काठमाडौं । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते उच्च अदालत तुलसीपुर, इजलास नेपालगन्जमा भएको आगजनी, तोडफोड, लुटपाट तथा चोरी घटनामा संलग्न भएको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अदालतमा दर्ता भएको अपराधिक उपद्रवसम्बन्धी कसुरका आधारमा अनुसन्धान अघि बढाइँदै घटनामा संलग्न ठहरिएका ती व्यक्तिहरूलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएको हो। कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार नेपालगन्जका विभिन्न स्थानबाट पक्राउ गरिएका व्यक्तिहरूमा नेपालगन्ज–४ का रवि कुमार वैश्य, वडा–१० का बल्लु गोडिया, वडा–९ का गंगा सागर वर्मा, वडा–५ का मोहम्मद ताहिर हलवाई, वडा–४ का एशन राज सिद्दिकी र वडा–९ का ओमराज सोनी रहेका छन्। प्रहरीका अनुसार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेकाे छ। यसअघि पनि नेपालगन्जका विभिन्न सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेको आरोपमा चार जनालाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको थियो। जेनजी आन्दोलनको मुख्य दिन भदौ ২৩ गते बाँकेका विभिन्न स्थानमा कुनै अप्रिय घटना नभए पनि भोलिपल्ट भदौ २४ गते एक उच्छृंखल समूहले नेपालगन्ज र कोहलपुरका करिब चार दर्जनभन्दा बढी सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गरेको थियो।

