पाकिस्तानमा २ करोड २० लाखभन्दा बढी बालबालिका विद्यालयबाट बाहिर

Published on

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले देशमा दुई करोड २० लाखभन्दा बढी बालबालिका विद्यालय नगएको बताउँदै मुस्लिम राष्ट्रहरूले बालिकाहरूको शिक्षामा ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । इस्लामाबादमा दुई दिने ‘मुस्लिम समुदायमा बालिका शिक्षा : चुनौती र अवसर’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले बालिकालाई शिक्षामा समान पहुँच प्रदान गर्न मुस्लिम विश्वले सामना गर्ने महत्त्वपूर्ण अवरोधहरूलाई स्वीकार गर्नुभयो । प्रधानमन्त्री शरिफले आगामी दशकमा लाखौँ युवा बालिकाहरू श्रमशक्तिमा प्रवेश गर्ने भन्दै उनीहरूले आफू र आफ्नो परिवारलाई गरिबीबाट माथि उठाउन मात्र नभई विश्व अर्थतन्त्रमा समेत योगदान गर्न सक्ने सम्भावनामा जोड दिनुभयो ।

पाकिस्तानको कूल जनसङ्ख्याको आधाभन्दा बढी महिला भए पनि महिला साक्षरता दर ४९ प्रतिशत मात्र रहेको उहाँले जानकारी दिनुभयो । पाँचदेखि १६ वर्ष उमेर समूहका करिब दुई करोड २८ लाख बालबालिका विद्यालय बाहिर रहेको र बालिकाहरूको सङ्ख्या असमान रहेको पनि उहाँले उल्लेख गर्नुभयो । “बालिकाहरूलाई शिक्षाबाट वञ्चित गर्नु भनेको उनीहरूको आवाज र छनोटबाट वञ्चित गर्नु हो र उज्ज्वल भविष्यको अधिकारबाट वञ्चित गर्नु हो”, डनले प्रधानमन्त्री शरिफलाई उद्धृत गर्दै भनेको छ । सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईसहित मुस्लिम बहुल देशका धेरै अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले भाग लिइरहेका छन् ।

मलालाले सम्मेलनमा विश्व नेताहरूसँग सहभागी हुन पाउँदा उत्साहित रहेको बताउँदै एक्समा आइतबार बालिकाहरूको शिक्षाको अधिकार संरक्षणको महत्त्व र तालिबानले अफगान महिला तथा बालिकाहरूप्रति गरेको व्यवहारका लागि जिम्मेवार ठह¥याउनुपर्ने विषयमा बोल्नुहुने बताउनुभएको छ । “म विश्वभरका मुस्लिम नेताहरूसँग बालिका शिक्षाको महत्त्वपूर्ण सम्मेलनमा सहभागी हुन उत्साहित छु।।। आइतबार म सबै बालिकाहरूको विद्यालय जाने अधिकारको संरक्षणका बारेमा र नेताहरूले अफगान महिला र बालिकाहरूविरुद्धको अपराधका लागि तालिबानलाई किन जिम्मेवार ठह¥याउनुपर्छ भन्ने विषयमा बोल्नेछु”, उहाँले एक्समा लेख्नुभएको छ ।

बुधबार पाकिस्तान विदेश कार्यालयको वक्तव्यलाई उद्धृत गर्दै डनले जनाएअनुसार शिक्षामार्फत बालिकाहरूलाई सशक्त बनाउन मुस्लिम देशहरूको साझा प्रतिबद्धता उल्लेख गरिएको इस्लामाबाद घोषणापत्र हस्ताक्षर गरी सम्मेलन समापन हुनेछ । प्रधानमन्त्री शरीफले यो घोषणापत्र उम्माह (मुस्लिम समुदाय) को सामूहिक लक्ष्यको रूपमा संयुक्त राष्ट्रसङ्घ र सुरक्षा परिषद्समक्ष पेस गरिने बताउनुभयो । प्रतिनिधिहरूले विश्वभर बालिका शिक्षा अघि बढाउने प्रतिबद्धता जनाउँदै अन्तर्राष्ट्रिय साझेदारी सम्झौतामा पनि हस्ताक्षर गरेका छन् । रासस/एएनआई

ताजा समाचार

मोतीविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले...

अनावश्यक खर्च बढाएको आरोप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका...

होलीले तान्यो चीनका फोटोग्राफर

काठमाडौँ । हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ...

कार्यसम्पादन मूल्याङ्कनमा प्रथम मेरिङ्देन गाउँपालिका

काठमाडौँ । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको...