काठमाडौं । राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले जिल्लास्तरीय अन्तरक्रिया गोष्ठी तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला आर्थिक गणना कार्यालय कपिलवस्तुको आयोजनामा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख मनोहर हरिजनले राष्ट्रिय आर्थिक गणनाको परिचय, उद्देश्य तथा महत्त्वबारे प्रस्तुतीकरण गर्नुभएको थियो । व्यवसायिकहरूले उपलब्ध गराएको विवरणहरू पूर्ण रुपमा गोप्य रहने र उक्त विवरण तथ्याङ्कीय परियोजनाका लागि मात्र प्रयोग गर्ने उहाँको भनाइ छ । सो अवसरमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले विकास योजना निर्माण, बजेट व्यवस्थापन तथा नीति निर्माणका लागि आर्थिक गणना महत्वपूर्ण आधार हुने बताउनुभयो। उहाँले सबै निकायबिच समन्वय गरेर गणनालाई सफल बनाउनु पर्नेमा बताउनुभयो । कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले आर्थिक गणना स्थानीय तहको योजना निर्माणका लागि महत्त्वपूर्ण आधार हुने बताउनुभयो । उहाँले गणनामा सबै व्यवसायी तथा उद्योगीलाई सही विवरण उपलब्ध गराउन आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले राष्ट्रिय आर्थिक गणना सरकारको महत्त्वपूर्ण कार्यक्रम भएकाले यसको सफलताका लागि सबै स्थानीय तह, सरकारी कार्यालय, निजी क्षेत्र तथा सर्वसाधारणको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले सही तथ्याङ्क सङ्कलन गर्न सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै तौलिहवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गयादिन कुर्मीले आर्थिक गणनाले जिल्लाको वास्तविक आर्थिक अवस्थाको चित्रण गर्ने बताउँदै निजी क्षेत्रले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सही तथ्याङ्क सङ्कलनबाट मात्र यथार्थपरक योजना निर्माण गर्न सकिने बताउनुभयो । कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । गोरखापत्र

