काठमाडौं । रौतहटको गढिमाई नगरपालिका वडा नं.७, धरमपुर–धनाडी सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णु प्रदीप बस्यालका अनुसार, धनाडीबाट धरमपुरतर्फ जाँदै गरेको ना ६ त ९६८३ नम्बरको ट्याक्टर बिहीबार राति अनियन्त्रित भई खेतमा पल्टिएको हो। दुर्घटनामा ट्याक्टर चालक, गौर नगरपालिका वडा नं. ६, सबगढा निवासी २८ वर्षीय रञ्जित साहको मृत्यु भएको छ।
प्रवक्ता बस्यालले बताउनुभयो, “साहको मृत्यु इञ्जिनको भागले च्यापिँदा भएको हो। मृत्यु भएको खबर शुक्रवार बिहान प्राप्त भएपछि प्रहरी चौकी धरमपुर र इलाका प्रहरी कार्यालय गरुडाबाट टोली खटाइएको थियो।” घटनाको प्रारम्भिक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। गोरखापत्र

