बाढीले बीपी राजमार्गको डाइभर्सन बगायो, वैकल्पिक मार्गमा यात्रुहरूको भीड

Published on

काठमाडौं, असोज २० – काभ्रेपलाञ्चोक खण्डअन्तर्गतको बीपी राजमार्गमा अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण अस्थायी डाइभर्सन सडक पूर्ण रूपमा बगाएको छ। यसले गर्दा उक्त मार्ग प्रयोग गर्ने यात्रुहरू लामो दूरीको वैकल्पिक बाटो हुँदै गन्तव्य पुग्न बाध्य भएका छन्।

डाइभर्सन बगाएपछि पूर्वी पहाडी र तराईका जिल्लामा आवतजावत गर्ने सवारी साधनहरू अब अरनिको राजमार्ग हुँदै दोलखा–रामेछाप–खुर्कोटको वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था आएको छ। दसैं मनाएर राजधानी फर्कने यात्रुहरू र राजधानीबाट छुट्टिएका यात्रुहरू दुबै प्रभावित बनेका छन्।

बीपी राजमार्गको डाइभर्सन अवरुद्ध भएपछि यात्रुहरूले करिब १०० किलोमिटर लामो वैकल्पिक घुमाउरो बाटो रोज्नुपर्ने बाध्यता छ। धुलिखेलदेखि चरिकोट हुँदै सिन्धुलीको खुर्कोटसम्मको यात्रा गर्दा झन्डै ६ घण्टा लाग्ने गरेको छ, जुन सामान्य अवस्थामा बीपी राजमार्ग हुँदै केवल ८७ किलोमिटर दूरीमा सकिन्थ्यो।

सडक डिभिजन भक्तपुरका सूचना अधिकारी इञ्जिनियर बिन्दु अधिकारीका अनुसार रोसी खोलाको बहाव उच्च भएकाले क्षतिको यथार्थ विवरण अझै प्राप्त हुन सकेको छैन। उहाँका अनुसार चौकीडाँडादेखि बर्खे खोलासम्मको झन्डै ३.४ किलोमिटर क्षेत्रमा डाइभर्सन बगाएको छ। खोलाको बहाव नघटेसम्म मर्मत सम्भव नहुने भएकाले तत्काल सडक सञ्चालन गर्न नसकिने बताइएको छ।

यात्रुहरूका लागि प्रयोगमा ल्याइएको अर्को वैकल्पिक मार्ग — सित्खा हुँदै सिन्दुरेटार, तेमाल, भकुण्डे — साना सवारी तथा फोरह्विलहरूका लागि मात्र उपयुक्त देखिएको छ। तर, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले भने उक्त कच्ची र साँघुरो सडकलाई सुरक्षित वैकल्पिक मार्गको रूपमा सिफारिस नगरेको जनाएको छ।

गत वर्ष पनि असोज दोस्रो साता परेको बाढीले बीपी राजमार्गको झन्डै २९ किलोमिटर सडकमा क्षति पुर्‍याएपछि तीन साता लगाएर डाइभर्सन निर्माण गरिएको थियो। तर, यसपटक बाढीले उक्त डाइभर्सन पुनः पूर्णरूपमा बगाएको छ।

सडक डिभिजनका इञ्जिनियर दुर्गा प्रसादका अनुसार कटुञ्जे र चारसयबेशी जस्ता स्थानहरूबाट उपकरण ल्याउन सक्ने अवस्था नरहेकाले चौकीडाँडाबाट नयाँ मार्गको अध्ययन भइरहेको छ।

ईलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख ईश्वर कार्कीले हाल अस्थायी डाइभर्सन बगेकाले साविक सडक खण्डबाट पैदल यात्रा गर्न पनि नसकिने जनाउनुभयो। उहाँले मङ्गलटार–तेमाल सडकमा पहिरो हटाउने काम भइरहेको र झोलुङ्गे पुल तरेर धुलिखेल जाने वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो।

सूचना अधिकारी बिन्दु अधिकारीका अनुसार बर्खे खोलादेखि चौकीडाँडासम्मको १४ स्थानमा डाइभर्सन सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ। विशेषगरी माम्ती खोला (४०० मिटर), माख्लो र तल्लो पिप्ले, डालाबेशी, कालढुङ्गा, बोक्सीकुना, चिउरीबास, नार्के, गिम्दीबेशी, चारसयबेशी, कटुञ्जेबेशी र चौकीडाँडा जस्ता स्थानहरूमा सयौं मिटर सडक बाढीले बगाएको छ। पिप्ले क्षेत्रमा आएको सुख्खा पहिरोले पनि करिब ३५० मिटर सडकमा क्षति पुर्‍याएको छ।

हाल बाढीको बहाव घट्ने प्रतीक्षामा रहेका सडक विभागका प्राविधिकहरू केही दिनमै डाइभर्सन पुनः निर्माण गरी सवारी सञ्चालनमा ल्याउने तयारीमा छन्।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...