित ३२८ जना, पहाडमा एक हजार १५० जना महिलासहित दुई हजार २२९ जना र मधेसमा एक हजार २६८ महिलासहित दुई २२९ जनामा अटिजम भएको तथ्याङ्क छ ।

ताजा समाचार

चाइना साउदर्नले काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने

काठमाडौँ । चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने...

लगानीको वातावरण अनुकूल बनाउन नीतिगत सुधारलाई निरन्तरताः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीको वातावरणलाई थप अनुकूल बनाउन सरकारले...

तीनै तहको सरकारले सुशासन प्रवर्धनमा ध्यान दिनुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीयता कार्यान्वयनका क्रममा तीनै तहको सरकारले...

४७ वर्षपछि जग्गा प्राप्ति सम्बन्धी नयाँ कानून बन्दै

काठमाडौँ । कानूनी र नीतिगत सुधारलाई प्राथमिकतामा राखेर गृहमन्त्रीको जिम्मेवारीमा रहनु भएका गृहमन्त्री रमेश...