सन्दिग्ध काश्मीर विद्रोहीद्वारा भारतीय वायुसेनाका कर्पोरलको हत्या

Published on

काठमाडौं । भारत प्रशासित काश्मीरमा एउटा सैन्य ‘एस्कर्ट’ मा सन्दिग्ध विद्रोहीहरूले आक्रमण गर्दा भारतीय वायुसेनाका एक सदस्यको मृत्यु भएको र अन्य चार जना घाइते भएको आधिकारिक विज्ञप्तिमा जनाइएको छ । विवादित काश्मीर क्षेत्रमा राष्ट्रिय निर्वाचनका लागि प्रचार भइरहेको छ ।

अज्ञात सङ्ख्यामा सशस्त्र आतङ्कवादीहरूले ‘एस्कर्ट’ मा आक्रमण गरेको वायुसेनाले विज्ञप्तिमा उल्लेख गरेको छ । उनीहरूले श्रीनगरको मुख्य सहरबाट दुई सय किलोमिटर दक्षिणमा पहाडी पुन्च क्षेत्रमा वायुसेनाको कम्तीमा एउटा ट्रकमा स्वचालित राइफलबाट गोली चलाएका थिए । शनिबार राति गोलीबारीमा वायुसेनाका पाँच कर्मचारी घाइते भएको र एक जनाको मृत्यु भएको थियो । मृत व्यक्ति कर्पोरल भएको पहिचान भएको छ । छिमेकी निर्वाचन क्षेत्रले अप्रिल १९ को भारतको आम निर्वाचनको पहिलो चरणमा भाग लिएको थियो र पुन्चका मतदाताहरूले यसै साता आफ्नो मतदान गर्ने कार्यक्रम तय गरिएको थियो तर भारतको निर्वाचन आयोगले हालका दिनहरूमा खराब मौसमका कारण मे २५ सम्मका लागि मतदान स्थगित गरेको छ ।

सन् १९४७ मा आफ्नो स्वतन्त्रतादेखि काश्मीर भारत र पाकिस्तानबिच विभाजित छ । दुवैले यस क्षेत्रमाथि पूर्णरूपमा दाबी गर्दछन् तर यो विभाजित रूपमा प्रशासित छ । सन् १९८९ देखि भारतीय शासनको विरोध गर्ने विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै भारत–नियन्त्रित काश्मीरमा विद्रोह सुरु गरेका छन् । द्वन्द्वमा हजारौँ नागरिक, सैनिक र उग्रवादी मारिएका छन् । अशान्त काश्मीर क्षेत्रमा निर्वाचनका लागि प्रचार अभियान तीव्र भएका कारण गत महिनादेखि यस क्षेत्रमा विद्रोही गतिविधिले तीव्रता पाएको छ । अप्रिलमा पूरा क्षेत्रमा तीन भिन्नाभिन्नै झडपमा तीन सन्दिग्ध विद्रोही मारिएका छन् भने एक प्रहरी अधिकारी र तीन सैनिक घाइते भएका छन् । सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले काश्मीरको सीमित स्वायत्ततालाई रद्द गरेर सुरक्षा नियन्त्रण बढाएपछि त्यसयता हिंसामा धेरै कमी आएको छ । भारतमा छ सातासम्म चल्ने राष्ट्रिय निर्वाचन गत महिना सुरु भएको थियो र जुन १ मा समाप्त हुनेछ । रासस\एएफपी

ताजा समाचार

मोतीविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले...

अनावश्यक खर्च बढाएको आरोप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका...

होलीले तान्यो चीनका फोटोग्राफर

काठमाडौँ । हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ...

कार्यसम्पादन मूल्याङ्कनमा प्रथम मेरिङ्देन गाउँपालिका

काठमाडौँ । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको...