काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालयमा महाशिवरात्रि पर्वमा करिब ३० हजारभन्दा बढी धार्मिक पर्यटकहरुले पूजाआरधना गरेका छन् । शिवरात्रि पर्वको अवसर पारेर गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योतिर्लिङ्गमा पूजाअर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवन, नवलपरासी, रुपन्देही, काठमाडौँ र भारत देखि समेत भक्तजनहरु आएका थिए ।
अघिल्लो वर्षभन्दा यसपाली धेरै धार्मिक पर्यटकहरु पूजा आरधानाका लागि आएका थिए गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भन्नुभयो, ‘‘पछिल्लो समय गलेश्वर शिवालयको धार्मिक महत्वको बारेमा देश विदेशमा प्रचारप्रसार भएकाले भक्तजनहरु सङ्ख्या बढेको हो । यसपाली करिब ३० हजारभन्दा बढी धार्मिक पर्यटकहरु गलेश्वर शिवालय दर्शनका लागि आएको हाम्रो अनुमान छ ।’’ आइतबार रातभर जाग्राम बसेर महिलाहरुले महाबत्ती बालेको तथा भजनकिर्तन समेत गरेको उहाँले बताउनुभयो । गलेश्वर मन्दिर परिसरमा दिनभरजसो शिवजीको पूजा आराधना गर्ने र रातको समयमा बत्ती बालेर जाग्राम बस्ने, भजनकिर्तन गर्ने, धुनी जगाउने तथा भगवान् शिवको प्रिय मानिने महाप्रसाद ग्रहण गर्ने व्यवस्था मिलाइएको थियो । पर्वलाई भव्य र सभ्य रूपमा मनाउन तथा पूजा व्यवस्थापन गर्नको लागि विभिन्न उपसमितिहरूमार्फत काम गरिएको थियो । यसवर्ष पनि जिल्लास्थित विभिन्न संघसंस्थाहरुले स्वयंसेवा गरेका थिए । पवित्र कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहिआएको छ ।
गलेश्वर मन्दिर परिसरमा कहिल्यै नसुक्ने पोखरी पनि रहेका छ । गलेश्वरधाममा रहेका ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणि आदि चक्राकार रूपी चिह्न मानवनिर्मित नभई स्वयं उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख गरिएको छ । गलेश्वर मन्दिरमा सङ्कलन भएको भेटी तत्कालै गनेर सार्वजनिक गर्ने गरिन्छ । महाशिवरात्रीका अवसरमा भक्तजनले चढाएको भेटी सोमबार बिहानदेखि गणना थालिएको छ । गोरखापत्र

