८० दिनपछि संखुवासभाको भोटखोला सडकसँग पुनः जोडियो

Published on

काठमाडौं , कात्तिक २ — संखुवासभाको दुर्गम भोटखोला गाउँपालिका ८० दिनपछि पुनः सडकसँग जोडिएको छ। लगातारको पहिरोका कारण अवरुद्ध भएको खाँदबारी–किमाथाङ्का सडक खण्ड सञ्चालनमा आएको हो।

भदौ १५ गतेदेखि भोटखोला–३ स्थित समटार र अल्फाटे क्षेत्रमा गएको ठूलो पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। कठिन भूगोल, निरन्तर वर्षा र जोखिमका बीच लामो प्रयासपछि सडक सञ्चालनमा ल्याइएको उत्तर–दक्षिण कोशी राजमार्ग आयोजनाले जनाएको छ।

आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार स्थानीयवासी, निर्माण व्यवसायी र आयोजनाको संयुक्त प्रयासमा सडक मर्मत सफल भएको हो। “लगातारको वर्षाले काममा ढिलाइ भयो। तर करिब ८० दिनको प्रयासपछि सडक सञ्चालनमा ल्याउन सकिएको छ,” उहाँले बताउनुभयो।

हाल सडकमा ढुङ्गा सोलिङ र ग्राभेलिङ कार्य सम्पन्न भइसकेको छ र एकतर्फी सवारी सञ्चालन भइरहेको छ। सडक खुलेसँगै वरुण नदीमाथिको पक्की पुलमार्फत सवारी आवागमन सुरु भएको छ।

पहिरोले जनजीवन कष्टकर

सडक अवरुद्ध रहँदा भोटखोला, मकालु लगायतका दुर्गम क्षेत्रका बासिन्दा बजार आपूर्ति, औषधि, निर्माण सामग्री र अन्य दैनिक उपभोग्य वस्तुको अभावमा परेका थिए। आवतजावतका लागि स्थानीयहरूलाई पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो।

सडक पुनः सञ्चालनमा आएपछि खाँदबारीदेखि भोटखोलाको हटिया र थोगाङ खोला क्षेत्रसम्म सवारीसाधन चल्न सक्ने आयोजनाले जनाएको छ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेका अनुसार सडक पुनः सञ्चालनले स्थानीयवासीमा खुसी छाएको छ। “अब दुर्गम बस्ती फेरि सडकसँग जोडिएका छन्,” उहाँले भन्नुभयो, “सडकको संरक्षण र मर्मतमा स्थानीयस्तरबाट पनि सक्रिय भूमिका खेलिनेछ।”

व्यापारिक र रणनीतिक महत्व

कोशी राजमार्ग पूर्वी नेपालको प्रमुख रणनीतिक र व्यापारिक मार्ग हो, जसले चीनको सीमा किमाथाङ्कासम्म जोड्ने लक्ष्य राखेको छ। सडक सुचारु भएपछि व्यापारिक गतिविधि, आपूर्ति प्रणाली र जनजीवन सहज हुने अपेक्षा गरिएको छ।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...