काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले खप्तड पर्यटन विकास बोर्डको अध्यक्षमा नेकपा (एमाले) की जमुना चन्दलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले चन्दलाई अध्यक्ष नियुक्त गरेको हो । बझाङको जयपृथ्वी नगरपालिका-१० की उहाँ एमालेबाट उपप्रमुख उम्मेदवार भइ पराजित हुनु भएको थियो । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको पदाधिकारी नियुक्त गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले जानकारी दिनुभयो ।
समितिका सदस्यमा डोटीकी मायादेवी कुँवर, बझाङकी गोकुलदेवी सिंह र बाजुराको मीनबहादुर शाही नियुक्त हुनु भएको छ । प्रदेश सरकार मातहत चार वटा विकास समिति रहेका छन् । पदाधिकारी नियुक्त गर्न बाँकी समितिको चाँडै नियुक्ति टुङ्ग्याइने मन्त्री सार्कीले बताउनुभयो । गोरखापत्र

