कल सेन्टरमा जिज्ञासाको चाङ : मतदाता नामावली र आचारसंहितामा बढी चासो

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ मा मतदाता र सरोकारवालाको आकर्षण बढेको छ । माघ ५ गतेदेखि आयोग परिसरमा सुरु भएको कल सेन्टरमा आइतबारसम्म ७९२ जनाले विभिन्न विषयमा जिज्ञासा राख्नुभएको छ । आयोगका अनुसार प्राप्त जिज्ञासाहरूमध्ये सबैभन्दा बढी मतदाता नामावलीसँग सम्बन्धित छन् । यस अवधिमा नामावलीका विषयमा ४२० वटा जिज्ञासाको सम्बोधन गरिएको छ । यस्तै, निर्वाचन आचारसंहिताका विषयमा ७२, मतदाता शिक्षासम्बन्धी ३६ र अन्य विविध विषयमा २६४ वटा प्रश्नको जवाफ दिइएको आयोगले जनाएको छ । बिहान ९ देखि साँझ ६ बजेसम्म सेवा निर्वाचनका क्रममा नागरिक र सरोकारवालालाई आइपर्ने द्विविधा हटाउन आयोगले निःशुल्क टोल-फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको छ । हाल बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भइरहेको यो सेवाको समय क्रमशः थपिँदै लगिने आयोगको तयारी छ । एकै पटक १५ जनासम्मले फोन गर्दा कलहरू ‘होल्ड’मा बस्नु नपर्ने गरी प्रविधिको व्यवस्था मिलाइएको छ । यो सेवा निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण नगर्दासम्म जारी रहनेछ ।

  • कल सेन्टरमा उठेका मुख्य प्रश्न र आयोगको स्पष्टोक्ति : आयोगले कल सेन्टरमार्फत प्राप्त भएका साझा प्रश्नहरूलाई समेटेर मतदाताका लागि स्पष्ट पारेको छ :
  • परिचयपत्र नभए पनि भोट हाल्न पाइने : मतदाता नामावलीमा नाम भएका व्यक्तिले परिचयपत्र हराएको वा नभएको अवस्थामा नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल कागजात देखाएर मतदान गर्न पाउनेछन् ।
  • अस्थायी मतदाता : ब्यारेकमा रहेका सुरक्षाकर्मी, कर्मचारी, थुनुवा, कैदी र वृद्धाश्रममा रहेका व्यक्तिहरूलाई अस्थायी मतदाताको रूपमा मतदानको अधिकार दिइएको छ ।
  • मृतकको नाम दुरुपयोग नहुने : स्थानीय तहमा मृत्यु दर्ता भएकाहरूको नाम हटाइसकिएको र नामावलीमा नाम रहेका मृतकको हकमा फोटोसहितको नामावली रुजु गरेर मात्र मतदान गर्न दिइने भएकाले दुरुपयोगको सम्भावना नरहेको आयोगले जनाएको छ ।
  • लोकसेवाको परीक्षा नसर्ने : वार्षिक कार्यतालिका अनुसार हुने लोकसेवाका परीक्षाहरू निर्वाचनका कारणले रोकिने छैनन् । यद्यपि, मतदानको दिन भने परीक्षा सञ्चालन हुने छैन ।
  • नयाँ दल दर्ता : नयाँ दल दर्ता गर्न पाइने भए पनि आगामी फागुन २१ को निर्वाचनका लागि भने दल दर्ताको समयसीमा सकिसकेकाले ती दलले भाग लिन पाउने छैनन् ।
  • उपभोक्ता समितिको चुनावमा रोक :  आचारसंहिता लागू भइसकेकाले निर्वाचन सम्पन्न नभएसम्म उपभोक्ता समितिको चुनाव गर्न नपाइने आयोगले स्पष्ट पारेको छ ।
  • अपाङ्गता भएकालाई सहयोग :  मतपत्रमा ब्रेल लिपिको व्यवस्था नभएकाले दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले आफ्नो परिवारको विश्वासिलो व्यक्तिलाई साथमा लिएर मतदान गर्न पाउनेछन् ।

आयोगले निर्वाचनसम्बन्धी कुनै पनि जिज्ञासा भएमा ११०२ मा कल गर्न वा आयोगको वेबसाइट www.election.gov.np मा गएर विवरण हेर्न सबैमा अनुरोध गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

छथरमा जातीय–सांस्कृतिक सहअस्तित्व र साहित्यमा केन्द्रित प्राज्ञिक गोष्ठी

काठमाडौं । तेह्रथुम – छथर गाउँपालिकामा जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक...

राष्ट्रपति पौडेलसँग ब्रिटिश गोर्खा सेनाको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले...

सुनसरी–४ का मतदाताले उम्मेदवारसँग मागे बाढी नियन्त्रण र पूर्वाधार सुधार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं...

कास्की–२ कांग्रेस उम्मेदवार बास्तोलाको हात फ्र्याक्चर, चुनावी अभियानमा चोट

काठमाडौं । नेपाली कांग्रेसका कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला निर्वाचन अभियानका क्रममा घाइते हुनुभएको...