तातो हावाले आँखा सुख्खा हुने समस्या

Published on

काठमाडौं । पछिल्ला केही दिनदेखि नेपालगन्जमा बढ्दै गइरहेको अत्यधिक गर्मी र सुख्खा तातो हावाको लहरका कारण आँखा सम्बन्धी बिरामीको सङ्ख्या बढेको छ। दैनिकरुपमा आँखा परीक्षण गराउन आउने सर्वसाधारणको सङ्ख्या बढेको आँखा अस्पतालले जनाएको छ ।

फत्तेबाल आँखा अस्पताल नेपालगन्जका प्रबन्ध निर्देशक डा।कौशलकुमार बर्माले अत्यधिक गर्मी तथा सुख्खा तातो हावाको लहरका कारण दैनिकरुपमा आँखा परीक्षण गराउन अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । दैनिक आँखा सम्बन्धी विभिन्न समस्याहरू लिएर अस्पताल आउने बिरामीमा पछिल्ला केही दिनमा आँखा सुख्खा हुने समस्या बढी पाइएको उहाँले जानकारी दिनुभयो । “अत्यधिक गर्मी तथा सुख्खा तातो हावाको लहरका कारण अस्पतालमा आँखा परीक्षण गराउन आउने सर्वसाधारणको चाप बढेको छ, सुख्खा तातो हावाको लहरमा धुलोका मसिना कणहरू हुने गर्दछ, त्यसता कण आँखाको नानीमा टाँसिन्छ, जसका कारण आँखाका अन्य समस्या भन्दा आँखा सुख्खा हुने बिरामीको सङ्ख्या बढी छ ।”

फत्तेबाल आँखा अस्पतालमा दैनिक सरदर चार सयको हाराहारीमा आँखा सम्बन्धी विभिन्न रोगी बिरामीहरू आँखा परीक्षण गराउन आउने गरेको डा। बर्माले बताउनुभयो । उहाँका अनुसार अन्य समयभन्दा यो समयमा आँखा परीक्षण गराउन आउने बिरामीहरूको चाप बढेको छ । जसमा आँखा सुख्खा हुने समस्या बढी भएका बिरामीहरू आउने गरेको उहाँको भनाइ छ । उहाँले आँखा पोल्ने, बिझाउने, चिलाउने, आँसु आउने जस्ता समस्या देखिएमा अस्पतालमा पुगी आँखा परीक्षण गराउनु पर्ने बताउनुभयो । तातो हावाका कारण हावामा सुख्खापन हुने र सुख्खा हावाले गर्दा आँखा सुख्खा हुने समस्या देखिएपनि तातो हावा कम भएपश्चात् या पानी परेपश्चात् यो समस्या बिस्तारै हट्दै जाने उहाँको भनाइ छ ।

अस्पतालका नेत्ररोग विशेषज्ञ डा।देवराज भारतीले चर्को गर्मी र तातो हावाका कारण आँखामा एलर्जी हुने, आँखा पाक्ने, आँखामा सुख्खापन हुने, आँखा रातो हुने, पोल्नेलगायतका आँखासम्बन्धी रोग भएका बिरामीहरू दैनिकरुपमा परीक्षण गर्न आउने गरेको बताउनुभयो । उहाँले पछिल्लो समयमा बढीजसो आँखामा सुख्खापन हुने समस्या देखिएको जानकारी दिनुभयो । धुलो र सुख्खा तातो हावाका कारण आँखा सुख्खा हुने समस्या देखिएको उहाँको भनाइ छ । आँखा सुख्खा हुने बिरामीहरूका आँखामा केही बिझाएको जस्तो महसुस हुने, आँखा चिम्लिरहन मन लाग्ने, आँखामा चिप्रा लाग्ने तथा च्यापच्याप हुने, आँखा पोल्ने तथा रातो देखिने, आँखामा असजिलो महसुस हुने तथा आँखा सुख्खा हुने र दुख्नेलगायतका लक्षण देखिने डा। भारतीले जानकारी दिनुभयो । उहाँले आँखासम्बन्धी विभिन्न रोगहरूबाट बच्नका लागि पटकपटक चिसो र सफा पानीले आँखा बन्द गरेर कम्तीमा दुई मिनेटसम्म आँखा धुने, धुलो र घाममा सिधै आँखा नपार्ने, एअर कन्डिसनर, कुलर, पङ्खाको हावा सिधै आँखामा पर्न नदिने, कम्प्युटर, ल्यापटप तथा मोबाइलहरूमा लामो समयसम्म लगातार काम नगर्ने तथा प्रयोग नगर्ने, धुलो र घामबाट बच्नका लागि कालो चस्माको प्रयोग गर्ने लगायतका उपायहरू अपनाउनु पर्ने बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...