बजेट अभावले सिक्टा सिँचाइ आयोजनाको काम प्रभावित

Published on

काठमाडौं । बाँकेमा निर्माणाधीन बहुप्रतीक्षित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभावले गर्दा निर्माण कार्य प्रभावित भएको छ । प्रयाप्त बजेट नहुँदा आयोजना निर्माणमा बर्सेनि ढिलाइ हुँदै गएको आयोजनाले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८०र८१ का लागि ७५ करोड रुपियाँ मात्र विनियोजन गरिएकाले वार्षिक प्राप्त हुने यति धेरै कम बजेटबाट निर्धारित समयमा कुनै पनि हालतमा आयोजना सम्पन्न गर्न नसकिने सिक्टा सिँचाइ आयोजनाका निर्देशक देवराज निरौलाले बताउनुभयो । उहाँले अहिले प्राप्त भइरहेको बजेटबाटै काम गर्दै जाने हो भने आगामी नौ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ तयार गरिएको गुरुयोजना अनुसार काम सम्पन्न गर्न ३१ वर्ष लाग्ने बताउनुभयो । आयोजना निर्देशक निरौलाका अनुसार २०६२\६३ मा सुरु भएको आयोजनाको पछिल्लो संशोधित गुरुयोजना अनुसार आर्थिक वर्ष २०८९\९० मा काम सम्पन्न गर्ने लक्ष्य छ । गुरुयोजना अनुसार आयोजनाको लागत ५२ अर्ब ८९ करोड पुगेको छ भने सोमध्ये हालसम्म २१ अर्ब रुपियाँ खर्च भइसकेको छ । उहाँले थप्नुभयो, अब बाँकी रहेको नौ वर्षमा ३१ अर्ब रुपियाँ खर्च गरेर आयोजना सम्पन्न गर्नुपर्नेछ, त्यसैले सो समयसम्म काम सम्पन्न गर्न हरेक वर्ष तीन अर्ब ५० करोड रुपियाँ बजेट आवश्यक छ । अहिलेकै मात्रामा बजेट प्राप्त भइरहने हो भने काम सम्पन्न हुन अझै ३१ वर्ष लाग्नेछ ।

बजेट अभावले ५०० किसानलाई मुआब्जा वितरण गर्न नसकिएको तथा शाखा प्रशाखा निर्माणको कामलाई द्रुतगतिमा अगाडि बढाउन कठिनाइ भएको निर्देशक निरौलाले बताउनुभयो । उहाँले शाखा नहर निर्माण क्षेत्रका किसानलाई दिनुपर्ने मुआब्जावापतको रकम ५८ करोड ८९ लाख रुपियाँ रहेकोमा चालु आर्थिक वर्षमा १३ करोड ४० लाख मात्रै वितरण गर्न सकिएको जनाउँदै यसै वर्षका लागि मुआब्जाका लागि कम्तीमा ३० करोड बजेट थप आवश्यक भएको बताउनुभयो ।
अहिले आयोजनाको पश्चिम मूल नहरअन्तर्गत पर्ने गुरुवा गाउँ, पर्सेनीपुर, अकलघरुवा, सिधनिया, गोहवालगायत स्थानमा शाखा नहर निर्माण भइरहेको छ । शाखा नहर निर्माण क्षेत्रका किसानलाई मुआब्जा रकम बाँड्नका लागि सबै कागजी प्रक्रिया पूरा भए पनि पर्याप्त बजेट नहुँदा वितरण गर्न नसकिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार मुआब्जा वापतको रकम अभाव हुँदा एकातिर किसानको माग सम्बोधन गर्न नसकिएको, अर्कोतिर आयोजनाको काम पनि द्रुत गतिमा अगाडि बढाउन नसकिएको हो ।

राष्ट्रिय गौरवको आयोजना भए पनि बजेट अभावले समस्या हुनु दुःखद भएको स्थानीय किसानको गुनासो छ । समयमा मुआब्जा वापतको रकम नपाएका किसानले एकातिर रोक्का भएको जमिन बेचबिखन गर्न र जमिन धितो राखेर ऋण झिक्न पाएका छैनन् भने सोही कारणले अर्कोतिर आयोजनाको निर्माण कार्य पनि अगाडि बढ्न सकेको छैन । आयोजनाको सुरु अवधिदेखि हालसम्म समष्टिगत भौतिक प्रगति ४० दशमलव २२ प्रतिशत र वित्तीय प्रगति ३९ दशमलव ३८ प्रतिशत भएको आयोजनाका सूचना अधिकारी डिभिजनल इन्जिनियर सन्देश पौडेलले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...