ट्रम्पको कदमपछि युरोपमा राहत

Published on

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड सम्बन्धी आफ्नो कडा अडान नाटकीय रूपमा परिवर्तन गरेपछि युरोपेली देशले बिहीबार राहतको सास फेरेका छन् । स्विट्जरल्यान्डको डाभोसमा जारी विश्व आर्थिक फोरममा सहभागी युरोपेली नेताले एक दिनअघि मात्रै आठ युरोपेली राष्ट्रमा शुल्क लगाउने धम्की दिएका ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई सकारात्मक सङ्केतका रूपमा लिएका छन् । राष्ट्रपति ट्रम्पले अब ग्रिनल्यान्ड कब्जा गर्न बल प्रयोग नगर्ने र आर्कटिक सुरक्षाबारे नाटोसँगको सहकार्यमा नयाँ ढाँचा तयार गर्ने बताउनु भएको छ । तर यो नयाँ ग्रिनल्यान्ड सम्बन्धी समझदारीले वास्तवमा के जनाउँछ भन्ने विषयमा अझै धेरै प्रश्न अनुत्तरित नै रहेका छन् । यसैबिच, डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले आफ्नो देशको सार्वभौमसत्तामा कुनै पनि प्रकारको वार्ता सम्भव नभएको स्पष्ट पार्नु भएको छ । 

अमेरिकी पक्षले ग्रिनल्यान्डमाथि बल प्रयोग नगर्ने र आर्कटिक सुरक्षाका लागि नाटोसँग सहकार्य गर्ने बताएको सन्दर्भमा उहाँलाई ‘यस्तो कुनै प्रस्ताव नरहेको’ जानकारी दिइएको उहाँको भनाइ छ । एक वक्तव्यमा उहाँले आर्कटिक क्षेत्रको सुरक्षा सम्पूर्ण नाटोको साझा विषय भएको र यसबारे अमेरिकी राष्ट्रपति र नाटो महासचिव मार्क रुटबिच छलफल हुनु स्वाभाविक भएको बताउनुभयो । उहाँले डाभोसमा राष्ट्रपति ट्रम्पसँग भेटघाट हुनु अघि र पछि समेत महासचिव रुटसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिनुभयो । डाभोसकै कार्यक्रममा अमेरिकी विशेष दूत स्टिभ विटकफले राष्ट्रपति ट्रम्पले युक्रेनका लागि ‘ट्यारिफ-फ्री जोन’ जस्तो अवधारणा विचार गरिरहेको खुलासा गर्नुभयो । उहाँका अनुसार यसले युद्धग्रस्त युक्रेनमा उद्योग र अर्थतन्त्रको पुनर्निर्माणमा ठूलो सहयोग पुर्याउन सक्छ । “राष्ट्रपतिले युक्रेनका लागि शुल्क मुक्त क्षेत्रको कुरा गर्नु भएको छ, जुन मेरो विचारमा खेल परिवर्तन गर्ने खालको हुने छ”, विटकफले युक्रेन ब्रेकफास्ट नामक साइडलाइन कार्यक्रममा भन्नुभयो । 

रुस–युक्रेन युद्ध अन्त्य गर्न शान्ति सम्झौताका लागि पहल गरिरहेको अमेरिकी प्रशासनको तर्फबाट विटकफले मस्को जानुअघि यी टिप्पणी गर्नु भएको हो । उहाँले अबुधाबी क्षेत्रतर्फ पनि भ्रमण गर्ने योजना रहेको बताउँदै त्यहाँ सैन्य-देखि-सैन्य संवाद र समृद्धि सम्बन्धी विषयमा कार्य समूह स्तरका छलफल हुने जानकारी दिनुभयो । यता, डाभोसमा उपस्थित युरोपेली प्रतिनिधिले ट्रम्पको पछिल्लो अभिव्यक्तिले तत्कालका लागि तनाव कम गरेको प्रतिक्रिया दिएका छन् । विश्व आर्थिक फोरमको एक कार्यक्रममा युक्रेन युद्ध र आर्कटिक सुरक्षाबारे नाटो महासचिव रुटसँग छलफल हुने कार्यक्रमलाई समेत महत्वका साथ हेरिएको थियो । ट्रम्पको ग्रिनल्यान्ड सम्बन्धी अडान फेरिएसँगै युरोपमा तत्कालको सङ्कट टरेको अनुभूति भए पनि यसको दीर्घकालीन प्रभावबारे अझै स्पष्टता आउन बाँकी रहेको विश्लेषकको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान

काठमाडौं - नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय...

एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...

दीर्घायुकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज...

१३ देशका लागि राजदूत सिफारिस

काठमाडौँ, असोज २ गते । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त...