लहानमा रोकिएको ओभरपास निर्माण तीन महिनापछि पुनः सुरु

Published on

काठमाडौं , कात्तिक २ — पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारको क्रममा लहान मुख्य चोकमा निर्माण भइरहेको ओभरपासको काम तीन महिनापछि पुनः सुरु भएको छ।

गत असारको अन्तिम सातादेखि रोकिएको निर्माण कार्य असोज २३ गतेदेखि फेरि सुरु गरिएको हो। ओभरपासका लागि ३५ मिटर गहिराइमा आवश्यक २६ वटा पाइल फाउन्डेसन निर्माण सकिए पनि अन्य संरचनाको ढिलाइले चोक क्षेत्र अस्तव्यस्त बनेको स्थानीयको गुनासो छ।

स्थानीय व्यवसायी डम्बर घिमिरे भन्छन्, “धुलो र हिलोले व्यापार गर्न गाह्रो भएको छ। सवारी आवागमन अस्तव्यस्त हुँदा जनजीवन प्रभावित छ।” सहिद स्मारक भत्काएर एकतर्फी डाइभर्सन व्यवस्था गरिए पनि दुर्घटना र स्वास्थ्य समस्या थपिएको छ।

निर्माण कार्य चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुप ले गर्दै आएको छ। कञ्चनपुर–कमला सडक विस्तार आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सरोजकुमार कोइरालाका अनुसार स्थानीय आन्दोलन, चाडपर्व र भारी वर्षाका कारण काम रोकिएको थियो।

उहाँले भन्नुभयो, “अन्डरपास, ओभरपास र आकाशे पुलको पाइल फाउन्डेसन नगरी अन्य काम अघि बढाउन नसकिने भएकाले ढिलाइ भएको हो।” साथै, सडक क्षेत्रभित्रका बिजुलीका पोल समयमै नहटाइनु अर्को बाधक भएको उहाँको भनाइ छ।

लहानमा निर्माण भइरहेको ओभरपासको लम्बाइ ५५० मिटर, ग्राउन्ड क्लियरेन्स ६ मिटर रहनेछ, र उचाइ अन्तरराष्ट्रिय मापदण्डअनुसार हुने जनाइएको छ।

सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमला नदीसम्मको ८६.८३ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्न रु १५ अर्ब ६६ करोडको लागतमा सन् २०२० मा ठेक्का सम्झौता भएको हो।

हालसम्म ११२ वटा कल्भर्ट र २५ वटा पुलको ढलान सम्पन्न भइसकेको छ भने १२ वटा पुल सवारीका लागि सञ्चालनमा आइसकेका छन्। तर, ठेक्का अवधि सकिन दुई महिना बाँकी रहँदा परियोजनाको समग्र प्रगति केवल ६७ प्रतिशत मात्र रहेको निर्माण कम्पनीले जनाएको छ।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...