काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ तिलबारीमा ढुङ्गा खसेर सडक अवरुद्ध भएको छ। आठराई त्रिवेणी र दोभानलाई जोड्ने कच्ची सडकखण्डमा मंगलबार बिहान ९ बजे ठूलो ढुङ्गा खसेपछि यातायात पूर्ण रूपमा ठप्प भएको हो।
सडक अबरुद्ध भएपछि आठराई त्रिवेणीदेखि दोभान आवतजावत गर्ने सवारीसाधन चल्न सकेका छैनन्। सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार, दुवैतर्फबाट सडक अवरुद्ध हुने गरी ढुङ्गा खसेकाले तत्काल सडक खुलाउने सम्भावना नभएको जनाएको छ।
ढुङ्गा हटाउने प्रयास जारी रहेको र त्यसका लागि गाउँपालिकासँग समन्वय भइरहेको प्रहरीको भनाइ छ। अवरुद्ध सडक खुलाउन आवश्यक मेसिन र जनशक्ति परिचालनको तयारी भइरहेको जनाइएको छ।

