काठमाडौं, कात्तिक ४
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दीपावली अर्थात् तिहार पर्वले सबैलाई सत्य, न्याय, सदाचार र मानवताको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।
तिहार २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै भण्डारीले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना दिनुभएको हो।
उहाँले मुलुक अहिले अत्यन्तै विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो कठिन घडीमा तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
“हामीबीच रहेका जस्तोसुकै मतभेद वा वैमनस्यताको समाधान शान्तिपूर्ण संवाद, सहकार्य र जनअभिमतको माध्यमबाट खोज्न सकिन्छ भन्ने प्रेरणा दीपावलीको उज्यालो पर्वले दिओस्,” सन्देशमा भनिएको छ।
पूर्वराष्ट्रपति भण्डारीले देउसी–भैलो खेल्ने परम्परालाई विशुद्ध मौलिक नेपाली संस्कृति भएको उल्लेख गर्दै यसले समाजमा एकता र भाइचाराको भावना गाढा बनाउने बताउनुभयो। उहाँले देउसी–भैलोबाट सङ्कलन हुने कोषलाई सामुदायिक हितमा प्रयोग गर्नुपर्ने अभ्यासलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।
साथै, अनावश्यक भड्किलोपन, विलासिता र जुवा–तासजस्ता नकारात्मक अभ्यासबाट टाढा रही मितव्ययी र संयमित ढंगले तिहार मनाउनुपर्ने सुझाव दिनुभएको छ, ताकि यस पर्वको मौलिक सामाजिक–सांस्कृतिक मूल्य जोगाइयोस्।
भण्डारीले तिहारको सांस्कृतिक पक्षमा प्रकाश पार्दै काग, कुकुर, गाई, गोरु, गोवद्र्धन पर्व, लक्ष्मी पूजा र भाइटीका जस्ता परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतबीचको अन्तरसम्बन्ध झल्काउने बताउनुभएको छ। साथै, दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह थप प्रगाढ बनाउने पर्वको रुपमा तिहारलाई स्मरण गर्नुभएको छ।

