काठमाडौं । नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ। नातिनीलाई विद्यालयमा खाजा पुर्याएर साइकलमा घरतर्फ फर्कदै गर्दा जुटपानीस्थित लर्डव्राइड वीजडम बोर्डिङ स्कुल नजिक नवलपुरबाट मलङ्गवातर्फ जाँदै गरेको ना ७ ख ७३६९ नम्बरको ट्रकले ठक्कर दिँदा लालबन्दी नगरपालिका २ का ६९ वर्षीय मिन्दुक दोर्जे लोप्चनको मृत्यु भएको वडाध्यक्ष किरणकुमार पासवानले जानकारी दिनुभयो। दुर्घटना लगत्तै स्थानीयले ट्रकमा ढुङ्गामुढा गरेका छन्।
मृतक लोप्चनको शव अहिले घटनास्थलमै छ। इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले घटनास्थलको प्रकृति मुचुल्का सङ्कलन गर्ने काम गरिरहेको बताउनुभयो। दुर्घटनास्थलमा अहिले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ भएका छन्। वृद्धलाई ठक्कर दिने ट्रक पनि घटनास्थलमै छ। गोरखापत्र

