डम्मरी कुमारी बिस्ट, कञ्चनपुर १० भदौ । नेपालमा थुप्रै चाडपर्वहरु छन् । ति मध्ये हरितालिका तीज पनि विषेश गरि नारीहरुले मनाउने एउटा महतत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । यो पर्व विशेषगरी नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ ।
आध्धशक्ति भगवान शिवकी अर्धाङ्गिनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्यमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् । त्यो दिन यहि हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दु नारीहरुले यो पर्व मनाउँदै आएका छन् । हिन्दु धार्मीक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विषणुसँग गरिदिने बचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउँजङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पुरा भईसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन वर्त बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दीन भाद्र शुक्ल तृतीयाको दीन थियो । सोहि तिथिदेखि हिन्दु नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीज पर्वको रूपमा मनाउने चलन पौराणिक कालदेखि नै चल्दै आएको मानिन्छ । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफनो श्रीमानको साथमा उस्को घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ
यसरी आफू जन्मेको घर, आमा बुवा, भाईबहिनी इष्टमित्र र समाज चटक्क छोडी पराईघरमा जिवन बिताउदा आउने माइतीको यादलाई कमी गर्न एउटा अवसर को रूपमा तीज पर्वको महत्त्व रहेको छ । तीजमा महिलाहरुलाई मिठा मिठामिठा भोजनका परिकारहरू बनाएर खुवाउने नयाँ लुगा हरु दिने प्रचलन रहेको छ । तीजमा विवाहित महिलाहरू आफ्नो पतिको दी्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहित सुयोग्य वरको आशा राखी व्रत बस्छन् । हिन्दु महिलाहरुको महान पर्व तीजको पहिलो दिनलाई दर दिनको रूपमा लिएको पाइन्छ। विवाहित तथा अविवाहित महिलाले भोलिपल्ट निराहार व्रत बस्ने उदेश्यले यो दिन घरघरमा खासगरी दूध संकलन गरी मिष्ठान्न परिकार तयार गरी दर खाने प्रचलन रहेको छ । विशेष गरी महिलाहरुले यो दिन माछा मासु बाहेकको चोखो खाना खाएर भोलिपल्ट निराहार व्रत बस्ने गर्दछन् । दरको रूपमा विभिन्न प्रकारका मीठा मीठा परिकारहरु बनाएर दरको रूपमा खाने गरेको पाइन्छ । तर पछिल्लो समय सँगसँगै यो पर्व एक विकृतीको रूपमा चिनिन थालेको छ। आधुनिता सँगै यसमा खाने परिकारहरुमा पनी फरक आउन थालेको छ ।
पहिले रितिरिवाज र संस्कृति अनुसार मनाइने यो पर्व मनै रुहाँउने चेलिको वेदना पोख्ने चौतारी घर आँगन मा बसेर गीत बाट नै आफनो दुःखेसो पोख्ने गरी रमाइलो को साथ नाचगान गरी यो पर्व मनाउने गरिन्थ्यो । दरको रूपमा खिर तामा खाई विवाहित चेलीहरु माइत जाने र माइत जान नपाएका हरूको गुनासो यस्तै थुप्रै प्रकारका भावनायुक्तपलहरु सँग यो पर्व बित्दै जान्थ्यो तर पहिलेको तुलनामा अहिले केही कुरा पनी मिल्दैन। अहिलेका तीज गीतहरू पहिले जस्तो सान्दर्भिक र मन रुहाउँने खालको छैनन्।
