काठमाडौं । हङकङको उत्तरी जिल्लास्थित आठवटा भवन भएको विशाल आवासीय कम्प्लेक्समा लागेको भयंकर आगलागीले मृत्यु हुनेहरूको संख्या ९४ पुगेको छ। बिबीसीका अनुसार शुक्रबार बिहानसम्म उद्धारकर्ताहरूले अझै पनि सयौँ बेपत्ता व्यक्तिहरुको खोजी जारी राखेका छन्। बुधबार दिउँसो ३१ तले वाङ फुक कोर्ट आवासीय ब्लकमा मर्मतसम्भारका क्रममा बाँकी रहेको ज्वलनशील सामग्रीले आगो तीव्रगतिमा फैलिएको बताइएको छ। ‘गम्भीर लापरबाही’ गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ, किनकि घटनास्थल नजिकै फोम प्याकेजिङ फेला परेपछि उनीहरूविरुद्ध थप अनुसन्धान अघि बढाइएको छ।
एएफपी पत्रकारका अनुसार केही फ्ल्याट अझै जलेका छन् तर आगोको तीव्रता भने घट्दै गएको छ। बाँसको मचानमा लागेको आगोले ठूलो आवाजसहित घना धुवाँ आकाशसम्म उडेको थियो। स्थानीय ६५ वर्षीय युएनका अनुसार झ्यालहरू मर्मतका कारण बन्द रहेकोले धेरैलाई आगलागीबारे थाहा पाउन ढिलाइ भएको, छिमेकीले फोन गरेर मात्रै खाली गर्न आग्रह गरेको घटना बताए। अग्निशमन विभाग निर्देशक एन्डी युङका अनुसार मृतकमध्ये ३७ वर्षीय एक अग्नि नियन्त्रक पनि थिए। उनी हराएको केही समयमै गम्भीर रूपमा जलेको अवस्थामा भेटिएका थिए। हाल ५६ जना घाइतेको उपचार भइरहेको छ, जसमा केहीको अवस्था गम्भीर छ।
सहरका नेता जोन लीले करिब २७९ जना बेपत्ता हुने प्रारम्भिक अनुमान रहेको बताए। नौ सयभन्दा बढी बासिन्दा अस्थायी आश्रयमा बस्न बाध्य भएका छन्। राहतकर्मीहरूले रातभरै बेपत्ता सूची अद्यावधिक गरिरहेकाले वास्तविक संख्या अझै पुष्टि हुन बाँकी छ। फायर सर्भिसका उप–निर्देशक डेरेक आर्मस्ट्रङ चानका अनुसार घटनास्थल अत्यन्तै तातो भएकोले केही तलासम्म पुग्न कठिन भएको र उद्धार प्रयास निरन्तर जारी रहने जानकारी भए। हावा र खसेका भग्नावशेषका कारण आगो एक ब्लकबाट अर्कोमा फैलिएको सम्भावनासमेत छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले मृतकप्रति समवेदना व्यक्त गरेका छन् भने हङकङका नेता लीले प्रभावितहरूलाई आवश्यक राहत र सहयोग उपलब्ध गराइने आश्वासन दिएका छन्। आसपासका केही ब्लक खाली गरिँदै छन्, राजमार्गका केही भाग बन्द गरिएको छ, र ठूलो सङ्ख्यामा राहतकर्मी परिचालन गरिएको छ। घना बस्तीमा यस्ता आगलागी पहिले पनि देखिए पनि पछिल्ला दशकमा सुरक्षामापदण्ड कडा बनाइएपछि जोखिम कम भएको मानिन्थ्यो। तर यस पटकको दुर्घटनाले हङकङ फेरि गहिरो शोकमा डुबेको छ।

