नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

Published on

काठमाडौं- बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज मङ्गलबार नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवरात्रका अवसरमा दसैँघर तथा पूजा कोठामा देवीको आह्वान गरी पूजा, ध्यान र स्तोत्र पाठ गर्ने परम्परा छ।

हातमा चन्द्रमाको आधार भएको घण्टा धारण गर्ने भएकाले देवीको नाम चन्द्रघण्टा रहन गएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख छ। मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् जसको घण्टामा चन्द्रमा रहेको छ, उहाँलाई चन्द्रघण्टा भनिएको छ। देवीले शिरमा अर्धचन्द्र धारण गर्ने भएकाले पनि उहाँको नाम चन्द्रघण्टा रहन गएको धार्मिक मान्यता छ।

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार नवरात्रमा देवीको पूजा आराधना गर्दा शक्ति प्राप्त हुने धार्मिक विश्वासका आधारमा विशेष पूजा गर्ने परम्परा रहिआएको छ।

चन्द्रघण्टा देवीको स्वरूप पहेँलो वर्णको र करुणामयी रहेको धार्मिक ग्रन्थमा वर्णन गरिएको छ। उहाँलाई अत्याचारी शक्तिको नाश गर्ने देवीका रूपमा पनि पूजा गरिन्छ। नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको आराधना गर्दा मणिपुर चक्रमा ध्यान गर्ने परम्परा रहेको छ। देवीको ध्यान र उपासनाबाट शक्ति प्राप्त हुने विश्वास गरिन्छ।

वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा चन्द्रघण्टा देवीको कृपाले पाप नाश हुने उल्लेख छ। गीतसङ्गीत क्षेत्रमा संलग्न व्यक्तिले पनि देवीको विशेष आराधना गर्ने धार्मिक परम्परा रहेको उहाँले बताउनुभयो। चन्द्रघण्टाको ध्यान र पूजाबाट मनमा शान्ति तथा तेज प्राप्त हुने विश्वास गरिन्छ।

नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिअनुसार घटस्थापना गरी दसैँघर तथा पूजा कोठामा जौको जमरा राखिएको थियो। घटस्थापनाका दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा गरिएको थियो। दोस्रो दिन सोमबार ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको थियो भने आज तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै छ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवत् तथा अन्य देवी स्तोत्र पाठ गर्ने परम्परा छ। नवरात्रमा देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्।

दुर्गा पक्षका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गर्छ। राजधानी काठमाडौंसहित देशका प्रमुख शक्तिपीठमा भक्तजन बिहानैदेखि दर्शनका लागि पुग्ने गरेका छन्। नवरात्रका नौ दिनमा विभिन्न शक्तिपीठको दर्शन तथा पूजा गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वासका कारण धेरै भक्तजन एकपछि अर्को मन्दिर पुग्ने गर्छन्।

नवमीसम्म देवीको विशेष आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसादस्वरूप टीका र जमरा लगाएर बडादसैँ मनाउने परम्परा छ। यसरी नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक भेटघाट र सांस्कृतिक परम्परासँग जोडिएको बडादसैँ १५ दिनसम्म मनाइन्छ।

spot_img

ताजा समाचार

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजय सिवाकोटीको जित सुनिश्चित

काठमाडौं – नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फ दुई पदका लागि भइरहेको मतगणनामा रामहरि खतिवडा र...

राष्ट्रिय तथ्याङ्क कार्यालयले ४० विषयमा तथ्याङ्क सङ्कलन गर्दै, लागत २३ करोड

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले विभिन्न क्षेत्रसँग सम्बन्धित ४० किसिमका तथ्याङ्क सङ्कलन, अध्ययन तथा सर्वेक्षणका काम...

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...