पछिल्लो समयमा यस्ता तिजी गीतहरू बाहिरिए कि जुन संस्कृति ले पचाउन सकेको छैन। परिवार सँग बसेर गीत सुन्नु र भिडियो हेर्न समेत लाजमर्दो भइसक्यो । त्यस्तै तीजको दरलाई पनि विकृति को रूपमा लिएको पाइन्छ । दर खाने परम्परा लाई फेसन को रूपमा लिने गरेको विभिन्न होटल रेस्टरेन्टहरु पार्टी प्यालेस बुकिङ गरी महिनौँ दिन अगाडिबाट नैं संस्कृतिले पचाउनै नसक्ने गीतमा नाच्ने गरेको पनि देखि राखेको छौ । पहिले–पहिले तीजमा दरखाँदा गाउँघरका दिदीबहिनी, आफन्त तथा इष्टमित्र जम्मा भएर घरमा पकाइएका मिठा–मिठा परिकारहरु खाइन्थ्यो ।
पहिले त्यसरी खाने दर अहिले रेस्टुरेन्टमा रक्सी, वियर र मासुसँग खाएर मनाउने गरेको पाइन्छ । विदेशी संस्कृतिको नक्कल तथा अनुसरण गरी विदेशी फेसनलाई बढी जोड दिने गर्नाले नेपाली समाजले वर्षौं पिच्छे आफ्नो संस्कार र संस्कृति नकार्दै गइरहेको पाइन्छ । जुन विकृतिले गर्दा तीज जस्तो महान चाडलाई नकारात्मक प्रभाव पुग्दै गईरहेको छ । अहिलेको समयमा महिलाहरूको लागि महङ्गो गरगहना र महङ्गो साडी अनि रेस्टुरेनटहरु नै सबै भन्दा ठूलो भएको छ । बाहिरी देखावटीपनको लत लागेका नेपाली महिलाहरू फेशन कै रूपमा तीजलाई लिने गरेको देखिन्छ । अहिले समयले धेरै नेटो काट्यो, सहर बजार मा हामी सामिजिक सञ्जाल को युगमा छौँ ।
जताततै तडक भडक र देखासिकीको प्रभाव छ । धन हुनेले देखाउने धेरै अवसर पाएका छन् भने, नहुने ले पनि धेरै हेर्ने अवसर पाएका छन् भने कसैले त नसकेर पनि त्यस्तै तडक भडक गर्नुपर्ने बाध्यता पनि रहेकाे हुन्छ । नयाँ पुस्ता र हुने खाने देखाउन अग्रसर छन् भने, पुरानो पुस्ता हेर्नमा नै मख्ख छन् । अनि हूने र नहुने बीचको खाडल अझै धेरै बढेको छ । हुने खानेले समाजमा देखाउने प्रचलनले खर्च गर्न नसक्ने नेपालीहरुमा पर्ने प्रभावको बारेमा नेपाली समाजशास्त्री २ अर्थशास्त्रीहरूले अध्ययन र अनुसन्धान गर्ने विषय हो । याे विषय पनि कुनै न कुनै दिन नेपाली समाजमा उठ्ने छ र हाम्रो समाज पनि सकारात्मक दिशातर्फ उन्मुख हुने छ । सामाजिक र पारिवारिक सम्बन्ध कायम गर्न आफ्नो माइती साथीसँगीसँगको सम्बन्ध दिगो र सुमधुर राख्न, मनोरञ्जन गर्न, सुखदुःख साट्न धार्मीक र संस्कृतिक दृष्टिकोण आदिका हिसाबले तीज पर्वको नेपाली समाजमा ठूलो भूमिका छ । तर तीज यिनी कुरामा सीमित नहुँदा कतै यो विकृतिका रुपमा तीजले सामाजिक र पारिवारिक विभाजन र विसंगति त ल्याउने त होइन ? यस्ता कुरा अगाडि सर्न जान्छ त्यसैले यो कुरामा हामी सबै नेपाली सचेत हुनु जरुरी छ । अत, यस्ता थुप्रै प्रकारका विकृतिहरू छन् जसले तीज पर्वमा नकरात्मक प्रभाव पुर्याएकाे छ । विष्ट प्रशिक्षार्थी संचारकर्मी हुन् ।
तीज, देखासिकि र विकृति
Published on

