बेतन कर्णाली आयोजना : निर्माणपूर्वको तयारी तीव्र

Published on

काठमाडौं । बेतन कर्णाली जलविद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गरेको छ। आयोजनासम्बन्धी अध्ययनको काम सकिएको छ भने निर्माणपूर्वका अधिकांश तयारी अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। सुर्खेत र अछाम जिल्लाको सिमानामा निर्माण हुने उक्त आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) पनि अन्तिम चरणमा पुगेको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका आयोजना प्रमुख कृष्ण आचार्यले बताउनुभयो। उहाँका अनुसार आयोजनाले २०८२ असारमा उत्पादन अनुमतिपत्रसमेत प्राप्त गरिसकेको छ। मुआब्जा वितरणका लागि ऊर्जा मन्त्रालयमा फाइल पेस गरिएको र अब भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाउने प्रक्रिया अघि बढेको छ। उक्त मन्त्रालयबाट स्वीकृति आएपछि मुआब्जा वितरण गरिने उहाँले जानकारी दिनुभयो। यो आयोजना निर्माण हुँदा सुर्खेत र अछाम जिल्लाका गरी करिब १८ रोपनी जग्गा प्रभावित हुने अनुमान छ। प्रभावित क्षेत्रमा रुख कटानका लागि पनि प्रक्रिया अघि बढाइएको छ र त्यसका लागि मन्त्रालयमा प्रस्ताव पठाइएको छ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। ४३९ मेगावाट क्षमताको यो आयोजना निर्माण गर्न ८८ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ। तर हालसम्म लगानीको पूर्ण स्रोत सुनिश्चित भइसकेको छैन। कर्मचारी सञ्चय कोषले लगानी गर्ने ७ अर्ब रुपियाँ मात्रै सुनिश्चित भएको छ। कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताको अवकाशपछिको जीवनलाई थप सुदृढ बनाउने उद्देश्यले सञ्चयकर्ता हाइड्रोको अवधारणाअनुसार कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् उत्पादन कम्पनी लिमिटेड तथा करिब ६ लाख सञ्चयकर्तालाई संस्थापक रहने गरी कम्पनी स्थापना गरिएको हो। आयोजना प्रमुख आचार्यका अनुसार लगानी सुनिश्चितताका लागि विभिन्न निकायसँग पहल सुरु गरिएको छ। कर्णाली नदीसँग जोडिएको यो अर्को ठूलो जलविद्युत् आयोजना मानिन्छ। निर्माणपूर्वको पूर्वाधार विकासअन्तर्गत आयोजनास्थलसम्म पुग्न अछामतर्फबाट १८ किलोमिटर पहुँच सडक निर्माण सम्पन्न भएको छ भने सुर्खेततर्फ १४ किलोमिटरमध्ये १० किलोमिटर सडक निर्माण पूरा भएको छ। कैलालीको सुगरखालदेखि करिब ३० किलोमिटर दूरीमा ३३ केभी प्रसारण लाइन विस्तार गर्ने प्रक्रिया पनि अघि बढिसकेको छ।

यो आयोजना सञ्चालनका लागि सन् २०१७ अक्टोबरदेखि नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको इन्जिनियरिङ कम्पनी लिमिटेडले अध्ययन सुरु गरेको थियो। आयोजनास्थल, प्रभावित क्षेत्र र लागत अनुमान टुङ्गो लागिसकेको छ। आयोजनाअन्तर्गत कर्णाली नदीमा १४० मिटर अग्लो बाँध निर्माण गरी सुरुङमार्फत विद्युत्गृहमा पानी पु¥याइनेछ। जलाशयमा एक करोड २५ लाख घनमिटर पानी सञ्चय गर्न सकिनेछ। उक्त पानी ६.६ किलोमिटर लामो हेडरेस टनेल र ३४५ मिटर लामो पेनस्टक पाइपमार्फत टर्बाइनमा खसालिनेछ। आयोजनाको डाइभर्सन टनेल सुर्खेतको चौकुने गाउँपालिका–६ मा तथा विद्युत्गृह, बेस क्याम्प हाउस, हेड टनेललगायत मुख्य संरचना अछामको ढकारी गाउँपालिका–६ मा निर्माण हुनेछन्। बाँधस्थल दुवै गाउँपालिकाको सीमामा पर्नेछ। बाँध निर्माणपछि २१ किलोमिटर लामो जलाशय क्षेत्र बन्नेछ। यसैबीच सुर्खेत क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रमेश सापकोटाले आयोजनाको प्रगतिबारे जानकारी लिनुभएको छ। आयोजना प्रमुखसँग भेटेर उहाँले कामको प्रगति बुझेको र आयोजना अघि बढाउन विभिन्न क्षेत्रसँग पहल थालिने बताउनुभयो। गोरखापत्र

spot_img

ताजा समाचार

किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान

काठमाडौं - नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय...

एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...

दीर्घायुकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज...

१३ देशका लागि राजदूत सिफारिस

काठमाडौँ, असोज २ गते । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त...