सहज बन्दै गाउँबस्ती एकै पटक चार पुल निर्माण

Published on

काठमाडौँ । तम्घास–सिमलटारी सडकमा पुल नहुँदा खोलामा आएको बाढीमा तर्न नसकेपछि मालिका गाउँपालिका–७ का कृष्णबहादुर थापाको समयमै उपचार भएन र उहाँको २०७८ असारमा ज्यान गयो । त्यति बेला कोभिड सङ्क्रमणको त्राही त्राही थियो । घरमा बस्दै गर्दा कोभिडका कारण थापालाई अक्सिजन कम भयो । बाढी पहिरोले सबै बाटाघाटा बन्द थिए । मुख्य सडकको घमिर खोलामा पुल नभएकाले एम्बुलेन्स आउनजान पाएन । तम्घास–सिमलटारी सडकको चार स्थानमा लामो समयमै पुल निर्माण नहुँदा गाडी फस्ने, पल्टिने, आवतजावत गर्न नसकेर बर्सौं यहाँका बासिन्दाले सास्ती खेप्नुपरेको थियो । समयमै पुल निर्माण नहुँदा यहाँ राजनीतिक दलका नेताहरूले निकै आलोचना पनि खेपेका थिए । अहिले चार वटा पक्की पुल एकै चोटि निर्माण भएका छन् । जसले गुल्मीपश्चिमका पाँच स्थानीय तहसँगै प्युठानका बासिन्दालाई समेत सहज भएको मालिका गाउँपालिका–६ का पूर्ववडाध्यक्ष शोभाखर गिरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुल नहुँदा समयमै उपचार नपाएर धेरै मानिस गुमायौँ । सबैले सास्ती झेले । कालोपत्रे सडकसँगै पुलहरू निर्माण भएकाले अहिले सहज भएको छ ।” मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीबाट चार पुल निर्माण भएका छन् । २०७८ माघमा फूलबारी खोला पुल तीन करोड ३२ लाख ६८ हजार ६३६ रुपियाँ र घमिरखोला पुल तीन करोड १३ लाख ८४ हजार २३४ रुपियाँमा निर्माण सम्झौता भएको थियो । त्यसै गरी २०७९ साल जेठ २७ गते हुलाके खोला पुल पाँच करोड ७९ लाख ५३ हजार ३३५ रुपियाँ र धनार्जी खोला पुल सात करोड ४८ हजार ९९३ रुपियाँमा सम्झौता भएको मदन भण्डारी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर होमनाथ पौडेलले जानकारी दिनुभयो ।

तम्घास–सिमलटारी सडक कालोपत्रे भएपछि इस्मा, मालिका, धुर्कोट र मदानेसहित प्युठानका स्थानीयहरूलाई समेत यात्रामा लाग्ने समय घटेको छ । सडक निर्माणपछि यहाँ ससाना बजार विकास हुन थालेका छन् । छल्दी पनाहा, झरना, हुलाके, धनार्जी, चौरासी, राङ्गदल, फूलबारी र सिमलटारीलगायतका स्थानमा होटेल, ग्यारेज, फेन्सी, डेरी, तरकारी पसल तथा पशुपालनका काम भइरहेको इस्मा गाउँपालिका–६ का अगुवा कृषक कृष्ण घिमिरेले बताउनुभयो । उहाँले सयौँ मुरी धान, गहुँ, चामललगायतका खाद्यान्न घरनजिकैबाट बुटवल काठमाडौँ पठाउँदै आएको बताउनुभयो । इस्मा गाउँपालिका–५ का गङ्गा कुमालले आजकै अवस्था देखेर हुलाके खोलाको बगरमा १०/१२ वर्ष पहिले होटल सञ्चालन गर्नुभएको हो । होटलकै कमाइले अहिले पक्की घर र व्यवसाय बढाउँदै लैजानु भएको छ ।

उहाँले भन्नुभयो, “मैले होटल खोल्दा यो ठाउँमा केही थिएन । सडक पनि कच्चीबाट पक्की बन्यो, पुल पनि बने । सुरुमा बाँसले बारेको होटल पनि कमाएर पक्की बनाउन सफल भएको छु ।” आफ्नो क्षेत्रमा धेरै विकासका आयोजना रहे पनि पुल निर्माणले धेरै खुसी लागेकोे गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण विष्टले बताउनुभयो । उहाँले यी पुल समावेश गर्नभन्दा निर्माणका सास्ती हुँदा धेरै आलोचना भएकाले एकै चोटि निर्माण हुँदा जनतासँंगै आफूलाई पनि स्वाभाविक खुसी लागेको विष्टको भनाइ छ ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...