काठमाडौं — नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सभापति शेरबहादुर देउवा अनुपस्थित रहँदा सम्पन्न भएको छ।
भदौ २४ गते जेनेरेशन जेन्जी आन्दोलनका क्रममा सभापति देउवामाथि कुटपिट र निवासमा आगजनी भएपछि उहाँ अझै सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन्।
बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको हो। भदौ २४ गते कार्यालयमा आगजनी भएको घटनापछि पहिलोपटक त्यही भवनको मर्मत गरिएको कोठामा बैठक बसाइएको कांग्रेसले जनाएको छ।
वरिष्ठ नेताहरूको उपस्थिति
बैठकमा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायत नेताहरूको सहभागिता रहेको थियो।
बैठकले असोज २६ गतेका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा तय गर्ने काम गरेको छ।
आन्दोलनपछिको मार्गचित्र तय गर्ने तयारी
कांग्रेस नेतृत्वका अनुसार, भदौ २३ र २४ गतेको आन्दोलनपछि पार्टीले अबको रणनीति कसरी तय गर्ने भन्नेबारे बैठकमा प्रारम्भिक छलफल भएको छ।
पार्टीलाई सशक्त विपक्षको भूमिकामा कसरी अघि बढाउने भन्ने विषयमा कार्यसमिति बैठकले निर्णय गर्ने तयारी भएको एक नेताले जानकारी दिएका छन्।

