एक वर्षभित्र पुनर्निर्माणको काम सक्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले गत असोज महिनामा बाढीपहिरोबाट क्षति भएका निजी आवास पुननिर्माणको काम एक वर्षभित्र सक्ने लक्ष्य राखेको बताउनुभएको छ । काभ्रेपलान्चोक जिल्लाको रोसी गाउँपालिका–२ मा मनसुनजन्य विपदबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आँकलन शुभारम्भ कार्यक्रमको सुरुवात गर्नुहुँदै मन्त्री लेखकले बाढीपहिरोबाट पूर्ण क्षति भएका सबै निजी आवास एक वर्षमा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । गृहमन्त्री लेखकले केही नीति, कानुन र कार्यविधिका कारण बाढीपहिरोबाट भएको क्षतिको पुननिर्माणमा ढिलाइ भएको बताउनुभयो । गृहमन्त्री लेखकले विस्तृत क्षति सङ्कलनको काम सम्पन्न भए लगत्तै अस्थायी र स्थायी आवासको काम सुरु गर्ने बताउनुभयो । उहाँले काभ्रेपलान्चोकमा रहेका बाढीपहिरो पीडित परिवारका लागि अस्थायी आवास निर्माण गर्न बुधबार सात करोड ३५ लाख रुपियाँ रकम निकाशा भएको जानकारी गराउनुभयो ।

उहाँले सरकारले अस्थायी आवासका लागि २५ हजारका दरले दुई किस्तामा ५० हजार रुपियाँ र स्थायी आवासका लागि चार लाख रुपियाँ उपलब्ध गराउने बताउनुभयो । गृहमन्त्री लेखकले स्थानीय तहले विपद् पोर्टलमा प्रभावितको तथ्याङ्क समावेश गर्ने काममा ढिलाई र बजेट लगायतका विविध कारणले पुनर्निर्माणको काममा ढिलाई भएको बताउनुभयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्यमान दोङले मनसुनको समयमा बाढीपहिरो प्रभावित नागरिक झन प्रभावित बन्न सक्ने भएकोले बेलैमा सचेत भएर पुनर्निर्माणको काम सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले निजी आवासका साथै बस्ती जोगाउनका लागि तटबन्ध निर्माणको काम समेत सुरु गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, प्रदेश सभा सदस्य तीर्थ लामाले बाढीपहिरोबाट क्षति भएका निजी आवास, सार्वजनिक पूर्वाधार निर्माणका लागि सबै एकजुट भएर छिटोभन्दा छिटो काम सुरु गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर दिनेश भट्टले बाढीपहिरोका कारणबाट क्षति भएका निजी आवासको विस्तृत आँकलनको काम सकिएसँगै स्थायी आवास निर्माणको काम सुरु गरिने बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले निजी आवासमा साथै सार्वजनिक पूर्वाधारको पुनर्निर्माणको काम कसरी सुरु गर्ने भन्ने चुनौती रहेको बताउनुभयो । बाढीपहिरोका कारण गाउँपालिकाभित्रको सयौँ हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएकोले खाद्य सङ्कटको अवस्था समेत देखिने जोखिम रहेको उहाँको भनाइ छ। गत असोजमा गएको बाढीपहिरोको क्षति आँकलन लागि १८ जना प्राविधिक खटिने छन् ।

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...